यी हुन् मार्सल आर्टमा पाेख्त ५ बलिउड नायिका

यी हुन् मार्सल आर्टमा पाेख्त ५ बलिउड नायिका

महिला कमजोर हुन्छन्, उनीहरूलाई पुरुषको साथ चाहिन्छ भन्ने एक खालको न्यारेटिभ नै छ हाम्रो समाजमा। समाजको यो सोच, संस्कार हुँदै कला र साहित्यमा पनि भेट्न सकिन्छ। 

अझ चलचित्रमा त महिलालाई वस्तुकै रूपमा प्रस्तुत गरिएको हुन्छ। महिला पात्र सधैं पुरुषले दया गर्ने पात्रको रूपमा चलचित्रमा प्रस्तुत गरिएको हुन्छ। अझ विशेष त बलिउडमा। जहाँ हरेक चलचित्रमा ‘हिरो’को काम ‘हिरोइन’लाई ‘भिलेन’बाट बचाउनु मात्र हुन्छ। 

तर बलिउड पनि परिवर्तनको संघारमा छ। बलिउडमै केही यस्ता चलचित्र पनि बनेका छन् जसले महिला कलाकारलाई हिरोइनको परिधिबाट बाहिर ल्याइ हिरो बनाएको छ। 

बलिउड नायिकाहरू पनि यति कम्मर कसेर लागि परेका छन्– आफू नायकभन्दा कम छैन भनेर। यस लेखमा मार्सल आर्ट र एक्सन सिनमा पोख्त ५ जना बलिउड नायिकाको बारेमा चर्चा गरिएको छ। 

दिपिका पादुकोण
बलिउड अभिनेत्री दिपिका पादुकोण भर्सटाइल एक्टरको सूचीमा पर्छिन्। फिल्म ‘चाँदनी चोक टु चाइना’को सुटिङको क्रममा उनले मार्सल आर्ट सिकेकी थिइन्। 

उनले जापानी मार्सल आर्ट ‘जोजेत्सो’ सिकेकी थिइन्। उनी यो फिल्ममा अक्षय कुमारसँग देखिएकी थिइन्। उनले हलिउड एक्सन फिल्म ‘ट्रिपल एक्सः रिर्टन अफ ज्येण्डर केज’मा समेत आफ्नो एक्सन अवतार देखाइसकेकी छन्।

त्यस्तै बाजिराव मस्तानी फिल्ममा उनले तरबार चलाउने कला पनि सिकेकी थिइन्। 

हालै यस्तो खबर पनि आइरहेको छ कि, उनी ठूलो बजेटको फिल्म ‘प्रदान’मा शाहरुख खानसँग देखिँदै छिन्। यो फिल्ममा पनि दिपिका एक्सन सिन गर्नेवाला छिन्।

प्रियंका चोपडा
बलिउड अभिनेत्री तथा मिस वर्ल्ड प्रियंका चोपडा अभिनय मात्रै हैन, गायनमा समेत माहिर छिन्। बलिउड मात्रै हैन, हलिउडमा समेत उनले आफ्नो छाप छोडेकी छिन्। 

उनले धेरै एक्सन फिल्ममा काम गरिसकेकी छिन्। हलिउड फिल्म ‘बे वाच’का लागि उनले मार्सल आर्ट सिकेकी थिइन्। उनले फिल्म ‘द्रोण’मा मार्सल आर्ट कै एउटा भाग गड्काको तालिम लिएकी थिइन्।  

यी बाहेक उनले ‘सात खुन माफ’, ‘जय गंगाजल’लगायत अन्य फिल्ममा पनि एक्सन सिन गरेकी छिन्।

ऐश्वर्या राय बच्चन
विश्व सुन्दरी ऐश्वर्या राय बच्चनको नृत्य कलामा मग्न नहुने को होला र? तर उनी नाच्न मात्रै होइन, लडाइँ कलामा पनि उत्तिकै सिपालु छिन्। 

रजनिकान्तको चर्चित फिल्म ‘रोबोट’को छायांकनको क्रममा उनले मार्सल आर्ट सिकेकी थिइन्। उनले त्यो समयमा कुम्फू सिकेकी थिइन्। उनलाई अक्षय कुमार, सुनिल सेट्टी, टाइगर सैफ जस्ता कलाकारलाई मार्सल आर्टस् सिकाउने कुम्फू एक्पर्ट गुरु रमेशले मार्सल आर्टस् सिकाएका थिए। 

शिल्पा शेट्टी
फिटनेश क्विनको नामले समेत चर्चित नायिका शिल्पा शेट्टीले पनि मार्सल आर्टस् सिकेकी छिन्। उनले मुम्बईबाट मार्सल आर्टकाे तालिम लिएकी हुन्। 

अचेल भने उनी योग गर्छिन्। युट्युबमा योग सिकाउने काम समेत गर्छिन्। 

उनी कराँतेमा ब्ल्याक बेल्ट पनि हुन्। बाल्यकालदेखि नै उनले मार्सल आर्टलाई जान्ने मौका पाएकी थिइन्। 

कंगना रनौट
बोल्ड एण्ड ब्युटिफूल नायिका भनेर चिनिने कंगनाको फिल्म ‘थलाइबी’ले यतिबेला बलिउडमा हंगामा मच्चाइरहेको छ।

कंगना पनि मार्सल आर्टमा पोख्त कलाकार हुन्। उनले ‘क्रिस २’को छायांकनका क्रममा प्रारम्भिक मार्सल आर्टकाे तालिम लिएकी थिइन्। 

पछि उनले ‘मणिकर्नीका’ फिल्ममा हर्स राइडिङ, तरबार चलाउने कलादेखि मार्सल आर्टका तालिम लिइन्। 

कंगना बलिउडमा सबैभन्दा धेरै एक्सन फिल्ममा काम गर्ने नायिका हुन्। उनका ‘धडक’, ‘पंगा’, ‘रंगोली’ लगायतका फिल्म एक्सन विधामा बनेका छन्।

९ असोज, २०७८, २०:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।