बिहानै किन बढी मृत्यु हुन्छ ?

बिहानै किन बढी मृत्यु हुन्छ ?
तस्बिर : साङ्केतिक

काठमाडौँ : गत वर्ष जाडो मौसमको कुरा हो। मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका ५९ वर्षीय साथी अस्ट्रेलिया गएका थिए। बेलुका सन्चै सुतेका उनका साथी बिहान उठेनन्। उनको ओच्छ्यानमै मृत्यु भयो।

मृतक पनि चिकित्सकै थिए। उनी अलिअलि रक्सी पिउँथे। रक्त चापको समस्या पनि थियो। डा. रेग्मीले भने,‘उ सुतेको सुतै भयो, ऐया भन्न पनि पाएन।’ 

यस्ता धेरै घटना देखेका छन् उनले।

पिडा हुने र नहुने मृत्यु

बिहानीपख हुने मृत्यु दुई किसिमको देखिने चिकित्सक बताउँछन्। एक किसिमको मृत्युमा पिडा तथा छटपटी भएर निधन हुन्छ भने अर्को किसिमकोमा थाहै नपाइ मृत्यु हुन्छ।

‘एक किसिमको मृत्युमा छातीमा पिडा उत्पन्न भएर लक्षण सहितको मृत्यु हुन्छ,’डा. रेग्मीले भने ‘सुतिरहेको छ भने पनि छाती दुखेर एकदमै श्वास फेर्न गाह्रो भएर मान्छे उठ्न सक्छ।’

यसरी पिडा भएर उठेको केही समयमा व्यक्तिको मृत्यु हुनसक्छ। रेग्मीका अनुसार हृदयाघातका कारण मृत्यु हुँदा यस्तो पिडा हुन्छ। 

हृदयाघातको समयमा टाउको दुख्ने, चक्कर लाग्ने, वाकवाक लाग्ने, दिसा, पिसाब लागेको जस्तो हुने, श्वास फेर्न कठिन हुने लगायतका लक्षण देखिने उनले बताए।

अर्कोतर्फ बेलुका स्वस्थ नै देखिएका व्यक्ति बिहान मृत फेला पर्छन्। यस्तोमा के भयो ती व्यक्तिले समेत चाल पाउँदैनन्। 

डा. रेग्मीले भने,‘सुतेको व्यक्ति जाग्दै जाग्दैन। यसरी हुने कुनै लक्षणबिनाको मृत्यु शारीरिक विद्युतीय प्रणाली सर्ट भएर हुने मृत्यु हो।’ 

मुटुको विद्युतीय प्रणाली तथा धड्कनमा गडबडी हुँदा केही थाहै नपाई सुतेको बेला मृत्यु हुने उनले जानकारी दिए। यस किसिमको मृत्युमा पिडा नहुने डा. रेग्मी बताउँछन्।

चिकित्सकका अनुसार अकस्मात् अत्यन्तै खुसी र कुनै अप्रत्याशित घटना सुन्दा पनि विद्युतीय प्रणालीमा गडबडी भएर व्यक्तिको मृत्यु हुनसक्छ।

यस्तो प्रकृतिको मृत्यु बिहानीपख हुने जोखिम ५ गुणा बढी रहेको उनले बताए।

ब्युँझने बेलामा जोखिम

चिकित्सकका अनुसार सुतिसकेपछि ब्युँझने बेलामा र ब्युँझी सकेपछिको सुरुवातको अवस्थामा मृत्युको जोखिम बढी हुन्छ। चिकित्सकका अनुसार बिहानको १ बजेदेखि ८ बजेसम्मको अवधिमा शरीरमा हुने रसायनिक परिवर्तनले गर्दा मृत्युको जोखिम बढी हुन्छ। कारण,–बेलुका सुतेपछि करिब राती १ बजेसम्म शरीरको प्रणाली निष्क्रिय हुन्छ।

गर्मी मौसमको तुलनामा जाडो मौसमको समयमा बिहान मृत्युको जोखिम बढी हुने प्रा. डा. दिनेश बास्तोला बताउँछन्। उनले भने,‘गर्मी भन्दा बिहानको जाडोमा बढी मृत्यु हुन्छ।’ जाडोमा रक्त नली खुम्चने भएकाले हृदयाघातको जोखिम बढी हुने उनले बताए।

चिसो मौसममा रक्त नली साँघुरिन्छन्। चिसो मौसममा मुटुले बढी काम गर्नुपर्ने भएकाले मुटुमा बढी भार पर्छ। रगतको जम्ने प्रक्रिया पनि जाडोमा नै बढी हुने डा. बास्तोला बताउँछन्। डा. बास्तोलाले भने,‘बिहान हृदयाघातको जोखिम बढी हुन्छ।’

शरीरको स्वचालित घडी

मानिस बायोलोजिकल प्रणाली हो । चिकित्सकका अनुसार हाम्रो शरीरमा पनि बायोलोजिकल घडी हुन्छ। शरीर सञ्चालनका प्रक्रिया हुन्छन्। शरीर सञ्चालन हुनका लागि रक्त प्रवाह हुन्छ। मुटु धड्कन्छ। विभिन्न रसायनिक गतिविधि हुन्छन्। 

२४ घण्टामा शरीरको कार्य प्रणाली निश्चित चक्रमा चल्छ। शरीरको कार्य प्रणाली निश्चित चक्रमा चल्नुलाई चिकित्सकीय भाषामा सर्काडियन रिदम भनिन्छ।

सामान्यतः व्यक्ति बेलुका निदाउँछ। बिहान ५/६ बजे उठ्छन्। ६ देखि ८ घण्टामा निन्द्रा पुग्छ। निन्द्रा पुगेपछि व्यक्ति स्वचालित रूपमा ब्युँझन्छ। 

त्यसपछि दिनचर्या सुरु हुन्छ। स्वचालित रूपमा नै भोक लाग्दै जाने भएकाले चिया खाने, खाना खाने लगायत दैनिकी हुन्छन्। 

उठिसकेपछि  शरीर सक्रिय तथा चलायमान हुँदै जान्छ। बिहान उठेको समयमा भन्दा १०/११ बजेपछि मानिसको रूप नै बदलिने चिकित्सक बताउँछन्। 

दिनभरिको दैनिकीले फेरी बेलुका शरीर थकित हुँदै जान्छ। सामान्यतः बेलुका ९ बजेपछि हामीले नचाहे पनि निन्द्रा लाग्छ। सुतेपछि शरीर शिथिल हुन्छ।

बिहान ५ गुणा बढी मृत्यु

सुतेको अन्तिम प्रहर (ब्युँझने समय) र उठाइको सुरुवातको प्रहर (भर्खर ब्युँझिएको समय) मा आकस्मिक मृत्युको जोखिम बढी हुने डा. रेग्मीले बताए। 

बिहान उठ्नुभन्दा दुई घण्टा अघि र उठेको २ घण्टापछि हृदयाघात तथा मस्तिस्कघातबाट मृत्युको जोखिम बढी हुने चिकित्सक बताउँछन्। अन्य समयमा भन्दा बिहानको समयमा करिब ५ गुणा बढी व्यक्तिको आकस्मिक मृत्यु हुने डा रेग्मीले जानकारी दिए।

डा. रेग्मीका अनुसार बिहान १ बजेदेखि ६ बजेसम्म व्यक्तिको सुतेको ठाउँमा ओछ्यानमै आकस्मिक मृत्युको जोखिम बढी हुन्छ। बिहान ६ बजेदेखि १० बजेसम्म आकस्मिक मृत्युको जोखिम बढी नै हुन्छ। 

मृत्युमा दुई कार्य प्रणालीको भूमिका

शरीरको स्नायु प्रणालीका सिम्पाथेटिक र प्यारा सिम्पाथेटिकगरी दुई कार्य प्रणाली हुन्छन्।  सिम्पाथेटिक कार्य प्रणाली शारीरिक तथा मानसिक अवस्थालाई सक्रिय बनाउने प्रणाली हो भने पारासिम्पाथेटिक भनेको शारीरिक तथा मानसिक अवस्थालाई आराम तथा निष्क्रिय (रिल्याक्स) बनाउने प्रणाली हो।

चिकित्सकको मत अनुसार सुतेको समयमा शरीर निष्क्रिय हुन्छ। ब्युँझने समयमा भने शरीर भर्खर सक्रिय (सिम्पाथेटिक) हुन सुरु गर्छ। शरीरका कार्याप्रणालीले बिस्तारै सुषुप्त रूपमा काम गरिरहेका हुन्छन्। मुटुका धमनी पनि कडा किसिमले बसेका हुन्छन्। 

शरीरका अंगप्रत्यांगले आराम गरिरहेको अवस्थामा सक्रिय हुने क्रममा नयाँ किसिमको परिवर्तन हुन्छ। आराम गरिरहेको शरीरलाई धेरै ऊर्जा चाहिन्छ। त्यसैले ब्युँझने समयमा मुटु छिटो छिटो चल्न थाल्ने डा. बास्तोलाले बताए। उनले भने,‘शरीर सक्रिय हुन अक्सिजन धेरै चाहिन्छ। त्यसैले ब्युँझने समयमा रगतको चाप बढ्न थाल्छ।’

ब्युँझने बेलामा मुटुको धड्कन बढ्छ। मुटु चलायमान हुन थाल्छ। मुटुका रक्त नली भित्र बोसो जम्ने र अवरुद्ध हुने, रगत जम्ने जोखिम बढी हुन्छ। रक्त नलीको भित्रको भित्तामा बोसो जम्ने प्रक्रिया पनि बढी हुने डा. रेग्मी बताउँछन्।

डा. रेग्मीले भने,‘ब्युँझँदा रगत बढी चलायमान हुने भएकाले रक्त नली भित्र घाउ बन्ने सम्भावना पनि बढी हुन्छ। रक्तचाप पनि बढ्छ। मुटुको धड्कन पनि बढ्छ।’ ब्युँझिने समयमा शरीरको सक्रियताका लागि रसायनिक तत्त्वको पनि उत्पादन हुन्छ। 

सिभिल अस्पतालका मुटु रोग विशेषज्ञ डा. कमल शर्मा लम्साल पनि बिहानको समयमा कर्टिशोल स्ट्रेस हार्मोन बढी उत्पादन हुने भएकाले मृत्युको जोखिम हुने बताउँछन्।

विद्युतीय धड्कनमा गडबढी

चिकित्सकका अनुसार मुटुको विद्युतीय प्रणाली (इलेक्ट्रिकल सिस्टम) हुन्छ। डा.रेग्मीले भने,‘विद्युतीय प्रणालीबाट मुटु धड्कन्छ।’ मुटुको एक ठाउँबाट करेन्ट उत्पादन हुन्छ। त्यो करेन्ट बिस्तारै बग्दै मुटुका मांसपेशी पुगेर मुटु धड्काउने उनले बताए।

स्वचालित रूपमा मुटुमा एक मिनेटमा ६० देखि १ सय झड्का करेन्ट उत्पन्न हुने डा. रेग्मी बताउँछन्। त्यसमा गडबडी भए समस्या उत्पन्न हुन्छ।

चिकित्सकका अनुसार मुटुमा विद्युतीय प्रणाली सक्रिय हुनका लागि एक विशेष प्रकारको प्रोटिन आवश्यक पर्छ। त्यस्तो प्रोटिन बिहानको समयमा कम उत्पादन हुन्छ। जसले गर्दा मुटुको विद्युतीय प्रणालीमा नै असर पुग्ने चिकित्सक बताउँछन्। 

प्रोटिनको विकृतिले विद्युतीय प्रणाली नै बिग्रने सम्भावना हुने डा. रेग्मी बताउँछन्। उनले भने,‘विद्युतीय प्रणाली सर्ट हुँदा आगोको झिल्का आउँछ। आगलागी हुन्छ। त्यस्तै प्रकारले मुटुको धड्कन एउटा सिस्टम (रिदम)मा धड्किनुपर्नेमा विद्युतीय प्रणाली बिग्रिएर झड्काहरु ३ सय भन्दा बढी गतिमा उत्पन्न भइदिन्छ।’ 

यस्तो झड्का छिटो, मसिनो र पातलो हुन्छ। यसरी १ मिनेटमा ३ सयभन्दा बढी झड्का हुने अवस्थालाई डा. रेग्मीले मुटु रोकिनु सरह नै हुने बताए। यस्तो अवस्थालाई चिकित्सकीय भाषामा ‘कार्डियाक अरेस्ट’ भनिन्छ। यसरी मुटु रोकिएपछि व्यक्तिको मृत्यु नै हुन्छ। 

बिहानीको समयमा विशेष प्रकारको प्रोटिनको कमी लगायतका कारण बिहान बढी मृत्यु हुने चिकित्सक बताउँछन्। चिकित्सकका अनुसार शरीरको विद्युतीय प्रणालीमा गडबडी पनि यो समयमा बढी हुन्छ। बिहानीको समयमा विद्युतीय प्रणालीमा पनि गडबडीको सम्भावना बढी हुन्छ।

त्यसै गरी बिहानीको समयमा रगत जम्ने, रक्तचाप (ब्लड प्रेसर) बढ्ने, रक्त नली साँघुरिने जस्ता कारणले मुटुमा दबाब पैदा भएर मृत्युको जोखिम हुने डा. लम्साल बताए। उनले भने,‘बिहान मुटुलाई भार पर्छ र मस्तिस्कघात, हृदयाघात हुन्छ। त्यही भएर सडेन डेथ बिहानको समयमा बढी हुन्छ।’

बिहान किन बढी मृत्यु ?

बिहानीको समयमा रगत जम्ने प्रक्रियामा वृद्धि हुने, प्लेटिलेट सक्रिय हुने, रक्त नलीभित्र बोसो जम्ने प्रक्रियामा वृद्धि हुने, नलीभित्र च्यातिने प्रक्रियामा वृद्धि हुने, मुटुको धड्कन बढ्ने भएकाले यो बेला हृदयाघात भई मृत्युको जोखिम बढी हुने डा. रेग्मीले बताए।

उच्च रक्तचाप तथा मुटुको रोग भएका व्यक्ति, मधुमेह, कोलेस्ट्रोलको मात्रा बढी जस्ता रोगको समस्या भएका व्यक्तिलाई यसरी बिहानी पख मृत्युको जोखिम बढी हुने डा. रेग्मी बताउँछन्। 

उमेरको हकमा ४० वर्ष नाघेका व्यक्तिलाई यस्तो जोखिम बढी हुन्छ। पुरुषको तुलनामा महिलामा बिहानीपख हुने मृत्यु अलि बढी हुने चिकित्सक बताउँछन्। 

‘पुरुषमा भन्दा महिलामा हुने हृदयाघात अलि कडा प्रकृतिको हुन्छ।’ महिलामा हृदयाघातको लक्षण कम हुन्छ। महिलाको मुटु पुरुषको तुलनामा सानो हुन्छ’ डा. रेग्मीले भने,‘सानो मुटु भएकाले बढी काम गर्नुपर्छ र चाप पनि बढी हुन्छ।’

बच्न के गर्ने ?

रक्तचाप, रगत पातलो बनाउने, कोलेस्ट्रोल लगायतका औषधि बेलुका सुत्ने बेलामा सेवन गर्नु उचित हुने चिकित्सकको सुझाव छ। उठिसकेपछि खाली पेटमा मिल्ने भए खाली पेटमै नत्र केही खानेकुरा खाएर मात्र औषधि खानुपर्ने डा. रेग्मीको सुझाव छ। 

बिहानीपख नै बढी मृत्यु हुने भएकाले औषधि ढिला सेवन गर्दा मृत्युको जोखिम बढी हुने उनी बताउँछन्। उनले भने,‘बिहान कतै जाँदा औषधि खाएर निस्कनुपर्छ।’

रक्सी पिउन नहुनेमा चिकित्सकको जोड छ। रक्सी धेरै पिएर सुत्दा शरीरको विद्युतीय प्रणाली नै बिग्रने भएकाले राती नै मृत्यु हुन सक्ने जोखिम हुने चिकित्सक बताउँछन्।

मोटोपनाको कारण घाँटीमा बोसो जम्दा श्वासप्रश्वासमा बाधा उत्पन्न भएर श्वासै रोकिने जोखिम पनि हुने चिकित्सक बताउँछन्। मोटोपना भएका व्यक्तिले उत्तानो सुत्न नहुने चिकित्सकको सुझाव छ। कोल्टे परेर सुत्दा धेरै हदसम्म बच्न सकिने डा. रेग्मीको सुझाव छ।

४ फागुन, २०७७, ०७:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।