दर्ता नम्बर १ ले निम्त्याएको बबण्डर

दर्ता नम्बर १ ले निम्त्याएको बबण्डर

काठमाडौं : आइतबार बिहान एक्कासि बसेको मन्त्रिपरिषदबाट संसद् विघटनको सिफारिस आउँदा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पुष्पकमल दाहाल र माधव नेपाल समूहलाई तर्साउन प्रहार गरेको हतियारको रूपमा हेरिएको थियो।तर, मध्याह्न हुँदै जाँदा खुल्यो, ओलीले हतियार प्रहार गरेका रहेछन् प्रतिकार मात्र गरेका थिए। 

शनिबार दिनभर पार्टीभित्रको विवाद समाधानका लागि दौडधुपमा लागेका ओली अझै केही समय संसद विघटन गराउने बाटोमा लाग्ने मुडमा थिएनन्। दाहाल, नेपाल र झलनाथ खनालले प्रधानमन्त्री पदबाट ओलीलाई बर्खास्त गर्न चालेको गोप्य कदम गोप्य नरहँदा अल्पायुमै देश मध्यावधिको बाटोमा मोडियो। 

शनिबारको भेटघाटमा प्रधानमन्त्री ओलीलाई ‘जे गर्छ अब स्थायी समितिले गर्छ’ भनेर पठाए पनि दाहाल, नेपाल र खनालले पार्टीको बैठकबाट आधिकारिक कुनै निर्णय हुनुअगाडि नै ओलीलाई प्रधानमन्त्री पदबाट हटाउने सबै तयारी गरिसकेका थिए।

दाहालका विश्वासपात्र सभामुख अग्नि सापकोटामार्फत लुसुक्क संसद् सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएर ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन ९० जना सांसदको हस्ताक्षर गराएर अविश्वास प्रस्ताव तयार भइसकेको थियो।

अविश्वास प्रस्ताव दर्ताको नेतृत्व गरेका थिए नेकपा नेता जनार्दन शर्माले। शर्मा सहितका नेता आइतबार बिहान संसद् सचिवालयमा गएर अविश्वास प्रस्ताव दर्ता गर्ने तयारीमा रहेको सूचना बालुवाटार पुगेपछि प्रधानमन्त्री ओलीले आकस्मिकरूपमा मन्त्रिपरिषद् बैठक राखेका थिए।

उता उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भयो। दाहाल, नेपाल र झलनाथ खनाल प्रस्तावक रहेको अविश्वास प्रस्तावमा ९० जनाको हस्ताक्षर थियो।

प्रस्ताव आएलगत्तै सचिवालयका कर्मचारीले दर्ता नम्बर दिए १, अनि दर्ता समय १०ः५०।

उता दर्ता भएको अविश्वास प्रस्तावले आकार लिनुअगाडि नै यता बालुवाटारमा बसिरहेको मन्त्रिपरिषद्को बैठकले संसद विघटनको सिफारिस गर्यो र राजनीतिको कोर्स नै बदलियो।

५ पुस, २०७७, १७:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।