युवाहरुको नेतृत्वमा कांग्रेसको उपसमिति, नवप्रवर्तनको नेतृत्वमा आचार्य
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले १२ उपसमिति गठन गर्दा उद्यमशीलता, नवप्रवर्तन तथा रोजगार समितिको प्रमुखको जिम्मा खगेन्द्र आचार्यलाई दियो।
अन्य उपसमितिहरूमा भूमि व्यवस्था, विपद् व्यवस्थापन, मानसिक स्वास्थ्य, डिजिटल सुशासन, शिक्षा, उद्यमशीलता लगायत छन्। स्वतन्त्र सांसद महावीर पुनका कारण पछिल्लो समय नवप्रवर्तन निकै चर्चामा छ। उनको माग अनुसार सरकारले एक मन्त्रालयको नाम समेत नवप्रवर्तन राखेको छ।
आचार्यले यसअघि कांग्रेसको उद्यमशीलता तथा साना तथा मझौला व्यवसाय विभागमा सदस्य सचिवको रूपमा सक्रिय थिए। मोरङमा जन्मेका आचार्यले लामो समयदेखि स्टार्टअप, नवप्रवर्तन तथा उद्यमशीलता क्षेत्रसँग अन्तर्राष्ट्रिय रूपमा आबद्ध भएर काम गरिरहेका छन्। उनी ग्लोबल इन्टरप्रेनरसिप बुटक्याम्पमार्फत समेत सक्रिय छन्। उनी इन्टरनेश्नल योङ इन्टरप्रेनरसिप एसोसिएसनका पनि संस्थापक हुन्।
मानसिक स्वास्थ्य सचेतना अभियान उपसमितिको संयोजकमा मोहना अन्सारी चयन भएकी छिन्। उनी लामो समयदेखि मानव अधिकारको क्षेत्रमा सक्रिय छिन्। भूमि व्यवस्था विशेष अभियान उपसमितिको संयोजकमा डा. गोपाल दहित, विपद् व्यवस्थापन उपसमिति संयोजकमा मानबहादुर थापा र सूचना, प्रविधि तथा डिजिटल सुशासन उपसमिति, संयोजकमा दिपेश विष्ट चयन भएका छन्।
निर्वाचन प्रणाली सुधार अवधारणा, संवाद र समन्वय उपसमिति संयोजकमा जनक चटौत, पूर्वाधार विकास अवधारणा, संवाद र दृष्टि उपसमिति, संयोजकमा अमृत ज्ञवाली, शिक्षा र शिक्षालय नीति एवं दृष्टि उपसमितिमा डा. कृष्णप्रसाद पौडेल, बीपी ज्ञान केन्द्र उपसमिति, संयोजकमा प्रकाश लामिछाने चयन भएका छन्।
जातीय विभेद विरुद्ध सचेतना अभियान उपसमिति संयोजकमा एलिजा ढकाल, डिजिटल सचेतना तथा तथ्य जाँच उपसमिति संयोजकमा प्रकृति भट्टराई र ‘ग्रिन टेबल’ उपसमिति, संयोजकमा कञ्चन झा चयन भएका छन्।
जेठ ११, २०८३ सोमबार १३:१९:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।