फूड पोइजनिङले उदयपुरमा एकै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर
उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खाना (फूड पोइजनिङ) का कारण एकै परिवारका चार जना बिरामी परेका छन्। बिरामी परेकामध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।
छिमेकी राधा बुढाथोकीका अनुसार विषाक्त खानाका कारण बिरामी पर्नेहरूमा २३ वर्षीय हेमा बुढाथोकी, उनका ५ वर्षीय छोरा योगेश बुढाथोकी र नन्दहरु १४ वर्षीय यशोदा र अर्का ९ वर्षीय यासिका बुढाथोकी रहेका छन्।
शनिबार हेमा बुढाथोकीले बजारबाट ल्याएको मुसुरोको दालसहितको खाना पकाएर परिवारलाई ख्वाएकी थिइन्। खाना खाएपछि शनिबार रातिदेखि नै सबैजनामा लगातार बान्ता हुने र बेहोस हुने जस्ता लक्षणहरू देखिएका थिए। अवस्था बिग्रिँदै गएपछि छिमेकी र आफन्तहरूको सक्रियतामा उनीहरूलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्याइएको थियो।
जिल्ला अस्पताल उदयपुरका अनुसार उपचारपछि तीन बालबालिका (योगेश, यासिका र यशोदा) को स्वास्थ्यमा सुधार आएकाले उनीहरू अस्पतालबाट डिस्चार्ज भई घर फर्किसकेका छन्।
तर, २३ वर्षीया हेमा बुढाथोकीको अवस्था चिन्ताजनक भएका कारण थप उपचारका लागि विराटनगर पठाइएको उदयपुरका प्रमुख डा. मुकेश झाले बताएका छन्।
हेमाको श्रीमान् युवराज बुढाथोकी वैदेशिक रोजागारीको शिलशिलामा हाल देशबाहिर रहेका छन्। घरमा हेमास छोरा योगेश र नन्दहरु यशोदा र यसिकासहित बस्दै आएको छिमेकीहरुले बताएका छन्।
जेठ ११, २०८३ सोमबार १२:५९:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।