सिद्धबाबा सुरुङमार्गमा ‘सिभिल’ संरचनाको काम सकियो, असोजभित्रै गाडी गुडाउने तयारी

सिद्धबाबा सुरुङमार्गमा ‘सिभिल’ संरचनाको काम सकियो, असोजभित्रै गाडी गुडाउने तयारी

बुटवल : सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल-पाल्पा खण्डमा पर्ने ‘सिद्धबाबा’ क्षेत्र वर्षौंदेखि यात्रुहरूका लागि डर र त्रासको अर्को नाम हो।

हिउँद होस् या वर्षा, माथिबाट कतिबेला ढुङ्गासहितको पहिरो खसेर जीवन समाप्त पार्ने हो, कसैलाई पत्तो हुँदैनथ्यो। तर, यो सदावहार जोखिमपूर्ण यात्राको कष्टकर दिन अब अन्त्य हुने दिशातिर अघि बढेको छ।

लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लाहरूलाई जोड्ने यो लाइफलाइन सडकखण्डमा निर्माणाधीन ‘सिद्धबाबा सुरुङमार्ग’ आगामी असोज महिनाभित्रै यातायात सञ्चालनका लागि खुला गर्ने गरी  काम भइरहेको छ।

सिद्धबाबा सुरुङमार्ग आयोजनाका प्रमुख नवराज बास्तोलाका अनुसार हाल मुख्य सुरुङमार्गको सिभिल (भौतिक) संरचना निर्माणको काम सकिएको छ।

‘अहिले भित्री भागमा विद्युतीकरण, लाइटिङ, भेन्टिलेसन र मुख्य प्रवेशद्वारको फिनिसिङ भइरहेको छ। हाम्रो लक्ष्य असोजमै सुरुङभित्रबाट गाडीहरू गुडाउने हो र सोहीअनुरूप कामलाई तीव्रता दिइएको छ’, उनले भने।

साँघुरो र कठिन पहाडी भूगोलमा निर्माण भइरहेको १ हजार १२६ मिटर लामो यो सुरुङमार्गको समग्र भौतिक प्रगति ६८ प्रतिशत र वित्तीय प्रगति ५८ प्रतिशत पुगेको छ। यस सुरुङमार्गको २०८१ साल माघ ११ गते ‘ब्रेक थ्रु’ गरिएको थियो।

सुरुमा करिब १० अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा प्रतिस्पर्धात्मक ठेक्का प्रक्रियामार्फत चिनियाँ निर्माण कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन’ ले ७ अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको छ।

संघीय पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले समेत हालै आयोजनाको स्थलगत निरीक्षण गरी तोकिएकै समयमा काम सम्पन्न गर्न निर्देशन दिइसकेका छन्।

सुरुवाती अवरोध र समयसीमाको दबाब
पाँच वर्ष (६० महिना) भित्र निर्माण सम्पन्न गर्ने गरी २०७८ साल फागुनमा यसको ठेक्का सम्झौता भएको थियो। तर, व्यवहारिक रूपमा सुरुङ खन्ने काम २०७९ को अन्त्यतिर मात्र सुरु हुन सक्यो।

नेपालका लागि नयाँ मानिएको ‘ईपीसी’ (इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन) मोडलमा काम भइरहेकाले सुरुवाती चरणमा अनेक कानुनी र प्राविधिक झमेलाहरू सिर्जना भए।

निर्माण कम्पनीले सुरुङको डिजाइन स्वीकृत गराउनै एक वर्ष खर्चिनुपर्यो। त्यसमाथि रूख कटानको सरकारी अनुमति पाउन भएको ढिलाइ र २०७९ साउनमा गएको ठुलो पहिरोले सुरुङको पोर्टल (प्रवेशद्वार) मै क्षति पुर्याएपछि काम महिनौंसम्म ठप्प बन्यो। पहिलो दुई वर्षमा मात्र ११ प्रतिशत प्रगति हुनुको मुख्य कारण यही नै रहेको आयोजना प्रमुख बास्तोलाले बताए।

आयोजनाले आगामी २०८३ साल चैत मसान्तभित्र सम्पूर्ण काम सक्नुपर्ने सम्झौता छ। यस हिसाबले अबको साढे १० महिनामा बाँकी रहेको ३२ प्रतिशत काम सम्पन्न गर्नुपर्ने तीव्र दबाब निर्माण कम्पनीमाथि छ।

अहिले बाँकी कामलाई सिफ्टवाइज रूपमा अगाडि बढाइरहेको आयोजनाको दाबी छ। सुरुवाती चरणका तिनै कानुनी र प्राविधिक गाँठो फुकाउन अहिले म्याद थप (ईओटी) तथा माइलस्टोन समायोजनको प्रक्रिया अन्तिम चरणमा पुर्याइएको आयोजनाले जनाएको छ।

सुरक्षा पहिलो प्राथमिकता : आकस्मिक एक्जिट र बाहिरी संरचना
सिद्धबाबा सुरुङमार्गको मुख्य उद्देश्य यात्राको दूरी छोट्याउनु भन्दा पनि पहिरोजन्य जोखिमबाट जनधनको क्षति रोक्नु र सुरक्षित यात्रा सुनिश्चित गर्नु हो। त्यसैले, आयोजनाको डिजाइन निकै सुरक्षित र बहुउपयोगी बनाइएको छ।

सुरुङभित्र कुनै भवितव्य आइपर्दा वा आपत्कालीन उद्धारका लागि १५१ मिटर, १६१ मिटर र १३० मिटरका तीनवटा छुट्टाछुट्टै बाइपास सुरुङहरू (इमर्जेन्सी एक्जिट) निर्माण गरिएका छन्।

निर्माण सम्पन्न भएपछि आगामी ५ वर्षसम्म यसको सञ्चालन, मर्मतसम्भार र सुरक्षाको सम्पूर्ण जिम्मा सम्बन्धित ठेकेदार कम्पनीकै हुनेछ। त्यसपछिको थप ५ वर्ष ‘ल्याटेन्ट डिफेक्ट लायबिलिटी पिरियड’ (डीएलपी) का रूपमा रहनेछ, जसको अर्थ कुनै प्राविधिक त्रुटि देखिएमा निर्माण कम्पनी नै जिम्मेवार हुनुपर्नेछ।

सुरुङमार्ग सञ्चालनमा आएपछि बाहिरी जोखिमयुक्त सडक क्षेत्रमा थप सुरक्षात्मक संरचनाहरू निर्माण गरिनेछन्। पहिरो झर्ने भीरमाथि रकनेट, रकसेड तथा स्लोप प्रोटेक्सन जडान गरिनेछ।

पैदल यात्रुका लागि रकसेडभित्र सुरक्षित हिँडडुल मार्ग र बाहिरी भागमा खानेपानीको व्यवस्थापनसमेत गरिने योजना छ। त्यस्तै, निर्माण कम्पनीले सुरुङबाहेक दुवैतर्फको ७८० मिटर सडकलाई डबल लेन बनाउनेछ।

अत्याधुनिक भेन्टिलेसन र स्वचालित प्रणाली
सिद्धबाबा सुरुङमार्गमा अत्याधुनिक प्रविधिको प्रयोग गरिँदैछ। सुरुङभित्र सवारी साधनबाट निस्कने धुवाँ र कार्बनमोनोअक्साइड ग्यास बाहिर फाल्न तथा अक्सिजन प्रवाहका लागि शक्तिशाली ‘जेट फ्यान’ जडान गरिँदैछ। 

यसका साथै सुरुङभित्रको सुरक्षा निगरानीका लागि २४सै घण्टा क्रियाशील रहने सीसीटीभी क्यामेरा, अत्याधुनिक लाइटिङ सिस्टम र अग्नि नियन्त्रण प्रणाली जडानको काम भइरहेको छ। सुरुङभित्र कुनै दुर्घटना वा आगलागी भएमा सिधै मुख्य कन्ट्रोल रुममा ‘अलार्म’ बज्ने र आपत्कालीन उद्धार टोली तत्काल परिचालित हुने प्रविधि यसमा समावेश गरिएको छ।

वि.सं. २०२६ सालमा तत्कालीन राजा महेन्द्रको पालामा चीन सरकारको सहयोगमा सिद्धार्थ राजमार्ग (बुटवल-पोखरा) को ट्र्याक खुलेको थियो। ट्र्याक खुलेको करिब ५७ वर्ष भइसक्दा पनि सिद्धबाबाको झण्डै ४ किलोमिटर खण्ड हिउँद-वर्षा सधैं ‘मृत्युको पासो’ बनिरह्यो। 

यो सडकखण्डमा गुडिरहेकै सवारी साधनमाथि विशाल चट्टान खसेर हालसम्म सयौँ नागरिकले ज्यान गुमाइसकेका छन् भने अर्बौंको आर्थिक क्षति भएको छ। यो सुरुङमार्ग निर्माण सम्पन्न भएसँगै आधा शताब्दी लामो डरलाग्दो र त्रासदीपूर्ण इतिहासमा सधैँका लागि पूर्णविराम लाग्ने विश्वास गरिएको छ।

जेठ ११, २०८३ सोमबार १०:२१:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।