मापसेका कारण वैशाखमा देशभर १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु
काठमाडौं : गत वैशाख महिनामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउँदा देशभर १२४ वटा दुर्घटना भएका छन्।
नेपाल प्रहरीका अनुसार ती दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने १७४ जना घाइते भएका छन्।
काठमाडौं उपत्यकामा मात्रै ३७ वटा सवारी दुर्घटनामा दुई जनाको मृत्यु र ५० जना घाइते भएका छन्।
प्रदेशगत विवरण अनुसार कोशीमा ३५ दुर्घटनामा दुई जना, बागमतीमा १२ दुर्घटनामा एक जना, गण्डकीमा पाँच दुर्घटनामा चार जना, र लुम्बिनीमा नौ दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भएका दुर्घटनाहरूमा भने मानवीय क्षति (मृत्यु) भएको छैन।
प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार विशेषगरी रातको समय, सार्वजनिक बिदा र पर्वहरूमा मापसे गरी सवारी चलाउने प्रवृत्ति बढी देखिन्छ, जसले निर्णय क्षमता कमजोर बनाई दुर्घटनाको जोखिम बढाउँछ।
दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले देशभर चेकजाँचमा कडाइ गर्नुका साथै सचेतनामूलक अभियान सञ्चालन गरिरहेको छ।
जेठ ११, २०८३ सोमबार ०७:११:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।