डाबरको मह खान अयोग्यः बजारबाट तत्काल फिर्ता गर्न विभागको निर्देशन

डाबरको मह खान अयोग्यः बजारबाट तत्काल फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डाबर नेपालद्वारा उत्पादित ५०० ग्रामको ‘डाबर हनी’ (मह) लाई बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ।

विभागले बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको महको नमुना परीक्षण गर्दा उक्त मह न्यूनस्तरको पाइएको हो।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम प्रयोगशालामा गरिएको परीक्षणमा डाबरको मह मापदण्डअनुसारको नपाइएकाले विभागले मिति जेठ ५ गते फिर्ता सम्बन्धी औपचारिक आदेश जारी गरेको हो।

बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ स्थित डाबर नेपालबाट उत्पादन भएको, ब्याच नम्बर एबी ००४७७, उत्पादन मिति २०२५/१२ र उपभोग्य अवधि १८ महिना रहेको उक्त मह गुणस्तरहीन रहेको पाइएको हो।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ को उपदफा (२) को प्रावधान बमोजिम उक्त ब्याच नम्बरका सम्पूर्ण महहरू बजारबाट तत्काल फिर्ता गर्न र सोही दफाको उपदफा (४) बमोजिम उक्त उत्पादन बिक्री वितरण नगर्न वा नगराउन महानिर्देशकको निर्देशानुसार सम्बन्धित उत्पादक कम्पनीलाई निर्देशन दिइएको छ।

जेठ ७, २०८३ बिहीबार १२:१९:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।