बालेनको राजीनामा माग्दै हर्कले भने- ‘संसदप्रति जबाफदेही बन्न नसके प्रधानमन्त्रीले मार्गप्रशस्त गरुन्’
काठमाडौं : श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङले प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को निरन्तरको अनुपस्थितिलाई लिएर कडा आपत्ति जनाएका छन्।
बिहीबारको बैठक सुरू हुनासाथ विशेष समय लिएर बोल्दै सांसद साम्पाङले प्रधानमन्त्रीले संसदको गरिमा र नियमावलीको उल्लंघन गरेको आरोप लगाए।
सम्बोधनका क्रममा साम्पाङले प्रतिनिधि सभा नियमावली २०७९ को नियम १५ को उपनियम (२) को स्मरण गराए। उक्त नियम अनुसार मन्त्रीहरूले सांसदले उठाएका प्रश्नको जबाफ ७ दिनभित्र दिनुपर्ने प्रावधान छ।
‘मैले गत वैशाख २८ र २९ गते नै सुकुम्बासी समस्या, शान्ति सुरक्षा र लिपुलेक लगायतका सीमासम्बन्धी गम्भीर प्रश्नहरू उठाएको थिएँ,’ साम्पाङले भने, ‘आज १० दिन बितिसक्दा पनि प्रधानमन्त्रीले जबाफ दिन आवश्यक ठान्नुभएको छैन।’
प्रधानमन्त्री शाहले हालसम्म मन्त्रिपरिषद् विस्तार नगरेको र गृह तथा रक्षा जस्ता महत्वपूर्ण मन्त्रालयहरू आफैँसँग राखेको सन्दर्भ जोड्दै साम्पाङले प्रधानमन्त्री आफैँ उपस्थित भएर जबाफ दिनुपर्ने माग गरे।
उनले प्रश्न गरे, ‘सभामुख महोदय, उहाँ यो सदनको सदस्य हो कि होइन? यो देशमा संसद छ कि छैन? यदि उहाँ संसदप्रति जबाफदेही बन्न सक्नुहुन्न भने कोप्रति हुनुहुन्छ? शंका गर्ने ठाउँ छ।’
प्रधानमन्त्रीको कार्यशैलीप्रति आक्रामक देखिनुभएका साम्पाङले कर्तव्य पूरा गर्न नसके पद त्याग गर्न समेत चुनौती दिए। उनले भने, ‘यदि उहाँ आफ्नो संवैधानिक कर्तव्य पूरा गर्न र जनताको मतद्वारा स्थापित संसदको गरिमा जोगाउन सक्नुहुन्न भने मार्गप्रशस्त (राजीनामा) गर्दा राम्रो हुन्छ।’
यसअघिका बैठकहरूमा प्लेकार्ड र पर्चा देखाएर विरोध गर्दै आएका श्रम संस्कृति पार्टीका सांसदहरूले बिहीबार भने कुनै पर्चा बोकेका थिएनन्।
अघिल्लो बैठकमा सभामुख डोलप्रसाद अर्यालले संसदीय मर्यादा कायम राख्न र पर्चा नदेखाउन चेतावनी दिएका थिए।
जेठ ७, २०८३ बिहीबार ११:५६:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।