लेखा परीक्षण प्रतिवेदनले खुलायो क्यानभित्रको अनियमितता, सम्झौता विपरीत ३ करोड भुक्तानी, ठेक्का कानुन विपरीत, भ्याट दर्ता नभई कर छली
काठमाडौं : नेपाल प्रिमियर लिगको आर्थिक कारोबारमा नेपाल क्रिकेट संघ (क्यान) ले गैरकानूनी कारोबार गरेको खुलेको छ। उकेरालाई प्राप्त क्यानको लेखा परिक्षण प्रतिवेदनमै पहिलो सिजनको एनपिएलमा कमर्सियल राइट्सको अधिकार दिएको ब्राण्ड लजिकको सम्झौता विपरीत ३ करोड २० लाख भुक्तानी गरेको, सार्वजनिक खरिद ऐनको पालना नभएको र भ्याटमा दर्ता नभएर कर छली गरेको उल्लेख छ।
एस.बि.एस चार्टर एकाउन्टेन्ट नामक कम्पनीले गरेको लेखा परीक्षण प्रतिवेदनले स्पष्ट रूपमा क्यानमा अनियमितता भएको देखाएको छ। 'सार्वजनिक खरिद ऐन, २०६३' र आफ्नो 'खरिद नियमावली' ले तोकेको सीमा पालना नगर्नु नेपाल प्रिमियर लिगको बोलपत्र आह्वान गर्दा जुन सर्तहरू राखिएका थिए, अन्तिम सम्झौता गर्दा तिनलाई बदलेर २ लाख ४३ हजार अमेरिकी डलर (करिब ३ करोड २० लाख रुपैयाँ भन्दा बढी) को भार क्यान आफैले बेहोर्नु अनियमितता मानिन्छ।
तेस्रोमा द्रुत खरिद प्रक्रिया'को बहानामा प्रतिस्पर्धा नै गराउनुपर्ने ठूला रकमका खरिदहरू सोझै वा नियम मिचेर आर्थिक अनियमितता गरेको देखिन्छ।
२०८१ असोज १४ गते एनपिएल पहिलो सिजनको स्ट्राटेजिक एन्ड कमर्सियल राइट्सको अधिकारसहित ब्रान्ड लजिक र क्यानबीच सम्झौता भएको थियो। जसमा क्यानले ब्रान्ड लजिकलाई विज्ञापनदेखि प्रसारण अधिकारसहित ५ करोड ९२ लाखमा सम्झौता गरेको थियो।
ब्रान्ड लजिक र क्यानबीचको सहमति अनुसार लिगको प्रसारणको अधिकार र जिम्मेवारी ब्रान्ड लजिकको हो। तर प्रसारण वापत ब्रान्ड लजिकले बेहोर्नु पर्ने २ करोड रकम क्यानले ब्योहोरेको सो सम्झौता विपरीत रहेको लेखा परीक्षण प्रतिवेदनमै उल्लेख छ।
प्रतिवेदनमा सुरुको योजनामा ब्रोडकास्टरले नै बेहोर्नुपर्ने भनिएको उत्पादन र एयरटाइम स्लट शुल्क बापतको २ लाख ४३ हजार अमेरिकी डलर (करिब ३ करोड २० लाख नेपाली रुपैयाँ भन्दा बढी) क्यान आफैले ब्यहोरेको देखिन्छ। प्रतिवेदनमा सुरुमा आह्वान गरिएको बोलपत्रका सर्तहरू र पछि ब्रोडकास्टरसँग गरिएको अन्तिम सम्झौताका सर्तहरू मेल नखाएको समेत उल्लेख छ।
“वित्तीय विवरणको नोट १४ एच (एफ) अनुसार,उत्पादन र स्लट शुल्कबापत लाग्ने अमेरिकी डलर २ लाख ३ हजार खर्च क्यानले व्योहोरेको देखियो। यो खर्च एनपिएल प्रसारणको आवश्यकता पुरा गर्ने ब्रान्ड डिजिटल लजिक प्रालिसँग गरिएको सम्झौता थियो। तर यी सर्तहरू सुरुवाती बोलपत्रमा उल्लेख गरेको सर्त भन्दा फरक देखियो” लेखा परीक्षण प्रतिवेदनमा थप भनिएको छ।
प्रतिवेदनमा व्यवस्थापनको मूल्याङ्कन र तेस्रो पक्षको पुष्टि अनुसार लेखा परीक्षण रिपोर्ट तयार पार्ने अवधिसम्म प्रसारणको कुनै आम्दानी नदेखाएको वा दर्ता नगरेको उल्लेख छ।
प्रतिवेदन अनुसार क्यानले ब्रान्ड लजिकसँग गरेको सम्झौता विपरीत सो प्रालीले लिनुपर्ने आर्थिक दायित्व समेत आफैँले लिएर रकम भुक्तानी गरेको खुलाएको छ।
लेखा परिक्षण प्रतिवेदन अनुसार क्यानले ब्रान्ड लजिकसँगबाट पाउनु पर्ने रकम समेत नपाएको र उल्टै ब्रान्ड लजिकको दायित्वको रकम समेत क्यानले व्यहोर्दा उल्टो क्यानलाई १५ हजार ३ सय ४९ अमेरिकी डलर घाटा लागेको उल्लेख छ।
यो रकम क्यानले ब्रान्ड लजिकसँग गरेको सम्झौता अनुसार क्यानले पाउनु पर्ने देखिन्छ। घाटा भएको रकम ब्रान्ड लजिकले तिर्नुपर्नेमा क्यानले तिरेको लेखा परीक्षण प्रतिवेदनले खुलाएको छ।
एनपिएल जस्ता ठूला प्रतियोगिताहरूको व्यावसायिक र प्रसारण अधिकारबाट प्राप्त हुने राजस्वलाई कुन समयमा र कुन आधारमा खातामा चढाउने भन्ने विषयमा स्पष्टता आवश्यक रहेको र यसका लागि व्यवस्थापनले तेस्रो पक्षहरूसँगको सम्झौता र भुक्तानी प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउन प्रतिवेदनमा उल्लेख छ।
क्यानको सबै ठेक्का खरिद ऐन विपरीत
क्यानले एनपिएलको पहिलो सिजनमा ब्रान्ड लजिकको छनौटदेखि टिकट विक्रीसम्मको गतिविधिमा प्रतिस्पर्धाको साटो आफूखुसी गरेको थियो। ब्रान्ड लजिकलाई सार्वजनिक आव्हानबाट छानेको दाबी गरे पनि सार्वजनिक खरिद ऐनको पालना भएको थिएन। उकेराले यसबारे प्रमाणसहित दुई वर्ष अगाडि नै समाचार प्रकाशित गरेको थियो।
अन्तमा उकेराले उठाएको विषय क्यानको लेखा परीक्षण प्रतिवेदनबाटै पुष्टि भएको छ। प्रतिवेदनमा क्यानले खरिद ऐन विपरीत काम गरेको प्रस्ट लेखेको छ। क्यानमाथि निरन्तर विना प्रतिस्पर्धा विदेशी कम्पनी टिसिएमको चयनदेखि लिएर टिकटसहितको ठेक्का प्रक्रियाबारे प्रश्न उठिरहेको छ। यसबारे राष्ट्रिय खेलकुद परिषद्लाई अनुसन्धान गर्न भन्दै केही समय अगाडि खेलकुद मन्त्रालयले निर्देशन दिएको थियो। निर्देशन पालना नगरे क्यान निलम्बनसम्म हुनसक्ने चेतावनी दिइएको छ।
सार्वजनिक खरिद ऐन २०६३ मा ठेक्काको प्रकृति अनुसार प्रक्रिया र समय तोकिएको छ। तर क्यान नेतृत्वले आफूखुसी समय र प्रक्रिया निर्धारण गरेको थियो। पहिलो सिजनमा मात्र हैन, दोस्रो सिजनका ठेक्काहरूको प्रक्रिया पनि सार्वजनिक खरिद ऐन विपरीत छन्।
पहिलो सिजनमा क्यानले ब्रान्ड लजिकलाई छनोट गर्दा पनि ऐन उल्लंघन गरेको थियो। दोस्रो सिजनमा क्यानले लाइभ फिड प्रोडक्सनको ठेक्का प्रक्रियामा सार्वजनिक खरिद ऐनको ठाडो उल्लंघन गरेको थियो। यो अझै अदालतमा विचाराधीन छ।
तीन करोड ६० लाख बराबरको लागत अनुमान गरिएको यो ठेक्कामा निश्चित कम्पनीलाई फाइदा प्याउने उद्देश्यले ऐनका महत्त्वपूर्ण प्रावधानहरूलाई लत्याउँदै बोलपत्र आह्वान गरिएको देखिन्छ।
यसैलाई आधार मानेर लेखा परिक्षणमा क्यानले खरिद ऐन विपरीतको कार्य गरेको प्रतिवेदनमा उल्लेख गरेको छ।
“संस्थाले समय कम भएकाले कार्यक्रमसँग सम्बन्धित केही सामान र सेवाहरू छिट्टो खरिद गर्ने प्रक्रिया अपनाएको थियो। तर यसले काम छिट्टो गर्न सहयोग गरे पनि संस्थाको खरिद नीति र सार्वजनिक खरिद ऐन २०६३ मा तोकिएको मापदण्डभन्दा फरक तरिकाले खरिद गरिएको देखिन्छ” प्रतिवेदनमा उल्लेख छ।
त्यतिमात्रै होइन, क्यानले खरिद गर्दा टुक्राएर बोलपत्र आह्वान गरेको लेखा परिक्षणमा देखिएको छ। सार्वजनिक खरिद ऐन अनुसार एकै प्रकारको काम टुक्राउनु वा फरक फरक प्रकृतिको कामलाई एकै प्याकेज बनाउनु दुवै गैर कानुनी हो।
सम्झौता विपरीतको कारोबार
सबैभन्दा गम्भीर विषय त क्यानले सम्झौता नै नगरेको कम्पनीहरूबाट रकम लिएको विषय। क्यानले नेपाल टेलिकमबाट १९ लाख १२ हजार ५ सय, एमएडब्लू राइड्सबाट ८२ हजार ५ सय १, ब्रजेश्वरी ओभरसिज प्रालिबाट ५० हजार, अद्माना टेक्नोलोजीसँग ३७ लाख १० हजार, सस्पेन्स a/c सँग ५ लाख ७ सय १६ रुपैयाँ गरी कुल ६२ लाख ८५ हजार ७ सय १७ रुपैयाँकोको कारोबार गरेको देखिन्छ।
तर सो कारोबार केको आधारमा गरेको हो भन्ने लेखा परिक्षणकोक्रममा खुलेन। क्यानले यी कम्पनीहरूसँग कुनै सम्झौता समेत गरेको फेला परेन।
“वर्षभरिमा संस्थाले विभिन्न पक्षहरूबाट ६२ लाख ८५ हजार ७१७ रुपैयाँको आम्दानी गरेको देखिन्छ। यो रकम संस्थाको आधिकारिक बैँक खातामा आएको आधारमा आम्दानीको रूपमा राखिएको छ। तर प्रतिवेदन तयार गर्दा यी कारोबार के कसरी भयो भन्ने पुष्टि गर्ने आधिकारिक लिखित सम्झौता वा दीर्घकालीन सहमति पत्र देखिएन। अर्थात् पैसा आएको देखिए पनि स्पष्ट कागजी प्रमाण भेटिएन” लेखा परीक्षण प्रतिवेदनमा भनिएको छ।
लेखा परिक्षण प्रतिवेदनमा क्यानले भारतीय कम्पनी टिएमसीसँग अवैध रुपमा गरेको सम्झौता र भुक्तानीको पुरै कारोबार लुकाइएको देखिन्छ। क्यानले प्रत्यक्ष प्रशारण लगायतका पक्षमा भारतीय कम्पनी टिएमसीलाई भित्र्याएको थियो। जव यो गैर कानुनी रहेको खुल्यो त्यसपछि क्यानले टिएमसीसँगको सबै कारोबार लुकायो। तर एनपिएलको दोस्रो सिजनमा पनि क्यानले गुपचुप रुपमा टिसिएमलाई भित्र्याएको थियो।
कारोबार करोडौको,तर छैन भ्याट नम्बर
नेपाल क्रिकेट संघ (क्यान) ले एनपिएलमा करोडौँको कारोबार गरे पनि भ्यानमा दर्ता नै नभई कर छली गरेको विषय समेत लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ।
कानुन अनुसार २० लाख वार्षिक कारोबार गर्ने कम्पनी भ्याटमा दर्ता हुनुपर्छ। तर एनपिएल लगायतका प्रतियोगितामा स्पन्सर लगायतका विषयमा क्यानले करोडौँको कारोबार गरे पनि भ्याटमा दर्ता भएर कर नतिरेको भन्दै लेखा परीक्षण प्रतिवेदनमै प्रश्न उठाएको छ।
लेखा परिक्षण प्रतिवेदनमा भनिएको छ, “क्रिकेट एसोसिएसन अफ नेपालले प्रायोजन, टिकट विक्री र र प्रसारण शुल्कबाट करोडौँ रुपैयाँ आम्दानी गर्दागर्दै पनि मूल्य अभिवृद्धि करमा दर्ता भएको छैन।”
प्रतिवेदनमा २० लाख नाघेमा भ्याटमा दर्ता अनिवार्य भएको भन्दै क्यानलाई भ्याटमा दर्ता हुन भनेको छ। “क्यानको आम्दानी यो सीमाभन्दा कैयौँ गुणा बढी छ तर संस्था अझैसम्म भ्याटमा दर्ता भएको छैन” लेखा परिक्षण प्रतिवेदनमा लेखिएको छ।
नाफाको दाबी तर वासलात घाटामा
क्यानले एनपिएललाई देखाएर आफूहरू नाफामा रहेको दाबी गर्दै आएको छ। तर उसकै लेखा परीक्षण प्रतिवेदनमा भने क्यान घाटामा रहेको देखाउँछ।
क्यानको कुल आम्दानी ७६ करोड १ लाख ३६ हजार ५ सय ३५ रुपैयाँ रहेको छ। यसमध्ये मुख्य आय अन्तर्राष्ट्रिय क्रिकेट परिषद्, एसियाली क्रिकेट परिषद्, प्रायोजन र नेपाल प्रिमियर लिगबाट भएको देखिन्छ।
त्यसमा संघको कुल खर्च भने ८१ करोड ८८ लाख ४१ हजार १ सय ८० रुपैयाँ भएको छ। यसमा सबैभन्दा ठूलो हिस्सा घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सहभागिता खर्च (७० करोड ५० लाख ८२ हजार ५८४ रुपैयाँ) ले ओगटेको छ।
यसले यस वर्ष संघ ५ करोड ८७ लाख ४ हजार ६४५ रुपैयाँ घाटामा रहेको देखिन्छ। अघिल्लो वर्ष संघ १ करोड ७० लाख ५२ हजार ६ सय १४ रुपैयाँ बचतमा थियो।
संघको कुल सम्पत्ति २९ करोड ४९ लाख ६६ हजार ४१३ रुपैयाँ रहेको छ। यद्यपि, चालु दायित्व अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा बढेर १७ करोड ७० लाख ९६ हजार ७७३ रुपैयाँ पुगेको छ।
जेठ ५, २०८३ मंगलबार १६:२४:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।