सभामुखलाई निश्नकलले सोधे- ‘हिजो निलो स्कार्फ कसरी मर्यादित, आज प्लेकार्ड कसरी अमर्यादित?’
काठमाडौं : नेपाली कांग्रेसका सांसद निश्कल राईले सत्तापक्ष र सभामुखको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्।
बिहीबारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले अहिलेको सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विगत सम्झाउँदै वर्तमान कार्यशैलीको कडा आलोचना गरेका हुन्।
सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलले प्लेकार्ड देखाएर विरोध गरेको विषयलाई ‘अमर्यादित’ भनेको प्रति लक्षित गर्दै सांसद राईले रास्वपाको विगत कोट्याए।
‘आज सत्तामा भएको दल हिजो प्रतिपक्षमा हुँदा निलो स्कार्फ घाँटीमा बाँधेर वेल घेर्न पुगेको थियो, वेलमै पलेँटी कसेर बस्ने र पुस्तक पढ्ने काम पनि भएको थियो,’ उनले भने, ‘त्यतिबेला सभामुखको आसन प्रतिपक्षको बेन्चमा थियो। आफैँले गरेको त्यो कदम कसरी मर्यादित र अहिले प्रतिपक्षले प्लेकार्ड देखाउँदा कसरी अमर्यादित भयो?’
उनले हिजोको निलो स्कार्फको प्रदर्शन र आजको प्लेकार्ड प्रदर्शन दुवै गलत र अमर्यादित भएको भन्दै सत्तापक्षले आफ्नो विगत बिर्सेर प्रतिपक्षलाई मात्र उपदेश दिनु उचित नभएको तर्क गरे।
सांसद राईले सरकार र प्रधानमन्त्री बालेन शाह संसदप्रति जबाफदेही नभएको र संसदको सामना गर्न डराएको आरोप लगाए।
‘सरकार र प्रधानमन्त्रीलाई सदन देखिनसक्ने, सदन भनेपछि एलर्जी नै हुने गरेको देखिन्छ,’ उनले थपे, ‘सरकारले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका सबैतिर हस्तक्षेप गर्दै हिँडेको छ।’
प्रधानमन्त्रीले नीति तथा कार्यक्रमको जबाफ दिन समेत रुचि नदेखाएको र संसदलाई छलेर हिँडेको भन्दै उनले आपत्ति जनाए।
सरकारले ‘क्रमभङ्गता’ शब्दलाई गर्वको रूपमा प्रयोग गरिरहेको तर यसले संसदीय परम्परा र मर्यादालाई भने भत्काइरहेको राईको भनाइ थियो।
उनले भने, ‘सत्ताको छाती चौडा बनाएर हामीले क्रमभङ्गता गरेका छौँ भन्दै हिँड्दाको नतिजा आज सदनमा देखिँदै छ। जबसम्म अङ्कको दम्भले संसदीय व्यवस्था र अभ्यासलाई लत्कारिन्छ, तबसम्म सदन मर्यादित हुन सक्दैन।’
सांसद राईले सभामुख डोलप्रसाद अर्याललाई सदनको गरिमा जोगाउने मुख्य दायित्व उनकै भएको स्मरण गराए।
‘यो सदनको अभिभावक तपाईं हो। सदनको गरिमामा एक इन्च तलमाथि हुन्छ भने त्यो हजुरकै प्रतिष्ठासँग जोडिन्छ,’ राईले सभामुखलाई आग्रह गर्दै भने, ‘जबसम्म तपाईंले रुलिङ गरेर प्रधानमन्त्री र सरकारलाई सदनप्रति जबाफदेही बनाउनुहुन्न, तबसम्म यस्ता विरोधका कार्यहरू रोकिने छैनन्।’
जेठ ७, २०८३ बिहीबार १२:१३:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।