लिम्पियाधुरा र कालापानी ‘सीमा विवाद’ होइन, ‘अतिक्रमित भूमि’ भनियोस् : सांसद गणेश ठगुन्ना
काठमाडौं : एमाले सांसद गणेशसिंह ठगुन्नाले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई ‘सीमा विवाद’ नभई ‘अतिक्रमित भूभाग’का रूपमा परिभाषित गर्न सरकारसँग माग गरेका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद ठगुन्नाले राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षाका लागि शब्दावलीमा स्पष्टता हुनुपर्ने बताए।
सरकारको नीति तथा कार्यक्रमको बुँदा नम्बर २१ मा उल्लेखित ‘सीमा विवादको समाधान कूटनीतिक संवादबाट खोजिने’ भन्ने वाक्यांशप्रति उनले आपत्ति जनाए।
उनले भने, ‘यो सीमा विवाद होइन, बल प्रयोग गरेर हाम्रो भूमि अतिक्रमण गरिएको हो। नक्सामा समेटिएको यो भूभागलाई अतिक्रमित भूमि भनिनुपर्छ र त्यहाँ नेपालको स्वामित्व स्थापित गर्न कूटनीतिक पहल गर्नुपर्छ।’
दार्चुलाको व्यास गाउँपालिका-१ अन्तर्गत पर्ने महाकाली पूर्वको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतले करिब ४ सय वर्ग किलोमिटर भूमि अतिक्रमण गरेको उनले दाबी गरे। भारतीय पक्षले त्यहाँ सैनिक ब्यारेक राखेको र सडक निर्माण गरेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए।
१८१६ को सुगौली सन्धिपछि नेपालको भूगोल खुम्चिएको उल्लेख गर्दै उनले नेपालले सन्धिको अक्षरशः पालना गरे पनि भारतले पटक-पटक नेपाली भूमि मिचेको आरोप लगाए।
लिपुलेक हुँदै भारत र चीनबीच भइरहेको व्यापारिक सम्झौता र कैलाश मानसरोवर यात्रासम्बन्धी गतिविधिबारे नीति तथा कार्यक्रमले स्पष्ट सम्बोधन गर्न नसकेको उनको तर्क थियो।
सांसद ठगुन्नाले नेपालको नयाँ नक्सामा परिसकेको भूभागमाथि पूर्ण अधिकार स्थापित गर्न सरकारले नीति तथा कार्यक्रममार्फत थप ठोस र स्पष्ट योजना ल्याउनुपर्नेमा जोड दिए।
वैशाख ३१, २०८३ बिहीबार १३:००:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।