मारवाडी समुदायमाथि अन्यायले स्वदेशी पुँजी निरुत्साहित भएको महन्थ ठाकुरको दाबी
काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष एवं राष्ट्रियसभा सदस्य महन्थ ठाकुरले मारवाडी समुदायमाथि भइरहेको व्यवहारप्रति कडा आपत्ति जनाउँदै यसले स्वदेशी पूँजीलाई निरुत्साहित गरेको बताएका छन्।
बिहीबार बसेको राष्ट्रियसभा समितिको बैठकमा बोल्दै अध्यक्ष ठाकुरले व्यवसायीहरूमाथि भइरहेको बारम्बारको धरपकड र "बदनाम" गर्ने प्रवृत्तिले लगानीको वातावरण बिगारेको टिप्पणी गरे।
5मारवाडी समाजको नामै बदनाम गर्न खोजिएको छ। कहिले सम्पत्ति शुद्धीकरणको नाममा समात्ने, दुई दिनपछि छोड्ने र फेरि समात्ने काम भइरहेको छ’, उनले भने।
उनले कतिपय ठाउँमा व्यवसायीको घर जलाउने र लुटपाट गर्ने जस्ता असुरक्षाका घटनासमेत भएको उल्लेख गरे।
अर्थमन्त्रीले वैदेशिक र प्रवासी पूँजी भित्र्याउने कुरा गरे पनि भइरहेको स्वदेशी पूँजीलाई नै त्रसित बनाइएको उनले बताए। समस्या सहन नसकेर धेरै व्यवसायीहरू देश छोडेर बाहिरिन थालेको भन्दै ठाकुरले गम्भीर चिन्ता व्यक्त गरे।
शिक्षा र स्वास्थ्य क्षेत्रमा मारवाडी समुदायको ठूलो योगदान रहेको चर्चा गर्दै उनले योगदान गर्नेहरूलाई नै निरुत्साहित गरिए देशको आर्थिक विकासमा नकारात्मक असर पर्ने चेतावनी दिए।
स्वदेशी व्यवसायीहरूसँग पूँजी भए पनि जेल हाल्ने र डराउने वातावरणका कारण उनीहरू लगानी गर्न हिचकिचाइरहेको उनको तर्क छ।
अध्यक्ष ठाकुरले सरकारलाई निजी क्षेत्र र विशेष गरी मारवाडी समुदायमाथिको विभेदपूर्ण व्यवहार रोकेर लगानीको सुरक्षित वातावरण सुनिश्चित गर्न आग्रह गरेका छन्।
वैशाख ३१, २०८३ बिहीबार १३:३७:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।