रोयल इन्फिल्डद्वारा 'रेन्टल पार्टनर्स मिट' आयोजना

रोयल इन्फिल्डद्वारा 'रेन्टल पार्टनर्स मिट' आयोजना

काठमाडौं : नेपालमा दुई-पाङ्ग्रे पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ रोयल इन्फिल्ड नेपालले आयोजना गरेको ‘रेन्टल पार्टनर्स मिट २०२६’ सम्पन्न भएको छ।

रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक विक्रेता अल्फा अटोमोटिभको आयोजनामा ललितपुरको ग्वार्कोस्थित होटल रोयल ट्युलिपमा उक्त कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा नेपालभरका विभिन्न क्षेत्रका ४० वटा मोटरसाइकल रेन्टल कम्पनीका सञ्चालक, रोयल इन्फिल्ड इन्डियाका प्रतिनिधि र अल्फा अटोमोटिभका कर्मचारीहरूको सहभागिता रहेको थियो। 

कार्यक्रममा सहभागीहरूले नेपालमा विस्तार भइरहेको मोटरसाइकल पर्यटनका सम्भावना, चुनौती र दिगो विकासका उपायबारे छलफल गरेका थिए। व्यवसायीहरूले नियामक जटिलता, पूर्वाधारको अभाव र व्यावसायिक दिगोपनाबारे धारणा राख्दै सरकारी निकायमा साझा सुझाव प्रस्तुत गर्न उद्योगहरूबीच समन्वय आवश्यक रहेकोमा जोड दिए।

वक्ताहरूले दुई-पाङ्ग्रे पर्यटनले विदेशी पर्यटक भित्र्याउन, रोजगारी सिर्जना गर्न र ओझेलमा परेका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। नेपाललाई ‘एड्भेन्चर मोटरसाइकलिङ’को अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्न यो क्षेत्र महत्त्वपूर्ण हुने उनीहरूको भनाइ थियो। 

अल्फा अटोमोटिभले रेन्टल पार्टनरहरूसँगको सहकार्य र सूचना आदानप्रदानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। त्यसैगरी रोयल इन्फिल्डले नेपालमा राइडिङ इकोसिस्टमलाई सशक्त बनाउन साझेदारी, सामुदायिक संलग्नता र दिगो पर्यटन पहलहरूलाई निरन्तरता दिने जनाएको छ।

सन् १९०१ देखि निरन्तर उत्पादनमा रहेको रोयल इन्फिल्ड विश्वकै सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्डमध्ये एक हो। आयशर मोटर्स लिमिटेड अन्तर्गत सञ्चालित यस कम्पनीले हालै सार्वजनिक गरेको 'गुरिल्ला ४५०' सहित हन्टर ३५०, क्लासिक ३५०, हिमालयन ४५०, मिटियर ३५० र इन्टरसेप्टर ६५० लगायतका प्रिमियम मोडलहरू उत्पादन गर्दै आएको छ। हाल विश्वका ८० भन्दा बढी देशमा उपस्थिति रहेको रोयल इन्फिल्डको नेपालसहित विभिन्न देशमा सीकेडी एसेम्बली सुविधाहरू सञ्चालनमा रहेका छन्।

वैशाख ३०, २०८३ बुधबार २१:४६:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।