जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार जन्मकैदका अभियुक्त पक्राउ
काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय सुनाइएका एक फरार अभियुक्तलाई पक्राउ गरेको छ।
जेनजी आन्दोलन को समयमा कारागारबाट फरार भएका ३३ वर्षीय उमेश राईलाई ब्यूरोको टोलीले काठमाडौंबाट नियन्त्रणमा लिएको हो।
खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १२ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका-०२, बोमथली बस्ने उमेश राईलाई कर्तव्य ज्यान मुद्दामा कास्की जिल्ला अदालतले २०८१ फागुन २६ गते आजीवन कैदको फैसला सुनाएको थियो।
उनी २०८१ मंसिर २७ गते पक्राउ परी पुस २५ गतेदेखि कारागार कार्यालय कास्कीमा थुनामा रहेका थिए। तर, गत भदौमा भएको जेनजी आन्दोलनको फाइदा उठाउँदै उनी २०८२ भदौ २४ गते कारागारबाट फरार भएका थिए।
फरार भएपछि काठमाडौं उपत्यकामा लुकिछिपी बसिरहेको विशेष सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनलाई २०८३ वैशाख २८ गते गोकर्णेश्वर-०२, बोमथलीबाट फेला पारेको हो।
ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठका अनुसार, पक्राउ परेका राईलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी बाँकी कैद भुक्तानका लागि कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा पेश गरिएको छ।
वैशाख २९, २०८३ मंगलबार ०७:२६:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।