महभिरमा पहिरो खसेपछि बेनी-जोमसोम सडक अवरुद्ध

महभिरमा पहिरो खसेपछि बेनी-जोमसोम सडक अवरुद्ध

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ महभिरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम-कोरला सडक आज बिहानदेखि अवरुद्ध भएको छ।

ढुङ्गा र माटोसहितको पहिरो खसेर ७६ किलोमिटर दूरीको बेनी-जोमसोम सडकमा सीधा यातायात सम्पर्कविच्छेद भएको हो। सडक अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारीसाधन बीचबाटेमै रोकिएका छन्।

स्थानीयवासीका साथै मुस्ताङ घुम्न तथा मुक्तिनाथ दर्शनमा जाने आउने पर्यटक र तीर्थयात्रीहरु प्रभावित भएका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सागर तिमिल्सीनाले सडक विभागका उपकरण परिचालन गरेर अवरुद्ध सडक खुलाउन पहल भइरहेको जानकारी दिए।

महभिरमा सडकदेखि करिब ५०० मिटरमाथिको भिरबाट पहिरो खस्ने गरेको छ। सामान्य वर्षा हनेबित्तिकै लेदोसहित खस्ने पहिरोले सडक अवरुद्ध गराउनुका साथै अन्य समयमा दुर्घटनाको जोखिम बढाएका छ।

वैशाख २९, २०८३ मंगलबार ०६:५६:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।