सोमपाल र गुल्सन अभ्यासका क्रममा घाइते, ओडीआईमा नन्दनको डेब्यू

काठमाडौं : स्कटल्याण्डमा जारी आइसीसी विश्वकप लिग-२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको आजको खेलमा सोमपाल कामी र गुल्सन झाले नखेल्ने भएका छन्। अभ्यासका क्रममा घाइते भएका कारण दुवैजनाले आजको खेल गुमाउने भएका हुन्।
‘सोमपाल र गुल्सन अभ्यासका क्रममा घाइते भएकाले उनीहरुले आजको खेल तथा टी–ट्वान्टी आई त्रिकोणीय सिरिजका सम्पूर्ण खेल गुमाउने छन्’, नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रवक्ता छुम्बी लामाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
सोमपालको दायाँ हात तथा गुल्सनको घुँडामा चोट लागेका कारण चिकित्सकको परामर्श पश्चात् नेदरल्यान्ड्सविरुद्धको खेल र टी–२० आई त्रिकोणीय श्रृङ्खलाका सम्पूर्ण खेलमासमेत सहभागी हुन नसक्ने विज्ञप्तीमा जनाइएको छ।
आजको खेलमा नन्दन यादवले नेपालका लागि ओडीआईमा डेब्यू गर्दैछन्। साथै आजको खेलमा बसिर अहमदले पनि अवसर पाएका छन्। साथै ओपनर एवं विकेटकिपर आसिफ शेखको स्थानमा अनिल साहलाई खेलाइएको छ।
आजको खेलमा नेदरल्याण्डले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको छ। नेपाल ब्याटिङमा उत्रिसकेको छ।
जेठ २७, २०८२ मंगलबार १५:४७:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।