फिफा र एएफसीले छलफल गर्नै नमानेपछि एन्फाको निलम्बन फुकुवा

फिफा र एएफसीले छलफल गर्नै नमानेपछि एन्फाको निलम्बन फुकुवा

काठमाडौं : अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) निलम्बित रहेकै अवस्थामा संवाद गर्न अस्वीकार गरेपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शुक्रवार निलम्बन फुकुवा गरेको छ।

निर्देशन विपरीत एन्फा पदाधिकारीले 'अर्ली इलेक्सन' गर्ने तयारी गरेपछि राखेपले चैत ११ गतेदेखि निलम्बन गरेको थियो। निलम्बनबारे फिफा र एएफसीसँग छलफल गर्ने तयारी गरे पनि उसले एन्फा निलम्बनै रहेको अवस्थामा संवाद हुन नसक्ने बताएपछि शुक्रवार निलम्बन फिर्ताको निर्णय भएको हो।

निर्णय अगाडि शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, राखेप सदस्य सचिव रामचरित्र मेहता र एन्फा महासचिव किरण राईबिच छलफल भएको थियो। निलम्बनकै अवस्थामा फिफा र एएफसीसँग छलफल हुन नसक्ने देखिएपछि निलम्बन फुकुवाको निर्णय भएको थियो।

एन्फाले 'अर्ली इलेक्सन' को तयारी गरेपछि राखेपले विधान अनुसार तहगत निर्वाचन गर्न निर्देशन दिएको थियो। तर राखेपको निर्देशन अवज्ञा गर्दै निर्वाचन गर्ने तयारी गरेपछि राखेपले एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो। 

जेठ १, २०८३ शुक्रबार २१:५२:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।