२०२४ मा रिलिज हुने घोषणा गरेको ‘ऐरी’ टिमले बल्ल थाल्यो सुटिङ

काठमाडौं : दुई वर्षअघि हल्लाखल्ला गरेर घोषणा गरिएको फिल्म ‘ऐरी’ बल्ल निर्माणको चरणमा प्रवेश गरेको छ। अभिनेता प्रदीप खड्कालाई पोस्टरमा अगाडि र पछाडि बाघको चित्र राख्दै मंसिर २०७९ मा सार्वजनिक गरिएको यो फिल्म २०८१ मै रिलिज हुने भनिएको थियो। तर, निर्माण सुरु नै हुनसकेन। फिल्म नबन्ने हो कि भन्ने संशय चिर्दै टोलीले हालै छायांकन सुरु गरेको छ।
निर्देशक जीवन थापाको निर्देशनमा बन्न लागेको फिल्मको छायांकन हाल पश्चिम बागलुङस्थित ढोरपाटन उपत्यकामा भइरहेको छ। बुधबारदेखि प्रदीप खड्का, भुटानी अभिनेत्री चुम दरङ (बिग बोस फेम) र सोनम लामाले पहिलो सीन खिचे।
फिल्ममा प्रदीपसँगै अभिनेता धीरज मगर र भुटानी अभिनेता सांगे सेल्ट्रिमको पनि मुख्य भूमिका रहनेछ। जवानजस्ता बलिउड फिल्ममा काम गरिसकेका सांगेले ‘ऐरी’मा कस्तो भूमिका निर्वाह गर्ने भन्ने खुलाइएको छैन, तर प्रहरीको भुमिकामा देखिने सम्भावना छ। चुम दरङ यस फिल्ममा प्रदीपको अपोजिटमा देखिने बताइएको छ।
निर्माण टिमले ढोरपाटनमा मात्रै करिब ५० दिन छायांकन गर्ने योजना बनाएको छ। त्यसपछि बाँकी दृश्य काठमाडौं र भारतमा खिचिनेछ। सम्पूर्ण छायांकनमा ३ महिना लाग्नेछ भने ८ महिना भीएफएक्समा खर्चिने तयारी छ। यसले गर्दा फिल्म तयार हुन करिब एक वर्ष लाग्ने अनुमान गरिएको छ।
‘ऐरी’ नेपाली र हिन्दीबाहेक दक्षिण भारतीय भाषाहरूमा समेत डब गरेर रिलिज गरिनेछ। फिल्ममा सुवास काले, प्रसान्तकुमार गुप्ता र राजन कुँवरले संयुक्त लगानी गरिरहेका छन्।
प्रदीपको पछिल्लो फिल्म ‘पिताम्बर’ अहिले रिलिजमा छ भने अर्को फिल्म ‘एक्लो’ तिहारमा आउन सक्ने चर्चा छ, यद्यपि त्यसको औपचारिक घोषणा भइसकेको छैन।
वैशाख ३१, २०८२ बुधबार १७:५७:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।