२१ दिनदेखि पाकिस्तानी सेनाको कब्जामा रहेका पूर्णमको घरमा छट्पटी, गर्भवती श्रीमती भन्छिन्- ‘सरकार, मेरो सिन्दूर फर्काइदे!’

२१ दिनदेखि पाकिस्तानी सेनाको कब्जामा रहेका पूर्णमको घरमा छट्पटी, गर्भवती श्रीमती भन्छिन्- ‘सरकार, मेरो सिन्दूर फर्काइदे!’

एजेन्सी : पश्चिम बङ्गालको रिशरामा रहेको एउटा घरका सदस्यले पछिल्लो २१ दिनदेखि आँखा ओभानो पार्न सकेका छैनन्। परिवारका एक्ला आधार रहेका सीमा सुरक्षा बल (बीएसएफ)मा कार्यरत ३४ वर्षीय जवान पूर्णम साऊ करिब तीन हप्ताअघि पाकिस्तानी सेनाको कब्जामा पुगेपछि उनीहरूको आँशु रोकिएको छैन।

भारत र पाकिस्तानबीच संघर्षविराम घोषणा भएको २४ घण्टाभन्दा लामो समय बितिसक्दा पनि उनी अझै घर फर्कन सकेका छैनन्। देशहरूबीचको सम्बन्धमा बिस्तारै सुधारका सङ्केत देखिँदै गर्दा पनि रिशराको यो परिवारमा आशाको किरण भने जागेको देखिन्छ।

फिरोजपुरमा बीएसएफको २४औं बटालियनमा कार्यरत पूर्णमलाई २३ अप्रिलमा भारत-पाकिस्तान सीमा क्षेत्रमा खटाइएको थियो। कश्मीरको पहलगाममा भएको बन्दुकधारीहरूको आक्रमणमा एक नेपालीसहित २६ पर्यटकले ज्यान गुमाएकै दिन उनी पाकिस्तानी सेनाको कब्जामा रहेको खबर बाहिरिएको थियो।

पूर्णमले सीमा नजिकैका किसानहरूलाई संवेदनशील क्षेत्रबाट सुरक्षित स्थानमा सार्ने क्रममा अन्तर्राष्ट्रिय सीमा पार गरेका थिए। त्यसक्रममा पाकिस्तानी सेनाले उनलाई नियन्त्रणमा लियो। उनको आँखामा पट्टी बाँधिएको एउटा तस्बिर सार्वजनिक भएसँगै उनी पाकिस्तानी सेनाको हिरासतमा रहेको पुष्टि भयो।

हुगली जिल्लाको रिशरास्थित आफ्नो घरमा पूर्णमको परिवार अहिले गहिरो दु:खमा छ। सात महिनाकी गर्भवती पूर्णमकी पत्नी रजनी साऊको अवस्था झनै नाजुक छ। कुराकानी गर्दागर्दै उनी धेरै पटक बेहोश भएको द वायरले लेखेको छ।

आँसु पुछ्दै रजनी भन्छिन्, ‘मेरो श्रीमान्लाई पाकिस्तानी सेनाले नियन्त्रणमा लिएको छ। उनीहरूकै हिरासतमा छन्। उनको आँखामा पट्टी बाँधिएको फोटो सार्वजनिक भएको छ। मलाई अरु केही थाहा छैन, जसरी हुन्छ उहाँलाई फिर्ता हुनुपर्छ।’

पाकिस्तानी सेनाको नियन्त्रणअघिको अन्तिम फोन
सुरूमा बीएसएफका अधिकारीहरू घरमै आएर पूर्णमलाई फर्काउन हरसम्भव प्रयास गरिरहेको आश्वासन दिएका थिए।। तर, दिन बित्दै जाँदा उनको अवस्थाबारे खबर नआएपछि परिवारको चिन्ता झनै बढ्दै गएको छ।

‘अब त अवस्था युद्धजस्तै देखिन थालेको छ,’ उनी भन्छिन्, ‘मलाई थाहा छैन अब के खबर आउने हो!’

एक महिनाको बिदा मनाएर पूर्णमले १ अप्रिलमा मात्रै ड्युटी ज्वाइन गरेका थिए। अपहरण हुनु केही घण्टाअघि, २२ अप्रिलको राति उनले रजनीलाई अन्तिम पटक फोन गरेका थिए। त्यसअघि पनि उनले रजनीलाई सधैँ नाइट सिफ्ट सकेपछि फोन गर्ने गर्थे। त्यो कुराकानी नै अपहरणअघि उनीहरूबीच भएको अन्तिम संवाद बन्यो।

‘यति धेरै दिन भइसक्यो, अझै कुनै खबर आएको छैन’, निराश आवाजमा रजनी भन्छिन्।

पूर्णम र रजनीको ८ वर्षीय छोरा पनि छन्। त्यो सानो बच्चालाई अझै पनि आफ्नो बुवाको अवस्थाबारे जानकारी नै छैन।

अवकाशप्राप्त सुरक्षा गार्ड पूर्णमका पिता भोला साऊ सुरूमा सैनिकहरूले आश्वासन दिएपछि थप जानकारी नआएको बताउँछन्। पूर्णमकी आमाले पनि बुहारीलाई लिएर फिरोजपुर पुगेपछि थप खबर नआएको बताइन्।

‘हामी बुहारीलाई लिएर फिरोजपुर गएका थियौं। त्यहाँ सेना अधिकारीहरूले उसलाई फर्काउने प्रयास भइरहेको वाचा गरेका थिए। अब भने कुनै खबर छैन। यदि प्रधानमन्त्रीसम्म पुग्न सक्थ्यौं भने छोराको रिहाइका लागि हात जोड्थ्यौं। मेरो छोराले १८ वर्ष देशको सेवा गर्यो। आज हामीलाई एक्लो महसुस भएको छ’, उनले भनिन्।

​​​​​​​‘सरकार, मेरो सिन्दूर फर्काइदे’
यो घटनाले रिशरामा वर्षौंदेखि बस्दै आएका, विशेषगरी बिहार र उत्तर प्रदेशका जूट मिल मजदुरका सन्तानहरूलाई गहिरो चोटमा छन्। स्थानीयहरू पालैपालो पूर्णमको घर पुग्छन्, परिवारलाई ढाडस दिन्छन्।

पूर्णमका दाइ श्यामसुन्दर साऊले भाइको अवस्थाले परिवारलाई धर्मसङ्कटमा पारेको बताउँछन्।

‘हामी दुविधामा छौं- एकातिर युद्धको स्वर सुनिन्छ, अर्कातिर हामी शान्ति र पूर्णमको सुरक्षित फर्काइको प्रार्थना गरिरहेका छौं,’ उनी भन्छन्, ‘पूर्णम घर फर्किएपछि मात्र हाम्रो घरमा चाडपर्व मनाउने माहोल बन्नेछ।’

यसैबीच, पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले पूर्णमको विषयमा गृह मन्त्रालयसँग छिटो समाधानको अपेक्षा राखेको बताएकी छन्। हुगलीका सांसद कल्याण बनर्जीले पनि बीएसएफ कमाण्डरसँग यस विषयमा कुरा उठाएको पुष्टि गरेका छन्।

‘मैले बीएसएफ कमाण्डरहरूसँग कुरा गरेँ। उनीहरूले पूर्णमको रिहाइको प्रयास भइरहेको बताए,’ उनले भने, ‘मैले परिवारसँग पनि भेटेँ, तर अवस्था झन् जटिल बन्दै गएको छ।’

आफूलाई ढाडस दिन आएका मानिसहरूबाट ‘अप्रेसन सिन्दूर’ भन्ने शब्द सुनेपछि रजनी तुरुन्तै रोइहालिन्। घुम्टो ओढेर उनले केवल यत्ति भनिन्- ‘सरकार, मलाई मेरो सिन्दूर फर्काइदे!’

वैशाख ३०, २०८२ मंगलबार ०९:५७:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।