‘लाज शरणम्’मा अर्जुन घिमिरेले किन गरे ‘पाँडे’कै क्यारेक्टर?

‘लाज शरणम्’मा अर्जुन घिमिरेले किन गरे ‘पाँडे’कै क्यारेक्टर?

काठमाडौं : चलचित्र ‘लाज शरणम्’का कलाकार अर्जुन घिमिरे (पाँडे)ले आफूहरूको चार वर्षको मेहनतपछि चलचित्र बनेको बताएका छन्। सिनेमाको कथा लेख्न थालेको करिब चार वर्षपछि ‘लाज शरणम्’ बनेको उनको भनाइ छ।

‘लाज शरणम्’ले कर्णालीका आम नागरिकको कथा भन्ने उनले बताए। उनका अनुसार कर्णालीमा आम नागरिकले भोगिरहेको कथा र उनीहरूको जीवनसँग खेलवाड गर्ने उपल्लो वर्गको कथा ‘लाज शरणम्’मा देख्न पाइने छ।

डार्क कमेडी फर्ममा कथा भन्ने भन्दै उनले थपे, ‘डार्क ह्युमर कमेडी फर्ममा कसरी हसाउँदा-हसाउँदै गम्भीर कथा भन्न सकिन्छ भनेर हामीले सिनेमाको यो कथा भनेका छौँ।’

‘सक्किगोनि’का अरू कलाकार फरक-फरक लुक्स र चरित्रमा देखिए पनि ‘लाज शरणम्’मा अर्जुन भने पाँडेकै चरित्रमा देखिनेछन्। दर्शकले अहिले आफूलाई यही क्यारेक्टरमा मन पराइरहेकाले यही सिनेमामा पनि राखिएको उनको भनाइ छ।

अहिले अरू क्यारेक्टर चलचित्रमा गरे पनि पाँडेले अर्कै क्यारेक्टर गरेछ भनेर दर्शकले भन्ने अवस्था रहेकाले यही नै सिनेमामा रहेको उनी बताउँछन्। 

‘लाज शरणम्’मा अर्जुन कार्यकारी निर्माता पनि हुन्। कुमार कट्टेल (जिग्री) लेखक तथा निर्देशक हुन्।

‘लाज शरणम्’मा सिताराम कट्टेल (धुर्मुस) सँगै मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अपर्ण थापा, रेणू योगी, कमलमणि नेपाल, माला लिम्बू, ‘सक्किगोनि’ टिमका कलाकार अर्जुन घिमिरे, सागर लम्साल (बले), हरिष निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी)लगायत कलाकार छन्। 

‘लाज शरणम्’ फागुन १४ महाशिवरात्रिको अवसरमा प्रदर्शन हुनेछ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन्। 

सिनेमालाई सुदीप बरालले छायांकन गरेका हुन्।

माघ २२, २०८१ मंगलबार १६:३५:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।