काठमाडौं महानगरमा विपद्का घटनाको पहिलो कारण रूख कटान

काठमाडौं : काठमाडौं महानगरपालिकामा गत आर्थिक वर्षको तुलनामा यस वर्ष रूख कटान र जल उत्पन्न विपद्का घटना बढेका छन्। यस वर्षको पुस मसान्तसम्म दुई सय ३४ विपद्का घटना भएको महानगरले जनाएको छ।
कामपा विपद् व्यवस्थापन विभागका नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीका अनुसार चालु आवको पुस मसान्तसम्म सबैभन्दा धेरै रूख कटानका कारण ७७ र जल उत्पन्न प्रकोपका कारण ५० घटना भएका छन्।
उनले विद्युत्बाट आगलागीका घटना ५९, खाना पकाउने ग्यासबाट २ र अन्य विपद्का घटना १२ रहेको जानकारी दिए।
उनका अनुसार महानगर क्षेत्रमा बत्तीको पोलमा हुने आगलागीका घटना बढी नै छन्। सडक किनारामा रूप रोप्ने काम जारी रहेको र पुराना रूख व्यवस्थापनको काम नभएकाले रूखबाट हुने विपद्का घटना बढेको हो। यस्ता घटनामा कमी ल्याउन कामपाले पुराना रूख व्यवस्थापनको काम गरिरहेको उनले जानकारी दिए।
गत आर्थिक वर्षभरमा विभिन्न प्रकारका गरी चार सय ३१ विपद्का मात्र घटना घटेका थिए। यसरी बत्तीको पोलमा हुने आगलागीका घटना विभिन्न इन्टरनेट सेवा प्रदायक संस्थाले अस्तव्यस्त रूपमा राखेको तारको कारणले हुने गरेको महानगरको ठहर छ।
त्यसैगरी जीर्ण खाना पकाउने ग्यास सिलिन्डरको प्रयोग, ग्यास पाइप र लेगुलेटरको नियमित परीक्षण नगर्दा र वार्षिक रूपमा नफेर्दा आगोजन्य विपद्का घटनामा कमी आउन नसकेको उपरीक्षक जोशीको भनाइ छ।
विपद्का घटना बढ्न थालेपछि महानगरले यसको नियन्त्रणका कृतिम अभ्यास र सर्वसाधारणको लागि जनचेतनाका कार्यक्रमसमेत गर्न थालेको छ। कृतिम अभ्यासअन्तर्गत सुरक्षित तबरबाट आगो कसरी निभाउने, सडक दुर्घटना भएको समयमा घाइतेलाई तत्काल अस्पतालसम्म कसरी लैजाने जस्ता विषयमा जानकारी गराइरहेको छ।
माघ १२, २०८१ शनिबार १४:३७:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।