उकेरा टप फाइभ : सशस्त्र प्रहरी अस्पतालको खरिदमा बदमासीदेखि डा. मदनको उपचार अनुभवसम्म
काठमाडौं : आज ३०३औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस। नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको सम्झना गरिँदैछ। तत्कालीन बाइसे-चौबीसे राज्यलाई समेटी एकीकृत नेपाल निर्माण गरेको श्रेय उनलाई छ।
गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेष्ठ पुत्रका रूपमा १७७९ पुस २७ मा पृथ्वीनारायणको जन्म भएको थियो। टुक्रे राज्यलाई समेट्ने क्रममा १८२५ मा इन्द्रजात्राका दिन आक्रमण गरी उनको फौजले काठमाडौंमाथि विजय प्राप्त गरेको थियो।
यसपछि उनले एकीकृत नेपालको राजधानी काठमाडौंलाई बनाएका थिए। उनले शुरू गरेको एकीकरण अभियान छोरा बहादुर शाहको पालासम्म बढ्दै गएर नेपालको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार भएको थियो। पछि नेपाल-अंग्रेज युद्धका क्रममा नेपाल अहिलेको क्षेत्रफलमा समेटिन पुग्यो।
पृथ्वीजयन्तीकै अवसरमा शुभकामना दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको योगदानकै कारण नेपालीले अहिले सार्वभौम र स्वतन्त्र नेपाल भनेर गर्व गर्न पाएको बताए। विभिन्न कालखण्डमा वीर पुर्खाले पृथ्वीनारायणको अभियानलाई निरन्तरता दिएकै कारण नेपालको अस्तित्व कायम रहेको उनको तर्क छ। उनले सिंहदरबारको मूलगेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन्।
यसै सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टीले भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भए। समारोहमा प्रधानमन्त्री ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे, गृहमन्त्री रमेश लेखक,परराष्ट्रमन्त्री आरजु राणा, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल महामन्त्री कविन्द्र बुर्लाकोटी, सांसदहरू रामहरि खतिवडा, अमरेश सिंह, भीम रावल, मुकुल ढकाललगायतको सहभागिता थियो। सहभागी अतिथिहरूलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरूले स्वागत गरेका थिए।
तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने त्यस समारोहमा उपस्थित थिएनन्। पृथ्वीजयन्तीअघि आयोजक राप्रपाले भने सबै दलका नेताहरूलाई उपस्थितिको निम्तो दिएको थियो।
अमेरिकाको प्रमुख उड्डयन कम्पनी बोइङले डोनाल्ड ट्रम्पको सपथ ग्रहण समारोहका लागि कम्पनीले १० लाख अमेरिकी डलर दिएको छ। बोइङ बाहेक गुगल र माइक्रोसफ्टले पनि १०-१० लाख डलर दिएको पुष्टि गरेका छन्। ट्रम्पको सपथ ग्रहण समारोहका लागि धेरै अमेरिकी कम्पनीहरूले चन्दा दिएका छन्। यसमा तेल उत्पादक कम्पनी शेभरन र टेक्नोलोजी दिग्गज मेटा, अमेजन र उबर समावेश छन्। डोनाल्ड ट्रम्प जनवरी २० मा अमेरिकाको राष्ट्रपतिको शपथ ग्रहण गर्दैछन्।
अब आज उकेरामा प्रकाशित टप फाइभ समाचार
सशस्त्र प्रहरी बल अन्तर्गतको सशस्त्र प्रहरी अस्पतालले निश्चित कम्पनीको उत्पादक मेसिनसँग मात्र मिल्नेगरी साढे १९ लाखको खरिद प्रक्रिया अगाडि बढाएको खुलेको छ। सशस्त्र प्रहरी अस्पताल खरिद शाखाले मंसिर ९ मा १९ लाख ६० हजार रुपैयाँमा एक सेट ‘स्किन–सिओटु लेजर’ मेसिन खरिदका लागि टेन्डर आह्वान गरेको थियो। तर सो टेन्डर स्वतन्त्र प्रतिस्पर्धा गराउने गरी ननिकाली स्पेशिफिकेशन नै लक्ड गर्दै चाहेकै सप्लायर्स कम्पनीलाई टेन्डर दिनेगरी खरिद प्रक्रिया अगाडि बढाएको उकेराको खोजमा खुलेको छ।
पूरा समाचार: सशस्त्र प्रहरी अस्पतालको खरिदमा बदमासी : साढे १९ लाखको उपकरण खरिदमा मिलेमतो, टेन्डर स्पेशिफिकेशनमा कम्पनीको क्याटलग
सुर्खेत जिल्ला सरकारी वकिलको कार्यालयमा सुब्बाको जागिर खाएका वीरेन्द्रनगर नगरपालिका-७ का ६४ वर्षीय अग्नीधर अधिकारीले १० वर्षअघि अवकाश पाए। उनले ३० वर्षे जागिरे अवधिमा आधा दर्जनभन्दा बढी कार्यालयमा बिताए। अवकाश पाए पनि उनको जीवन आजकल जागिरे जस्तै भएको छ। बिहान खाना खान्छन् अनि घरबाट निस्कछन् र साँझ फर्कन्छन्। तर, जाने ठाउँ भने फेरिएको छ- ज्येष्ठ नागरिक सेवा समाज।
पूरा समाचार: ६० कटेकाहरूलाई ऊर्जा थप्ने चौतारी
डा. मदन ज्ञवाली इन्टरनल मेडिसिन विशेषज्ञ हुन्। आफूले उपचार गरेका अधिकांश बिरामी ठिक भएपनि कहिलेकाहीँ सोचेको जस्तो नहुने गरेको उनको अनुभव छ। कतिपय बिरामीलाई उपचार गरेपनि ठिक बनाउन सम्भव हुँदैन। त्यस्तो बेला उनलाई दुःख लाग्छ नै। कतिपय अवस्थामा बचाउन मुस्किल पर्छ की भन्ने सोचिएका बिरामी पनि औषधि उपचारपछि ठिक भएर घर फर्कन्छन्। त्यो बेला उनलाई आनन्द लाग्छ। डा. मदनले चिकित्सकीय पेशाका शिलशिलामा देखे भोगेका यस्तै अनुभव उकेरासँग साटेका छन्।
पूरा समाचार: डा. मदनको उपचार अनुभव : मस्तिष्क घात भएर मुढोजस्तै भएका ७५ वर्षीय बाजे चामत्कारिक रूपमा बाँचेर ठमठम हिँडेपछि...
गत मंगलबार चलचित्र निर्माता संघ र हल सञ्चालकहरूको छाता संगठन चलचित्र संघबीच नेपाली फिल्मको प्रदर्शनमा सिन्डिकेट लगाउने निर्णय भयो। उनीहरूले कार्यदल नै बनाएर निर्माता संघमा आबद्ध भई पाँच हजार रुपैयाँ नतिरेसम्म निर्देशकको फिल्म हलमा लगाउन नपाउने गरी सिन्डिकेट लगाउने निर्णय गरे। कार्यदलमा निर्माता संघका तर्फबाट कलाकार, निर्माता तथा हल सञ्चालक दीपकराज गिरी सहित रामबाबु गुरुङ र सुनीलकुमार थापा अनि चलचित्र संघका तर्फबाट सुरेन्द्र थापा, कपिलप्रसाद द्वा, छवि ओझा र प्रज्वलशमशेर जबरा सदस्य थिए। निर्माता संघबाट उदय सुब्बा संयोजक र चलचित्र संघबाट गोपाल कायस्थलाई संयोजक बनाइएको थियो।
फिल्म रिलिजको बेलामा निर्माता र निर्देशकले प्राय पीडा मिसिएको एकै अभिव्यक्ति दिने गर्छन् ‘नेपालमा फिल्म बनाउन भन्दा चलाउन गाह्रो।’ उनीहरुले निरन्तर भोगिरहेको पीडा पनि हो यो। करोडौं लगानी गरेर फिल्म निर्माण गर्ने फिल्मकर्मीको त्यही पीडामा निर्माता संघ र चलचित्र संघले नुनचुक छर्किने काम गरे अहिले।
पूरा समाचार: दशैंको व्यापार खोसिएको झोकमा सिन्डिकेटको लबिइङमा दीपक, निर्माता र चलचित्र संघ गैर कानुनी बाटोमा
विक्रम संवत् २०२३ को कुरा, इतिहासकार नयराज पन्त त्रिभुवन विश्वविद्यालयमा ज्योतिष विषयको प्राध्यापक थिए। उनले पढाउने ज्योतिष विद्या अहिलेको जस्तो चिना टिपन बनाउने मात्रै थिएन, उनी आफू चिना टिपन बनाउने काममा संलग्न भएनन् पनि। अहिलेको भाषामा भन्दा खगोलशास्त्र विज्ञानमा आधारित भएर कहिले ग्रहण लाग्छ देखि हाम्रो/भारतीय शैलीबाट पढिने विषय थियो गणित।
स्वाभाविक रूपमा प्राध्यापक भइसकेपछि उनी प्रश्नपत्र निकाल्नेदेखि परीक्षकको भूमिकासम्ममा संलग्न थिए। आचार्य तहको तृतीय वर्षको चार पत्रमध्ये एक पत्रको उनी आफैँ प्रश्नकर्ता अनि परीक्षक थिए। विद्यार्थी जम्मा दुई जना, ती दुवै पनि निकै अङ्क नपुगी अनुतीर्ण भएका। तर अचम्म, त्यो परीक्षामा ती दुवै विद्यार्थी उत्तीर्ण भए। अझ एक जना त प्रथम श्रेणीमा नै उत्तीर्ण भए। यो घटनापछि पन्तले आपत्ति जनाउँदै त्रिविको उत्तरपुस्तिका जाँच नगर्नेसम्मको निर्णय लिए। उनी यतिमा मात्र रोकिएनन्...
पूरा समाचार: अन्योलमा ज्ञानको खानी
पुष २७, २०८१ शनिबार २१:३५:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।