क्रिकेटको आवरणमा पारसको शंकास्पद काम, एनपीएलको मैदानबाट अनलाइन जुवाको लत फैलाउँदै
काठमाडौं : युवाहरूमाझ लोकप्रिय पारस खड्का क्रिकेट एसोसिएसन अफ नेपालको सचिवको हैसियतमा अहिले आफ्नो सपना पूरा गर्ने चरणमा छन्, नेपाल प्रिमियर लिग मार्फत।
आठ फ्रेन्चाइज टिमसँगै त्यसमा अनुबन्ध भएका विदेशी खेलाडी लिगमा जोडिएका ब्राण्ड अनि अन्तर्राष्ट्रिय प्रसारण संस्थाले एनपीएलप्रति नेपालभित्र मात्र नभई भारत अनि पाकिस्तानमा समेत चासो निर्माण गरेको देखिन्छ।
आज शनिबार एनपीएलको उद्घाटन हुँदैछ त्रिवि मैदानमा। एनपीएलको चर्चा अनि तयारी भब्य बनाएका उनै पारसको गतिविधिले भने उनको लक्ष्य शंकास्पद देखायो।
उनी युवामाझ एकता अनि खेल भावना बढाउन एनपीएलको आयोजनामा खटिएका हुन् या अन्तर्राष्ट्रिय अनलाइन जुवा खेलाउने कम्पनीको ‘नेपाल एजेन्ट’ बनेर युवाहरूमाझ जुवाको लत फैलाउन सक्रिय भएका हुन्? यो प्रश्न उनकै शंकास्पद गतिविधिले उब्जाएको हो।
यो शंका एनपीएल आयोजना गर्न सिंगारिएको त्रिवि क्रिकेट मैदानमा शुक्रबार देखिएको दृश्यले नै उब्जायो।
एक महिना लामो तयारी गरेर युवामाझ एनपीएलको क्रेज निर्माण गरेर अब पारस त्रिवि खेल मैदानमा आठ टिमका राष्ट्रिय अनि अन्तर्राष्ट्रिय खेलाडीको खेल मात्रै देखाउँदै छैनन्, ती खेल हेर्न युवाहरूलाई लोभ्याएर मैदानमा नेपालको कानुनले प्रतिबन्ध लगाएको र पछिल्लो समय निकै जटिल बन्दै गएको अनलाइन जुवा र सट्टेवाजीको प्रचार समेत गर्दैछन्।
त्रिविको क्रिकेट मैदानमा नेपालमा खेलको प्रवर्द्धन गर्न भनेर अहिलेसम्मकै महंगो मूल्यमा मुख्य प्रायोजक बनेको सिद्धार्थ बैंकसँगै अनलाइन जुवा, क्यासिनो र सट्टेवाजी खेलाउने कम्पनी वुल्फत्रिपलसेभेनको ब्राण्ड पनि देखिने छ।
नेपालमा कुनै पनि प्रकारको जुवा खेलाउनु प्रतिबन्ध हो। त्यसैले पारसले यो कम्पनीलाई सिधै ल्याएका छैनन्। उनले यसको सरोगेट कम्पनी वुल्भत्रिपलसेभेनन्युज डटकमको आवरणमा एनपिएलमा भित्र्याएका छन्।
एनपिएलको घोषणा लगत्तै उकेराले पारससँग नेपालमा यस्तै अनलाइन जुवा खेलाउने कम्पनीको प्रवेश र खेल प्रतियोगितामार्फत उनीहरूले बढाइरहेको प्रभावबारे विशेष कुराकानी गरेको थियो।
त्यो समयमै उनले गोलमटोल जवाफ दिएका थिए। अन्तमा उनले खेलको मैदानलाई सरोगेटको आवरणमा अनलाइन जुवा खेलाउने कम्पनीलाई प्रवेश गराउन बाटो खुलाएरै छाडे। युवामाझ अति आकर्षक बन्न सफल एनपीएलको मैदानबाट नेपालको कानुनले प्रष्ट प्रतिबन्ध लागेको जुवा र सट्टेबाजीको प्रचार हुनेछ तीन हप्ता।
वानएक्सबेट हुँदै अब वुल्फतिर
अनलाइन जुवाको लत बसेकाहरूका लागि वानएक्सबेट नयाँ नाम नहुन सक्छ। तर, जबसम्म क्यान अनि एन्फाले आयोजना गर्ने प्रतियोगितामा यिनीहरूको ब्यानर जताततै देखिन थाले, त्यसपछि जुवामा लत नबसेकाहरूमाझ पनि यो परिचित भयो।
खेलमा सामान्य रुची राख्नेहरूमाझ पनि यो चर्चित ब्राण्ड समान बन्यो। अनि शुरू भयो वानएक्सबेटको दुष्प्रभाव। जब सम्हाल्नै गाह्रो हुने अवस्था आयो, अनि मात्र कानुन कार्यान्वयन गर्ने निकाय नेपाल प्रहरी तात्यो। जब प्रहरीले कारबाही थाल्यो, एक एजेन्ट पक्राउ पर्दा ५५ करोडसम्म कारोबार गरिसकेको तथ्याङ्कहरू फेला पर्न थाले।
गत बुधबारकै घटना पढौँ न!
वानएक्स वेट मार्फत सट्टेबाजी गराएको आरोपमा सुनिल राई पक्राउ परे। ललितपुर महालक्ष्मी नगरपालिका-१ मा बस्दै उनलाई प्रहरीले वनएक्सबेटको नेपाल एजेन्ट भएको आरोपमा पक्राउ गरेर अनुसन्धान गर्दा उनले ५५ करोडको कारोबार गरिसकेको विवरण फेला पार्यो।
गत वर्ष फेला परेका अर्का एजेन्ट दिनेश खड्काले वानएब्सबेटबाटै ३१ करोडको कारोबार गरेको, जुवा खेलाउन अनि सट्टेबाज गराउन विभिन्न व्यक्तिको नाममा विभिन्न वालेटमा ३२ बढी खाता खोलेको खुलेको थियो।
३१ वर्षीय सञ्जयकुमार साह, १९ वर्षीय रामजी साह र मलंगवा-१० का ३० वर्षीय राकेश चौधरी पक्राउ पर्दा उनीहरूले ९८ वटा बैंक खाताबाट ५७ करोडको कारोबार गरेको खुल्यो। यी केही उदाहरण हुन्। यसको प्रभाव हेर्ने हो भने निकै गहिरो देखिन्छ।
अवस्था बिकराल बनेपछि मात्र तात्छ प्रहरी
नेपालमा आयोजना हुने क्रिकेट अनि फुटबलका राष्ट्रिय अनि अन्तर्राष्ट्रिय खेलमार्फत नेपालीमाझ अनलाइन जुवा खेलाउने कम्पनीहरू घुस्दै गर्दा नै प्रहरी संगठन जानकार हुन्छ नै।
तर, विभिन्न बहानामा मौन बसिदिन्छ। जब बिकराल बन्छ अनि बल्ल तात्छ प्रहरी। त्यो बेलासम्म अपराधको मात्रा नियन्त्रण गर्न निकै कठिन चरणमा पुगिसकेको हुन्छ। वानएक्सबेट अहिले त्यही चरणमा देखिन्छ नेपालमा।
प्रहरीले अनलाइन जुवा खेलाएको भन्दै पक्राउ गर्ने युवाको पृष्ठभूमि सामान्य देखिन्छ। तर, जब उसको कारोबारको अध्ययन गर्छन् अनि प्रहरी नै तीनछक पर्छन्।
मुख्य एजेन्ट एन्फा र क्यान!
नेपालको खेलमा वानएक्सबेटले प्रारम्भमा क्रिकेटबाटै आफ्नो प्रचार शुरू गरेको देखिन्छ। सन् २००७ मा स्थापित यो जुवा खेलाउने कम्पनीले अनलाइन जुवा वैध भएको देशमा वानएक्सबेटकै नाममा प्रचार गर्छ। नेपाल अनि भारत जस्ता अनलाइन जुवा प्रतिबन्धित देशमा यिनीहरूले उस्तै लोगो र नाम गरेको सरोगेट कम्पनी खोलेर प्रचार गर्छ।
वानएक्सबेटले नेपालमा न्युजपोर्टलको आवरणमा आफ्नो प्रचार फैलाएको थियो। प्रारम्भमा उसले वानएक्सबेटको प्रचार गर्न क्रिकेट सम्बन्धी वानएक्सब्याट नामक कम्पनीबाट प्रचार गर्यो। त्रिवि क्रिकेट मैदानमा भएका धेरै क्रिकेट प्रतियोगितामा वानएक्सब्याट मिडिया पार्टनरको रूपमा संलग्न रह्यो।
जब वानएक्सब्याट बदनाम भयो अनि कम्पनी वनएक्सन्युजतिर लाग्यो। नेपालमा वानएक्सबेटको प्रभाव थामिनसक्नु भएसँगै प्रहरी पक्राउमा लागेपछि सार्वजनिक रूपमा यस्ता प्रतियोगितामा मिडिया पार्टनरको रूपमा देखिन छाडेको छ।
दोस्रोमा देखियो डाफाबेट। यो पनि अनलाइन जुवा खेलाउने कम्पनी नै हो। नेपाल जस्ता सबै प्रकारका जुवा खेल्न र खेलाउन प्रतिबन्ध लागेको देशमा यसले कम्पनीको प्रभाव बढाउन डाफान्युजको सहारा लियो। खेल प्रतियोगितामा मिडिया पार्टनर बन्यो। डाफाको प्रभाव त्यति बलियो देखिएन नेपालमा।
अब एनपीएलको चर्चासँगै तेस्रो जुवा खेलाउने कम्पनी वुल्फत्रिपलसेभेन नेपाल भित्रियो, वुल्फत्रिपलसेभेनन्युको नाममा।
न्युज नाम आवरण मात्रै
प्राय यस्ता कम्पनीहरू मिडिया पार्टनरको रूपमा खेलमा संलग्न हुने गर्छन्। तर, उनीहरूको वेभ पोर्टलमा गएर हेर्ने हो भने प्रतियोगिता सम्बन्धी केही हुन्न। उनीहरूको पहिलो लक्ष्य मिडिया पार्टनरको आवरणमा यस्तो प्रतियोगिताको लाइभ इभेन्ट र डेटामा सहज पहुँच पुर्याएर त्यसलाई बाजी लगाउन प्रयोग गर्छन्। अर्को कम्पनीको प्रचार पनि भइहाल्यो।
अनलाइन जुवा, सट्टा हुँदै गेम फिक्सिङसम्मको चरणमा पुग्ने यस्ता कम्पनीको निश्चित उदेश्य नै युवामाझ चाँडै लोकप्रिय हुने माध्यमसँग सहकार्य गर्ने र जुवाको लत फैलाउने नै देखिन्छ। जब ब्राण्ड लोकप्रिय हुन्छ, अनि एजेन्टहरू बढ्छन्।
सीमित आर्थिक फाइदा हेरेर क्यान अनि एन्फा जस्ता जिम्मेवार संस्थाका पदाधिकारीहरूले जानजान सरोगेट कम्पनी नेपाल ल्याएर जुवाको प्रवर्द्धन गर्न सघाउँछन्। पहिला खेलमार्फच वानएक्सबेटको प्रवर्द्धन गरेको क्यानले अब एनपीएल जस्तो लोकप्रिय प्लेटफर्मबाट अर्को जुवा खेलाउने कम्पनी ओल्फत्रिपलसेभेन भित्र्यायो।
क्यानको गोप्य रणनीति
अन्य कम्पनीहरूसँग साझेदारी गर्दा क्यानले सामाजिक सञ्जालमार्फत व्यापक प्रचार-प्रसार गर्ने गरेको छ। तर, अहिलेसम्म ओल्फत्रिपलसेभेनसँगको साझेदारीबारे कुनै विवरण सार्वजनिक गरेको छैन। तर एनपीएल आयोजना हुने त्रिवि क्रिकेट मैदानमा शुक्रबार मुख्य नेपाली प्रायोजक सिद्धार्थ बैंकसँगै ओल्फत्रिपलसेभेन समेत देखियो।
तर, एनपीएलमा अनलाइन जुवा खेलाउने कम्पनी ल्याउने क्यानको रणनीति पहिलादेखि नै देखियो। जानकार स्रोतका अनुसार पारसले नै एनपीएलमा सहभागी आठ टिमलाई जर्सीमा लोगो राख्ने बाहेक बैंक, टेलिकम, अनलाइन गेम खेलाउने कम्पनीको सरोगेट कम्पनी र आइएसपीको प्रचार गर्नेगरी सम्झौता नगर्न निर्देशन दिएको थियो।
क्यानले बैंकमा सिद्धार्थसँग सम्झौता गर्यो। टेलिकममा एनसेलसँग आर्थिक सहमति गर्यो। अनलाइन जुवाको सरोगेट वुल्फत्रिपलसेभेन देखियो। आईएसपी अहिलेसम्म खुलेको छैन।
एनपीएलमा देखिएको वुल्फत्रिपलिसेभेन वानएक्सबेट जस्तो पुरानो कम्पनी हैन। यसको डोमेन नै २०२० मा दर्ता भएको देखिन्छ भने वुल्भत्रिपलसेभेनन्युज त्यसको एक वर्षपछि दर्ता भएको देखिन्छ।
बहाना न्युज, उदेश्य जुवा
उनीहरूले जुन नाम र ब्राण्ड प्रवर्द्धन गरिरहेका हुन्छन्, उनीहरू नेपालको कानुन छल्न उस्तै लोगो र नाम बोकेर अर्को कम्पनीको नाममा आएको प्रष्टै देखिन्छ।
जस्तो वुल्फत्रिपलसेभेन एनपीएलमा समाचारको रूपमा भित्रिएको छ। तर, यसको साइटमा गएर हेर्ने हो भने एनपीएल सम्बन्धी कुनै समाचार, विचार, विष्लेषण भेटिन्न र छैन।
यसमा नेपाल सम्बन्धी ताजा समाचार भनेको क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालतलबाट बलात्कार मुद्दामा आठ वर्ष जेल सजायको समाचार छ।
सन्दीपको मुद्दा उच्चमा पुनरावेदनमार्फत सफाईसँगै सर्वोच्चमा पुनरावलोकनमा नजाने महान्यायधिवक्ताको कार्यालयको निर्णयको चरणमा पुगिसक्यो।
जुन नाम वुल्फत्रिपलसेभेनन्युजडटकममा एनपीएलबारे केही छैन। तर जुवा खेलाउने मुख्य साइट वुल्भत्रिपलसेभेनमा जाने हो भने एनपीएलको ब्यानरै राखिसकेको छ जुवा खेलाउन।
आईसीसी र एएफसी
क्यान अनि एन्फाले आईसीसी अनि फिफा र एएफसीको नियम देखाएर, यस्ता जुवा खेलाउने कम्पनी भित्रिएको छद्म नाम देखाएर आफ्नो बदमासीको बचाउ गर्ने प्रयास गर्छन्। पारसले लिने सहयोग पनि यस्तै नै हो। क्रिकेट अनि फुटबलका अन्तर्राष्ट्रिय संस्थाहरूले खेलमा आधारित रहेर हुने अनलाइन जुवा, सट्टा लगायतमा संलग्न कम्पनीमाथि प्रतिबन्ध लगाएका छैनन्।
आईसीसी अनि एएफसीले म्याच फिक्सिङमा चासो राख्छ। तर, उसका सदस्य राष्ट्रहरूमध्ये केहीमा अनलाइन जुवा वैध छ। नेपाल, भारत जस्ता केही देशमा प्रतिबन्ध छ। उसले सदस्य रहेको देशको कानुन हेरेर भन्दा पनि अन्तर्राष्ट्रिय रूपमा सबै देशलाई सहज हुने निर्णय गर्ने हो। त्यही गर्यो।
तर, प्रतियोगिता जहाँ हुने हो त्यहाँ कानुन त त्यही देशको लागु हुने हो। एनपीएल नेपालमा भएकाले यो खेलमा नेपाली कानुन लागु हुन्छ। नेपालको कानुनले कुनै पनि प्रकारको जुवालाई अनुमति दिँदैन। तर, नियमन निकायको कमजोरीमा खेल्दै क्यान र एन्फाले संघको नाममा हुने प्रतियोगितामा वाएन्सबेट, डाफाबेटका सरोगेट कम्पनी ल्याएर अनलाइन जुवाको प्रचार र प्रवर्धन गरिरहे। खेलाडीदेखि कलाकारसम्मलाई एजेन्ट बन्ने वातावरण बनाए।
गत वर्ष भएको टी-२० लिग त म्याच फिक्सिङको चरणसम्मै पुग्यो। यस पटक पारसले पनि एनपीएलमा वुल्फत्रिपलसेफेन नामक जुवा खेलाउने कम्पनीको सरोगेट कम्पनी भित्र्याएर एनपीएललाई म्याच फिक्सिङको जोखिमतिर धकेलेका छन्। किनकी म्याच फिक्सिङको प्रारम्भिक चरण सामान्य अनुमानबाट शुरू हुँदै बढ्ने जुवाको रकमको आधारमा आफू जित्न खेल नै मिलेमतो गराउने चरणसम्म पुग्ने न हो।
सम्बन्धित समाचार
मंसिर १५, २०८१ शनिबार ०८:४०:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।