एनपीएलको ‘फन्टासी स्पोर्ट्स पार्टनर’ ड्रिम११ नेपालमा वैध कि अवैध?

एनपीएलको ‘फन्टासी स्पोर्ट्स पार्टनर’ ड्रिम११ नेपालमा वैध कि अवैध?

काठमाडौं : मंसिर १५ बाट सुरू हुने नेपाल प्रिमियम लिग (एनपीएल)मा सिद्धार्थ बैंकलाई मुख्य प्रायोजकको रूपमा भित्र्याएको नेपाल क्रिकेट संघ (क्यान)ले भारतीय चर्चित फन्टासी गेमिङ प्लेटफर्म ड्रिम११ लाई आधिकारिक फन्टासी स्पोर्ट्स पार्टनरको रूपमा भित्र्यायो।

नेपालमै क्यान अनि अखिल नेपाल फुटबल संघ(एन्फा)ले पनि आफ्नो प्रतियोगितामा ‘स्पोर्टस् अनलाइन’ भन्दै ‘वनएक्सबेट’ अनि ‘डाफाबेट’हरू ‘वनएक्सब्याट’, ‘वनएक्सन्युज’ अनि डाफान्युजको रूपमा भित्रिएका थिए।

प्रहरी यही कम्पनीको उत्पादनबाट अनलाइन जुवा खेले/खेलाएको भन्दै पक्राउ गर्थ्यो अनि एन्फा र क्यान भने आफ्नो आधिकारिक प्रतियोगितामा यसका ब्यानर राखेर प्रचार गर्थे। धन्न, एनपीएलमा अहिलेसम्म आयोजक अनि फ्रेन्चाइज टिममा जुवा खेलाउने यी कम्पनीहरू प्रवेश गरेका छैनन्। तर, ड्रिम११ लाई क्यानले नै लिगमा भित्र्यायो।

भारतमा चर्चा र विवादमा घेरिएको यो प्लेटफर्मलाई क्यानले नियुक्त गरेसँगै नेपालमा पनि यसबारे प्रश्न उठ्यो वैध कि अवैध भनेर। केहीले नेपाल क्रिकेट संघले जुवालाई प्रोत्साहन गर्ने प्लेटफर्मको प्रचार गरेको भन्दै क्यानमाथि नै प्रश्न उठाएका छन्। केहीले प्रतिरक्षा गरिरहेका छन्। प्रहरी यो जुवा खेलाउने प्लेटफर्म हो कि खेल खेलाउने भन्ने भेउ नै नपाएर अलमलमा छ।

के हो ड्रिम ११?
२००८ मा हर्ष जैन र भावित सेठले स्थापना गरेको ड्रिम ११ एक फन्टासी गेमिङ प्लेटफर्म हो। जैन र सेठले पहिलो पटक २०१२ मा क्रिकेट फ्यानहरूका लागि भारतमा प्रिमियम फेन्टासी खेलहरू प्रस्तुत गरेका थिए।

यसमार्फत प्रयोगकर्ताले वास्तविक खेलहरूका आधारमा आफ्नो मनपर्ने टोली छनोट गर्न सक्नेछन्। प्रयोगकर्ताले बनाएको टोलीका खेलाडीहरूको प्रदर्शन अनुसार अंकहरू प्राप्त हुनेछ। त्यही अंकअनुसार प्रयोगकर्ताको जित र हार तय हुनेछ।

जित्नका लागि प्रयोगकर्तासँग खेलसँग सम्बन्धित ज्ञान हुन आवश्यक छ। जसअनुसार प्रयोगकर्ताले आफ्नो विश्लेषणात्मक सीपहरू प्रयोग गरेर यसमा भविष्यवाणी गर्ने गर्छन्। सोही भविष्यवाणीअनुसार खेलाडीहरूको प्रदर्शन भएमा प्रयोगकर्ताले बढी अंक पाउनेछन्, त्यही नै जितको आधार हुनेछ।

यसको इजाजतपत्र र कानुनी स्थितिको बारेमा भारतमा लामै समय चर्चा र छानबिन भयो। चिनियाँ कम्पनीको लगानी भएको सन्दर्भमा पनि यसबारेमा अनुसन्धान भएको थियो। यसका अलावा यसको कानुनी हैसियतबारेको चर्चा भारतको न्यायालयमा नै भयो।

नेपालको कानुनी व्यवस्था
नेपालको ‘जुवा ऐन २०२०’ अनुसार जुवा भन्नाले सम्पत्ति हार्ने वा जित्ने गरी कुनै संयोग आधारमा बाजी थापी खेलेको कुनै खेल सम्झनुपर्ने भनिएको छ। तर, नेपाल सरकारको अनुमति लिई आयोजना गरिएको कुनै सार्वजनिक चिट्ठा र मनोरञ्जनको लागि कुनै सार्वजनिक मेला वा प्रदर्शनीमा खेलिएको खेललाई नजनाउने उल्लेख गरिएको छ।

‘मुलुकी अपराध संहिता २०७४’को दफा १२५ मा पनि ‘जुवा खेल्न नहुने वा सट्टाबाजी गर्न नहुने’ प्रावधान छ। जसको उपदफा ४ मा सट्टाबाजी गर्नु वा गराउन नहुने भनिएको छ। त्यसलाई थप प्रस्ट पार्दै उपदफा ५ मा ‘कसैले कानुन बमोजिम खेल्न खेलाउन नहुने कुनै खेल वा प्रक्रियामा खास पक्षले हारेमा वा जितेमा कुनै चल अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने गरी बाजी थापेमा सट्टाबाजीको कसुर गरेको मानिने’ उल्लेख छ।

जुवाको रूपमा जे परिभाषा गरिएको छ ड्रिम११ को काम मिल्छ।  तर, नेपालको कानुन निर्माणको सिलसिलामा फन्टासी गेमिङ प्लेटफर्महरूको बारेमा कल्पना नगरिएकाले ठ्याक्कै यो वैध या अवैध छुट्टाउन भने गाह्रो छ।

प्रहरी भन्छ- उजुरी आए हेरौँला
प्रारम्भमा प्रहरीले वानएक्सब्याटलाई क्रिकेट सम्बन्धी अनलाइन न्युज पोर्टल भनेर छाडिदिए। यसले सिधै अनलाइन जुवा खेलाउने वानएक्सबेटको प्रमोसन गर्थ्यो।

अनलाइन जुवा वैध नभएका नेपाल जस्ता देशमा प्रचार गर्न यो वानएक्सबेटले बनाएको सरोगेट कम्पनी थियो। उही रुस्लान् भोड्काको विज्ञापन गर्न नपाइने भएपछि रुस्लान् पानीको नाममा प्रचार गरे जस्तै। नाम र लोगो उस्तै राख्ने तर टार्गेट फरक देखाएर बठ्याइँ गर्ने।

प्रहरीले भटाभट वानएक्सबेटमार्फत जुवा खेलाएको, सट्टेवाजी गरेको आरोपमा पक्राउ गर्न सुरू गर्यो। अनि क्रिकेट अनि फुटबलमा उनीहरूको सरोगेट कम्पनीको विज्ञापनबारे प्रश्न उठ्न थाल्यो।

उकेराले यसबारे निरन्तर समाचार लेख्दै आएको छ। बल्ल आयोजकलाई लाज हुन थाल्यो। पछिल्लो समय यस्तोक्रम केही कम भएको छ। तर निमिट्यान्न हुनेगरी कानुन भने बनेको छैन।

अहिले एनपिएलमा फेन्टासी गेमिङ एप ‘ड्रिम११’ भित्रिएपछि पुन: यसबारे बहस सुरू भयो। प्रारम्भमा वनएक्सबेट र वानएक्सब्याट एकै हो भन्दा अलमलमा परेको प्रहरी अहिले यो फेन्टासी एपबारे पनि उस्तैगरी अन्योलमा परेको देखियो। प्रहरी यो नेपालमा नयाँ भएको र यसबारे अहिलेसम्म उजुरी नआएकाले उजुरीपछि मात्र वैध वा अवैध हेर्न सकिने प्रतिक्रिया दिन्छन्।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीले उकेरासँग नेपालीहरूले खेलेको, नेपालीहरू दुरुपयोग भएको अवस्थामा प्रहरीले हस्तक्षेप गर्ने बताए। यद्यपि अहिलेसम्म यसबारेमा प्रहरीमा उजुरी नपरेको उनको भनाइ छ।

उनले भने, ‘गेमिङको बारेमा नेपालमा बलियो कानुन छैन। नेपालको विद्यमान कानुनले यसलाई के गर्ने भनेर छुट्टाइसकेको अवस्था छैन। नेपालीहरू प्रयोग भएको अवस्थामा चाहिँ कारबाही हुन्छ। अहिलेसम्म यो ड्रिम११ नोटिसमा पनि छैन।’

प्रवक्ता कार्कीले ड्रिम११ सट्टेबाजी प्लेटफर्म वानएक्सबेट जस्तो नभएको तर्क गर्दै क्यासिनोको समेत उदाहरण दिन भ्याए।

‘क्यासिनो पनि नेपालीलाई खेल्न नदिने विदेशीलाई खेल्न दिने छ। कानुनले एप्लिकेसनको नामै तोकेर लिस्टआउट गर्ने कुरा भएन। गर्न पनि सक्दैन’, उनले थपे।

भारतको अदालतले के भन्यो?
ड्रिम११ मा फेन्टासी खेल खेल्दा सट्टेबाजी जस्तै लाग्ने भएकाले यस विषयमा अनेक कानुनी प्रश्न उठिरहेकै छन्। भारतमा पनि यसलाई प्रदेश अनुसार कानुनी व्यवहार गरिएको छ। भारतको असम, ओडिशा, तेलंगाना, आन्ध्र प्रदेश, नागाल्यान्ड र सिक्किम राज्यहरूमा फन्टासी खेल ड्रिम११ अवैध छ। प्रतिबन्ध नै लगाइएको छ। अन्य राज्यमा वैध छ।

सन् २०१७ मा राजस्थान उच्च अदालत र सन् २०१९ मा बम्बई उच्च अदालतमा यसबारे कानुनी बहसै भयो। दुवै अदालतले ड्रिम११ लाई कानुनी रूपमा अनुमोदन गर्यो। अन्ततः सन् २०२१ मा भारतको सर्वोच्च अदालतले पनि यसलाई समर्थन गर्दै ड्रिम११ र यस्ता फन्टासी खेलहरूलाई जुवा मान्न नसकिने ठहर्यायो।

उक्त फैसलामा अदालतले फन्टासी खेलहरूलाई पूर्ण रूपमा सीप र कानुनी खेलको मान्यता दियो। अदालतले ड्रिम ११ मा खेल खेल्दा खेलको गुणस्तरीय ज्ञान, निर्णय र एकाग्रता समावेश हुने बताउँदै अन्य जुवा खेलाउने एपभन्दा यो फरक रहेको निष्कर्ष दियो। अदालतले यसलाई ‘कौशलको तत्त्व’ रहेको संज्ञा दिएको थियो।

अनि अदालतले ड्रिम११ मा पैसा जम्मा गर्नु र भुक्तानी गर्नुलाई पनि कानुनसम्मत नै मान्यो। यसले सरकारलाई तिर्ने सबै कर तिरिरहेको छ भने प्रयोगकर्ताले कति शुल्क राख्ने भन्नेबारेमा पनि लिमिट तय गरेकाले प्रयोगकर्ताले जोसमा आएर बढी रकम राख्छु भनेर पनि नपाइने आधार समेत लियो।

सर्वोच्च अदालतको निर्णयले भारतमा ड्रिम११ को कानुनी स्थिति बलियो भए तापनि केही राज्यहरूमा यो मुद्दा अझै पनि चलिरहेको छ। कानुनी रूपमा ड्रिम११ र अन्य यस्तै फन्टासी स्पोट्र्स कम्पनीहरूले प्रत्येक राज्यको कानुनलाई चुनौती दिइरहेका छन्। यसै सन्दर्भमा भविष्यमा थुप्रै राज्यहरूको कानुन परिवर्तन हुनसक्ने देखिन्छ।

तर नेपालको हकमा भने कानुन एकातिर छ, व्यवहार अर्कै। नेपालको विद्यमान जुवा सम्बन्धी कानुनको प्रावधान हेर्ने हो भने ड्रिम्स११ गैर कानुनी हो। तर यसको कानुनी परीक्षण नभएकाले प्रहरी यसबारे मौन नै बस्ने तयारीमा रहेको देखिन्छ।

सम्बन्धित समाचार

मंसिर १४, २०८१ शुक्रबार १७:३०:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।