डाक्टर रुपेशको उपचार अनुभव : दुई महिनाअघि नै प्रसूति व्यथाले च्यापेकी गर्भवतीले नर्मल डेलिभरीबाटै बच्चा जन्माएपछि...

डाक्टर रुपेशको उपचार अनुभव : दुई महिनाअघि नै प्रसूति व्यथाले च्यापेकी गर्भवतीले नर्मल डेलिभरीबाटै बच्चा जन्माएपछि...
सबै तस्बिर- डा. रुपेश संग्रौला

दुर्गम जिल्लामा काम गर्ने चिकित्सकका आफ्नै कथा र व्यथा हुन्छन्।

जनशक्ति, पूर्वाधार, मेसिन, औजार तथा उपकरण र औषधि लगायतको अभावका बावजुत बिरामीलाई उपचार सेवा दिनु एक चिकित्सकका लागि कम चुनौतिपूर्ण हुँदैन।

डा. रुपेश संग्रौलाले यस्तै चुनौतिका बीच खोटाङको दिक्तेलस्थित ‘खोटाङ जिल्ला अस्पताल’मा काम गरिरहेका छन्। उनले दुर्गमका जिल्लामा काम गर्दाको अनुभव उकेरासँग साटेका छन्।

करेन्ट लागेर बेहोस भएका युवालाई हेलिकप्टरबाट रिफर गरेर बचाएको त्यो प्रसङ्ग
प्रसङ्ग केही महिना अघिको हो। विद्युत् सम्बन्धी काम गर्ने करिब ३० वर्षीय व्यक्तिलाई करेन्ट लागेर चोट लागेछ। खोटाङ जिल्ला अस्पताल ल्याउँदा ती युवा अचेत अवस्थामा पुगिसकेका थिए।

करेन्ट लागेर घाइते भएका ती युवाको शरीरमा अक्सिजनको मात्रा कम हुँदा श्वासप्रश्वासमा नै समस्या भइसकेको थियो। मुटुको धड्कन बन्द हुने अवस्थामा पुगेको थियो। केहीबेर मात्रै ढिला उपचार सुरु भएको भए ती युवाको ज्यानै जाने अवस्था थियो।

चिकित्सकको टिमले कति पनि ढिला नगरी युवाको उपचार थाल्यो। उपचारका लागि एमडीजिपि चिकित्सक डा. चतुरानन्द यादवले नेतृत्व गरे भने व्यवस्थापनमा डा. रुपेश खटिए। मुखमा पाइप राखियो। मुटुको चाल बन्द हुन नदिन सीपीआर लगायतका आकस्मिक र प्राथमिक उपचार गरियो।

तर, ती युवाको स्वास्थ्यमा थप सुधारका लागि सुविधायुक्त अस्पतालमा रिफर गर्नुको विकल्प थिएन। त्यसैले हेलिकप्टर मगाएर हेलिकप्टरमार्फत काठमाडौं पठाइयो। काठमाडौंमा केही दिनको औषधि उपचारपछि ती युवाको ज्यान बाँच्यो।

पछि खोटाङ अस्पतालमा फलोअपमा पनि पुगे ती युवा। करेन्ट लागेर मृत्युको नजिक पुगेका ती युवालाई उपचार व्यवस्थापन गरेर हेलिकप्टरमार्फत रिफर गरी ज्यान बचाउन सफल भएको त्यो प्रसङ्ग सम्झँदा अझै उनलाई आनन्द लाग्छ।

पोष्टमार्टमका लागि अस्पताल लैजाँदा ४० हजारसम्म भाडा
अन्य स्वाथ्य उपचार सेवा सँगसँगै खोटाङ जिल्ला अस्पतालमा अप्राकृतिक रुपमा मृत्यु भएका व्यक्तिको पोष्टमार्टम पनि हुन्छ।

डा. रुपेशले पनि त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थाको फरेन्सिक विभागमा पोष्टमार्टम गर्ने सम्बन्धी तालिम लिएका रहेछन्। त्यसैले उनलाई पोष्टमार्टम गर्न केही सहज भएको छ।

अप्राकृतिक कारणले मृत्यु भएका व्यक्तिको शवको पोष्टमार्टमका लागि अस्पतालमा पुर्याउँदा समेत मृतकका आफन्तले निक्कै पीडादायी अवस्था भोग्नुपरेको डा. रुपेशले नजिकबाट देखेका छन्।

अस्पतालको शववाहन नहुँदा मृतकका परिवार तथा आफन्तले महंगो रकम तिरेर गाडीहरू प्रयोग गर्नुपर्ने अवस्था देख्दा उनलाई दुःख लाग्छ। शवको पोष्टमार्टम गर्न अस्पताल लैजाँदा ३० देखि ४० हजार गाडीभाडा तिर्नुपर्ने बाध्यता रहेको उनले सुनाए।

एक त गाडीले शव बोक्नै मान्दैनन् भने बोकिहाले पनि चर्को शुल्क लिँदा मृतकका आफन्त पीडामाथि झन् पीडामा पर्ने गरेका छन्। यस्तो दृश्य देख्दा डा. रुपेशको मन कटक्क खान्छ। त्यसैले अस्पतालमा एउटा शव वाहको आवश्यकता उनले महसुस गरेका छन्।

अभावका बावजुत दैनिक सात जना गर्भवतीको शल्यक्रिया
बिहान सबैरैदेखि उठेर बेलुका अबेरसम्म अस्पतालमा काम गर्नु डा. रुपेशको दैनिकी हो। बिरामीको औषधि उपचारमा मात्रै हैन, अस्पताल प्रमुखको जिम्मेवारीमा समेत रहेकाले उनले प्रशासनिक लगायत काममा पनि त्यतिकै खटिनुपर्ने हुन्छ।

बिरामीको उपचारमा आफूसहित सात जना चिकित्सक खटिइरहेका छन्। अस्पतालमा एक जना छात्रवृति करारका एमडीजीपी चिकित्सक, तीन जना मेडिकल अधिकृत (एमबीबीएस), एक जना डेन्टल सर्जन (बीडीएस) र एक संस्थाको सहयोगमा एक जना अर्का मेडिकल अधिकृत तहका चिकित्सक छन्।

चिकित्सकको यो टिम र स्वास्थ्यकर्मी लगायतको जनशक्तिले १५ शय्याको दरबन्दी स्वीकृत भएको खोटाङ जिल्ला अस्पतालले करिब २९ शय्या सञ्चालन गरिरहेको छ। नजिकमा ठूलो अस्पताल नभएकाले खोटाङ जिल्ला अस्पतालमा बिरामीको चाप बाक्लै हुने गर्छ।

ओपिडीमा दैनिक करिब दुई सय बिरामी स्वास्थ्य परीक्षण तथा औषधि उपचारका लागि पुग्ने गरेको डा. रुपेशको अनुभव छ। अस्पतालका आकस्मिक कक्षमा नै दैनिक १५/२० जना बिरामी उपचारका लागि पुग्छन्।

मासिक करिब ४० जना गर्भवती सो अस्पतालमा सुत्केरी हुने गरेका छन्। जसमध्ये दश महिलाको शल्यक्रिया हुने गरेको छ। परिवार नियोजन गर्ने लगायत विभिन्न चिकित्सकीय कामको चाप पनि उत्तिकै हुने गरेको डा. रुपेशको अनुभव छ।

छात्रवृति करारका चिकित्सक छात्रवृति करार अवधि सकिएपछि जाने भएकाले कहिलेकाहीँ अस्पतालको स्वास्थ्य सेवामा चुनौती समेत हुने गरेको छ।

पूर्वाधार, स्रोत, साधन र विशेषज्ञ चिकित्सकको अभावका कारण जटिल किसिमको स्वास्थ्य समस्या भएका कयौं बिरामीलाई धरान, बिराटनगर, काठमाडौं लगायतका ठाउँमा रिफर गर्नुपर्ने बाध्यता भएको डा. रुपेशले सुनाए।

विशेषगरी वर्षाको समयमा सडक बिग्रिएर गाडी ओहोरदोहोरमा समेत समस्या हुने भएकाले गाडीमा रिफर गर्न कठिन हुन्छ। त्यसैले कहिलेकाहिँ हेलिकप्टरमार्फत पनि बिरामी रिफर गर्नुपर्ने बाध्यता हुने गरेको उनको अनुभव छ।

तर, आर्थिक अवस्था कमजोर भएका बिरामी हेलिकप्टरमा उडेर अन्यत्र अस्पतालमा उपचारका लागि जान पनि सम्भव छैन। जिल्लामा पछिल्लो समय सडकको विस्तार हुँदै गए पनि कच्ची सडकका कारण अस्पतालसम्म आइपुग्न बिरामी तथा बिरामीका आफन्तलाई निक्कै सास्ती पर्ने गरेको उनले अनुभव सुनाए।

जिल्लाबाट स्थानीय तहसम्म पुग्ने सडकहरू कच्ची र जोखिमपूर्ण भएकाले विशेषगरी वर्षाको समयमा बिरामीहरू समयमा नै उपचारका लागि अस्पतालमा पुग्न कठिन हुन्छ। जसले गर्दा स्वास्थ्य जटिलता निम्तने जोखिम हुने गरेको उनले अनुभव सुनाए।

अस्पतालमा भएको एम्बुलेन्स पनि बिग्रिएर बिरामीलाई मर्का परिरहेको डा. रुपेशले सुनाए। त्यसो त अस्पतालको गतिलो संरचना नभएकाले सोचे अनुरुप सेवा विस्तार गर्न समेत नसकिएको उनको अनुभव छ।

हाल पुरानो भत्काएर नयाँ संरचना बनाउनुपर्ने भएकाले अस्थायी किसिमको टहराबाट स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने बाध्यता रहेको छ।

अस्पतालको टहरामा दुई वटा ओटा ओपिडी कक्षमा ५/६ जना चिकित्सक बसेर बिरामीको समस्या सुन्ने तथा बिरामी जाँच्नुपर्ने बाध्यता रहेको उनले सुनाए। जसकारण बिरामीको विभिन्न किसिमको रोगको गोपनीयता कायम गर्न समेत मुस्किल पर्ने गरेको उनको अनुभव छ।

महिनै नपुगी सुत्केरी व्यथाले च्यापेकी ती २५ वर्षकी गर्भवतीलाई बचाएपछि...
प्रसङ्ग केही महिना अघिको हो। करिब २५ वर्षकी युवतीलाई सुत्केरी हुनुपर्ने समय भन्दा करिब दुई महिना अघि नै प्रसूति व्यथाले जिल्ला अस्पताल लगियो। अस्पताल आउँदा ती युवतीको रक्तस्राव भइरहेको थियो। त्यो समयमा तत्काल उपचार  नभएको अत्यधिक रक्तश्रावकै कारण उनकाे ज्यानै जाने जोखिम समेत थियो।

ती महिलाको अवस्था हेरेपछि चिकित्सकको टिमले शल्यक्रिया नगरी सुत्केरी गराउने निर्णयमा पुग्यो। चिकित्सक तथा स्वास्थ्यकर्मीको मेहनत र औषधि उपचारपछि ती महिलाले सामान्य तवरले बच्चा जन्माइन्।

प्रसूति हुनुपर्ने सामान्य समय भन्दा दुई महिना अघि नै सुत्केरी भएकी ती महिलाको बच्चाको तौल करिब दुई किलो थियो। ती नवजात शिशुले आमाको स्तनपान गर्यो। आमा र बच्चा दुवैको ज्यान बाँच्यो।

एक दिनको अस्पताल बसाइपछि ती महिलाले नवजात शिशु च्यापेर अस्पतालबाट डिस्चार्ज भएर घर फर्किइन्। ती महिला अस्पताल पुग्न केही घण्टा मात्रै ढिलो भएको भए ज्यानै जाने जोखिम थियो।

ती अचेत भएका १९ वर्षे युवालाई बचाएर पठाउँदा
प्रसङ्ग करिब एक वर्षअघिको हो। करिब १९ वर्षका युवा एक हप्तादेखि ज्वरोले थला परेर अस्पताल आए। परीक्षणको क्रममा ती युवाको क्रेटिनिन्को मात्रा धेरै बढेको देखियो भने जन्डिसको समेत समस्या थियो।

ज्वरोको कारण रगतमा संक्रमण फैलिएर ती युवाको स्वास्थ्य अवस्था जटिल बनिसकेको थियो। शरीर दुख्ने, पिसाब कम हुँदै जाने, शरीर पहेँलो हुने, कलेजोमा समस्या हुने लगायत शरीरका विभिन्न अंगमा समस्या भएको थियो। 

तराईतिरका ती युवा कामको सिलसिलामा खोटाङ पुगेका रहेछन्। त्यसैले उनका आफन्त अस्पताल पुगेका थिएनन्। युवा करिब अचेत अवस्थामा नै पुगिसकेका थिए।

औषधि उपचार थालेपछि ती युवाको स्वास्थ्यमा क्रमशः सुधार हुँदै गयो। चार दिनको उपचारपछि ती युवा सामान्य अवस्थामा अस्पतालबाट डिस्चार्ज भए। तर, के कारणले त्यसरी ज्वरो आएको हो भनेर पत्ता लगाउन आवश्यक भएकाले ती युवालाई तराई गएर थप स्वास्थ्य परीक्षण गराउन सुझाव दिए।

ती युवाले धरान गएर स्वास्थ्य परीक्षण गरेछन्। परीक्षणका क्रममा उनमा लेप्रोस्पाइरोसिस अर्थात् मुसाले सार्ने रोग लागेको पत्ता लाग्यो। यो समस्या हुँदा मृत्युदर पनि उच्च हुने गर्छ।

तर, बिरामीको युवा अवस्था अनि सही उपचार व्यवस्थापनकै कारण ती युवाको ज्यान बचाउन सम्भव भएको डा. रुपेशले सुनाए।

झापामा जन्म, छात्रवृत्तिमा डाक्टर
झापाको बुद्धशान्ति गाउँपालिकामा २०५३ मा जन्मिएका रुपेशले स्थानीय ज्योति अंग्रेजी माध्यामिक विद्यालयबाट २०६८ मा एसएलसी गरे।

एसएलसीपछि रुपेश प्लस टु अध्ययन गर्न काठमाडौं आए। उनले भक्तपुरको सैनिक आवासीय महाविद्यालयबाट प्लस टु गरे।

डाक्टर बन्ने रहरले रुपेशले प्लस टु सकिनासाथ एमबीबीएस अध्ययनका लागि तयारी गरे। छनोट परीक्षामा अब्बल भएर उनले सरकारी छात्रवृत्ति कोटामा नै एमबीबीएस अध्ययनका लागि छनोट भए।

सरकारी छात्रवृत्ति कोटामा ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा एमबीबीएस अध्ययनका लागि २०७१ मा भर्ना भए। त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सो मेडिकल कलेजबाट रुपेशले इन्टर्नसिपसहित २०७८ मा एमबीबीएस अध्ययन पूरा गरे।

डा. रुपेशले सरकारी छात्रवृति कोटामा एमबीबीएस अध्ययन गरेबापत दुई वर्ष छात्रवृत्ति करारमा काम गर्नुपर्ने थियो।

त्यसैले ताप्लेजुङको जिल्ला अस्पतालमा एक वर्ष र खोटाङको दिक्तेलस्थित खोटाङ जिल्ला अस्पतालमा एक वर्ष गरी उनले दुई वर्ष दुर्गमका अस्पतालमा छात्रवृत्ति करारमा काम गर्दा दुर्गमका बिरामीको समस्या उनले नजिकबाट बुझे।

सरकारी सेवा प्रवेश
खोटाङमा छात्रवृत्ति करारमा काम गरिरहेका बेला डा. रुपेश लोकसेवा परीक्षामार्फत संघ अन्तर्गत आठौं तहको मेडिकल अधिकृत स्थायी चिकित्सकका रूपमा २०८० साउनमा सरकारी जागिरमा प्रवेश गरे।

सरकारी जागिरमा प्रवेश गरेपछि उनलाई अछामको कमलबजार नगरपालिकाको प्राथमिक स्वास्थ्य चौकीमा कामकाज गर्न खटाइयो। उनले त्यहाँ करिब पाँच महिना काम गरे।

अछामपछि डा. रुपेश गत पुसमा पुनः खोटाङ जिल्ला अस्पताल नै काम गर्न पुगे। हाल डा. रुपेश खोटाङ जिल्ला अस्पतालमा नै निमित्त मेडिकल सुपरिटेण्डेन्ट (अस्पताल प्रमुख)को भूमिकामा छन्।

असार २९, २०८१ शनिबार १०:४३:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।