डा. दिपेशको उपचार अनुभव : ठ्याप्पै नसुन्ने युवाले शल्यक्रियापछि कान सुन्दा टेबलमै ‘ह्वाँ-ह्वाँ’ रोए

डा. दिपेशको उपचार अनुभव : ठ्याप्पै नसुन्ने  युवाले शल्यक्रियापछि कान सुन्दा टेबलमै ‘ह्वाँ-ह्वाँ’ रोए
तस्विर : दिपेश श्रेष्ठ/उकेरा

डा. दिपेश शाक्य नाक, कान, घाँटी रोग विशेषज्ञ हुन्। निजामती कर्मचारी अस्पतालमा कार्यरत उनीसँग कान नचिरिकनै शल्यक्रिया गरेर बिरामीको रोग सञ्चो बनाउने ज्ञान तथा सीप छ। उनले दुई हजारभन्दा बढी बिरामीको कान नचिरी शल्यक्रिया गरेर सञ्चो बनाएका छन्। उनै डा. दिपेशले चिकित्सकीय पेशाको सिलसिलामा देखे भागेका अनुभव उकेरासँग साटेका छन्।

शल्यक्रिया कक्षको ‘टेबलमै’ रोएका ती युवा
प्रसङ्ग करिब पाँच वर्षअघिको हो। करिब ३५ वर्षका एक युवा बिरामी उपचारका लागि अस्पताल पुगे। ती युवा दुवै कान सुन्न सक्दैन थिए। युवाको कानको तीन वटा हड्डीमध्ये एउटा हड्डी(स्टेप्स) नै थिएन। जसले गर्दा ती युवा सुन्न सक्दैनथे।

ती युवाको कानको शल्यक्रिया नगरी कान सुन्ने उपाय थिएन। अस्पताल जाँदा चिकित्सकहरूले चिरेरै कानको शल्यक्रिया गर्नुपर्छ भनेपछि ती युवा डराएका रहेछन्। तर, डा. दिपेशसँग कानै नचिरी शल्यक्रिया गर्ने ज्ञान तथा सीप सिकेका छन्। त्यसैले उनले ती युवालाई ‘तपाईंको कानै नचिरी शल्यक्रिया गरिदिन्छु। बेहोस पनि बनाउनु पर्दैन’ भने।

‘कान चिर्न पर्दैन’ भनेपछि ती युवा तयार भए र आवश्यक तयारी पनि गरियो। डा. दिपेशले ती युवालाई बेहोस नबनाइ र नचिरी देब्रेतर्फको कानको शल्यक्रिया गर्न थाले। केहीबेरको मेहनतपछि शल्यक्रिया सफल भयो। कानमा खासै घाउ पनि भएन।

शल्यक्रिया सकिएपछि डा. दिपेशले ती बिरामीलाई ‘कस्तो छ? कान सुन्नुभयो?’ भनेर सोधे। शल्यक्रियापछि ती युवा बिरामी कान सुन्ने भइहाले। अनि उनले सोध्नासाथ बिरामी त शल्यक्रिया कक्षको ‘अप्रेशन टेबल’मा नै ‘ह्वाँह्वाँ’ गर्दै रुन पो थाले। 

शल्यक्रियापछि कान सुन्ने भएर बिरामी रोएको देख्दा डा. दिपेश पनि कताकता भावुक बने। त्यो बेला डा. दिपेशले उनले मनमनै सोचे, ‘ओहो! कानै नसुन्नेलाई सुन्ने बनाउन सकिने राम्रै चिकित्सकीय विद्या पढिएछ।’

त्यसपछि ती युवालाई अप्रेशन टेबुल र शल्यक्रिया कक्षबाट निकालियो। अनि पोष्ट अपरेटिभ वार्डमा सारियो। केही समय आराम गरेर ती युवा अस्पतालबाट कान सुन्ने भएर फर्किए।

अहिले पनि ती युवा बेला-बेलामा फलोअपका लागि डा. दिपेशकहाँ पुग्छन्, बेला-बेला फोन गर्छन्। ती कान सुन्ने भएका युवा डा. दिपेशका साथीजस्तै भएका छन्। ती युवाको अब दायाँतर्फको पनि कानको शल्यक्रिया गर्ने योजना समेत रहेको उनले सुनाए।

डा. दिपेशले दुई हजार भन्दा बढी बिरामीको कान नचिरी शल्यक्रिया गरेर सञ्चो बनाएका छन्। यसरी कान नचिरी शल्यक्रिया गरिने विधिलाई ‘इन्डोस्कोपिक सर्जरी’ भनिन्छ। उनले जापान लगायत विभिन्न मुलुकबाट कान (अटोलोजी) सम्बन्धी फेलोसिप गरेर यस्तो ज्ञान तथा सीप सिकेका छन्। करिब दश वर्षअघि देखि नै कान नचिरी शल्यक्रिया गर्ने सीप सिकेका हुन् उनले।

कान नचिरी गरिने शल्यक्रिया गर्ने चिकित्सकको संख्या अत्यन्तै नगन्य भएको उनले सुनाए। आजकाल यसरी नेपालमा कान नचिरी शल्यक्रिया गर्ने विधिको विस्तार हुँदै गएको उनले सुनाए।

शल्यक्रिया गरी कानको प्वाल परेको जाली टाल्ने, हड्डी खिएको, हड्डी जाम भएको, कानमा मासु पलाएकोजस्ता उपचारका लागि डा. दिपेश कान नचिरीकनै शल्यक्रिया गरेर बिरामीलाई सञ्चो बनाउने कोशिस गर्छन्। कान नचिरी शल्यक्रिया गर्दा घाउ चाँडै ठिक हुने भएकाले बिरामीले धेरै दुःख पाउनुपर्दैन।

कान नचिरी शल्यक्रिया गर्दा अस्पतालमा लामो समय भर्ना गर्नु नपर्ने अनि पैसा पनि धेरै खर्च नहुने उनले सुनाए। उनले नाक, कान, घाँटीरोग विशेषज्ञहरूलाई कान नचिरी गर्ने शल्यक्रिया सिकाइरहेका पनि छन्।

नाकको क्यान्सर पत्ता नलागेर मृत्युको मुखमा पुगेकी ती बालिका बाँचेपछि...
नाकको क्यान्सर भएकी करिब एघार वर्षकी बालिकालाई उपचारका लागि विभिन्न अस्पताल लगेर दुई पटक शल्यक्रिया नै भएछ। घाँटीको टीबी (ट्युबरकोलोशिस) हो भनेर करिब एक वर्षभन्दा बढी समयदेखि टीबीकै औषधि समेत प्रयोग गरिएको रहेछ।

तर, बालिकाको समस्या २० को  १९ पनि भएनछ। कतै पनि समस्या ठिक नभएपछि ती बालिकालाई केही महिनाअघि निजामती कर्मचारी अस्पताल लगियो। डा. दिपेशले बालिकाको स्वास्थ्य अवस्था हेरे। बिरामी बालिका दुब्लाएर बाहिरबाटै हड्डी देखिन्थिन्। बालिकाको ज्यान नै जोखिममा परिसकेको थियो।

डा. दिपेशले ती बालिकाको स्वास्थ्य परीक्षण सुरू गरे। ती बालिकाको घाँटीमा मासु पलाएको र नाकबाट रगत पनि आउने समस्या थियो। स्वास्थ्य परीक्षण गर्दा त ती बालिकाको नाकको पछाडीको भागमा क्यान्सर भएको पत्ता लाग्यो। नाकको पछाडीको भागमा हुने यस्तो किसिमको क्यान्सरलाई चिकित्सकीय भाषामा ‘नेजोफारिन्जेयल कार्सिनोमा’ भनिन्छ।

क्यान्सर भएको पुष्टि भएपछि बल्ल ती बालिकाको सही उपचार बल्ल सुरू भयो। बालिकालाई रेडियो थेरापी गरियो। आवश्यक औषधि उपचार गरियो। उपचारपछि बालिकाको स्वास्थ्यमा सुधार हुँदै गयो। बालिकाको नाकको पछाडिको भागको त्यो क्यान्सर नै ठिक भयो। बालिका बाँचिन्।

ती कलिली बालिका बाँचेपछि उनी र उनको परिवारको खुसीको सीमै रहेन। ती बालिका अहिले पनि अस्पतालमा फलोअपमा रहेको उनले सुनाए। मृत्युको मुखमा पुगिसकेकी ती बालिकालाई रोग पत्ता लगाएर बचाउन सफल भएकोमा डा. दिपेश दङ्ग छन्।

यसरी समस्या नै पहिचान नहुँदा अनि समयमा सही उपचारको पहुँचको अभावले कयौं बिरामीले दुःख पाउने गरेको नजिकबाट देखेका छन्, डा. दिपेशले।

‘कानमा तेल हाल्न हुँदैन है! मृत्युपनि हुन सक्छ नी’
नाक, कान र घाँटीसँग सम्बन्धित समस्याको पहिचान गरी उपचार गर्ने विधाका चिकित्सक हुन् डा. दिपेश। यी अङ्गको उपचार विशेषगरी औषधि र शल्यक्रिया गरी दुई तरिकाले गरिन्छ।

शल्यक्रिया गरी कानको जाली टाल्ने, कानको कुहिएको हड्डी फालेर नयाँ हड्डी राख्ने जस्ता उपचारात्मक काम कान नचिरी गर्छन्, उनी। कान पाक्ने, कान दुख्ने, कान नसुन्ने लगायत समस्याको औषधि उपचार तथा शल्यक्रिया गरी सञ्चो बनाउने कोशिश गर्नु डा. दिपेशको दैनिकी हो।

नाकको बांगिएको हड्डी मिलाउने, नाकमा मासु पलाएको र नाकको ट्युमर तथा क्यान्सरको लगायतको औषधि उपचार अनि शल्यक्रिया गरी बिरामीलाई ठिक बनाउन उनी व्यस्त हुन्छन्।

त्यसैगरी घाँटीको बोलीको समस्या, टन्सिल, थाइराइड, घाँटीको क्यान्सर जस्ता समस्याको शल्यक्रिया तथा औषधि उपचार गर्ने डा. दिपेशको अध्ययनको विधा हो।

कान पाक्ने समस्याले जटिलता निम्तिएर व्यक्तिको मृत्यु समेत हुनसक्ने भएकाले हेलचेक्राईँ नगर्न उनको सुझाव छ। उनले कान पाक्ने लगायतको समस्याका कारण व्यक्तिको मृत्यु समेत भएको देखेका छन्। कान पाकेर जालीमा प्वाल परेको खण्डमा कान पाकिरहने, कान सुन्न कम हुनेजस्ता समस्या निम्तन सक्छन्।

त्यसो त, कतिपय किसिमको कान पाक्ने समस्यामा हड्डी खाँदै मस्तिस्कसम्म पुग्छ। अनि कान पाक्दै मस्तिस्कमा पुगेको खण्डमा संक्रमण भएर व्यक्तिको ज्यान समेत जान सक्ने डा. दिपेशले सुनाए। त्यसैले कान पाक्ने समस्यालाई सामान्य रूपमा नलिन उनको सुझाव छ।

अर्कोतर्फ कानमा तेल हाल्ने, कान कोट्याउने, कानमा जथाभावी औषधि हाल्ने, रुघा लागेको खण्डमा ‘सीँसीँ’ गरेर सिँगान फाल्ने जस्ता गतिविधिले कान पाक्न सक्नेतर्फ उनी सजग गराउँछन्। कानको समस्या भएर अस्पतालमा पुग्ने बिरामीको चाप बाक्लै भएको उनले अनुभव सुनाए।

डा. दिपेश कानमा तेल हाल्दै नहाल्न सुझाव दिन्छन्। तेल मात्रै हैन कानभित्र पानी लगायत कुनै पनि पदार्थ पर्न नहुने उनी बताउँछन्। कानमा तेल हाल्ने चलन कसरी सुरू भयो भन्ने उनलाई एकिन थाहा छैन। तर, यो परम्परा गलत भएको उनले सुनाए। बच्चालाई कानमा तेल हाल्ने परम्पराले गर्दा कान पाक्ने, जालीमा प्वाल पर्ने जस्ता समस्या हुने गरेको उनले सुनाए।

कानमा तेल हाल्दा कानमा ढुसी पलाउने, कानको संक्रमण हुने अनि कानको सुन्ने क्षमता गुम्ने मात्रै होइन, संक्रमण भएर मस्तिस्कसम्म पुगेर व्यक्तिको मृत्यु समेत हुनसक्ने उनले सुनाए। कानमा तेल हाल्न हुँदैन भन्नेबारे धेरैलाई जानकारी दिन अझै धेरै मेहनत गर्नुपर्ने उनको अनुभव छ।

डा. दिपेश उदाहरण दिँदै जनावरले कहिल्यै कानमा तेल नहाल्ने, कान नकोट्याउने र सीँसीँ नगर्ने भएकाले जनावरको सितिमिति कान नै नपाक्ने बताउँछन्। त्यसैले कानमा तेल नहाल्न, कान नकोट्याउन अनि बेस्सरी ‘सीँसीँ’ नगर्न उनको सुझाव छ।

‘स्कुल’ पढ्दै, मुर्ति बनाउँदै
ललितपुरको मंगलबजार नजिकको गावहालमा जन्मिएका दिपेशका बुवा मुर्ति बनाउने काम गर्थे। त्यसैले उनी पनि ‘स्कुल’ पढ्दा नै बुवासँगै मुर्ति बनाउने काम सिक्दै गए। सात कक्षादेखि उनले विहानको स्कुल पढे। अनि छुट्टि भएपछि दिपेश खानपिन गरेर दिउँसो बुवालाई मूर्ति कुँद्ने तथा बनाउने काममा सघाउँथे। दश कक्षासम्मै उनको दैनिकी यसरी नै बित्यो।

दिपेशका बुवाको उदेश्य छोरालाई व्यापारी बनाउने थियो। पढाइमा पनि उनी अब्बल नै थिए। दिपेशले लतिलपुर माविबाट २०५६ मा एसएलसी गरे। एसएलसीमा उनको ८५ प्रतिशत नम्बर आयो। छोराले राम्रो अंकका साथ एसएलसी गरेपछि बुवाले उनलाई काममा लगाएनन्। पढाइमा नै केन्द्रीत हुन ‘अह्राए’।

दिपेशले काठमाडौंको माइतिघरस्थित सेन्ट जेभियर्स कलेजबाट विज्ञान संकायमा आइएस्सी गरे। आइएस्सी अध्ययन सँग-सँगै उनलाई डाक्टर बन्ने रहर जाग्यो। त्यसैले उनले एमबीबीएस अध्ययनका लागि एक वर्ष तयारी गरे।

दिपेशले एमबीबीएस अध्ययन गर्ने मौका पाएर सन् २००३ मा फिलिपिन्स पुगे। त्यहाँ ‘कोर्ष बेस लनिङ’ भन्दा ‘प्रब्लम बेस लर्निङ’लाई प्राथमिकता दिएको सम्झन्छन् उनी। फिलिपिन्समा ‘०.०२’ प्रतिशत मात्रै अंक कम भएकाले अर्को साथीले उनलाई एमबीबीएसमा उछिनेर ‘गोल्ड मेडलिस्ट’ भएछन्। दिपेश ‘सेकेण्ड टपर’ त भइहाले। तर, उनको गोल्ड मेडलिष्ट हुने सपना त्यहाँ अधुरै रह्यो।

एमबीबीएस गरेर उनी सन् २००८ मा नेपाल फर्किए। नेपाल फर्किएर वीर अस्पताल, कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताल लगायतमा उनले एक वर्ष इन्टर्नसिप गरे। इन्टर्नसिपपछि डा. दिपेशले करिब नौ महिना पाटन अस्पतालका आईसीयूमा मेडिकल अधिकृतको रूपमा काम गरे।

ईएनटीमा गोल्ड मेडलिष्ट र निजामतीमा जागिर
डा. दिपेशलाई थप अध्ययन गर्नु त छँदै थियो। त्यसैले उनले त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत महाराजगञ्ज चिकित्सा क्याम्पसमा सन् २०१० मा स्नातकोत्तर तहको नाक, कान, घाँटी (ईएनटी) विषयमा एमएस (मास्टर्स इन सर्जरी) अध्ययन गर्न थाले। सन् २०१३ मा उनले तीन वर्षे एमएस अध्ययन पूरा गरे। एमएसमा भने उनको गोल्ड मेडलिष्ट हुने सपना पूरा भयो। उनी गोल्ड मेडलिष्ट भए।

नाक, कान घाँटी (ईएनटी) विषयमा एमएस अध्ययन सक्नासाथ सन् २०१३ मा नै डा. दिपेश काठमाडौंको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा पार्ट-टाइमरका रूपमा काम गर्न थाले। करिब डेढ वर्षपछि उनी करार जागिरे भएर त्यहाँ काम गरे। डेढ वर्ष यता भने उनी निजामती कर्मचारी अस्पतालमा स्थायी जागिरे भएका छन्।

करिब १२ वर्ष यता निरन्तर निजामती कर्मचारी अस्पतालमा उनी कार्यरत छन्। पाँच वर्षयता डा. दिपेश अस्पतालको नाक, कान, घाँटी विभागको प्रमुखको जिम्मेवारीमा समेत छन्। त्यसैगरी डा. दिपेश चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत (निजामती कर्मचारी अस्पताल)मा शैक्षिक परिषदको सदस्य अनि ‘सिभिल मेडिकल जर्नल’को सम्पादकको भूमिकामा समेत छन्। यो वर्ष निजामती कर्मचारी अस्पतालमा उनी उत्कृष्ट चिकित्सकको रूपमा समेत सम्मानित भए।

फागुन २४, २०८१ शनिबार ११:१०:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।