ज्ञान बहादुरको हिजोका कुरा : स्कुल जाँदा पानी छोइयो भनेर गाग्रो नै फुटाउँथे, गाली त सामान्य भैहाल्यो

पाँच दशकअघि मोरङका जाँतेमा जन्मिएका हुन्- ज्ञान बहादुर विश्वकर्मा। पेशा उनी कलाकार अनि गुरु। कलामा रुचि राख्ने उनी गितार बनाउँछन् र सिकाउँछन् पनि। ठ्याक्कै भन्दा जे काम आउँछ, गर्ने स्वभावका। उमेरले ५५ वर्ष लागिसकेका उनले नेपालको पञ्चायती व्यवस्थादेखि गणतन्त्रसम्मको अनुभव गरेका छन्।
यो अवधिमा उनले जातीय विभेद त भोगेका छन्। स्कुल पढ्दा साइत बिगारेको आरोपदेखि पानी छोइँदा घैलो फुटाएकोसम्मका घटना उनले देखेका छन्। दाइ बामपन्थी आन्दोलनमा लाग्दा उनले राजनीतिलाई समेत केही समय नियाल्ने मौका पाए।
छरछिमेक र पञ्चहरूबाट भोगेको ज्यादती विरुद्ध उनका दाजु डिल्लीरामका साथीहरूले सांगीतिक कार्यक्रम गर्थे। त्यो सांगीतिक कार्यक्रम प्राय हेरिरहने उनलाई गितारले मोहनी लगाएछ। त्यो मोहनीलाई उनले आफ्नो पेशा बनाए। अहिले उनी गितार बनाउँछन् अनि बेच्छन् पनि।
विभिन्न संगीत विद्यालयमा गितार सिकाउने गुरु समेत रहेका ज्ञान बहादुरले पुतली सडकको साधना कला केन्द्रमा न्हू बज्राचार्यसँग गितार सिकेका हुन्। पछि उनैले संगीत विद्यालयमा गितार सिकाउने गुरु बने।
ज्ञान बहादुरले आफ्नो जीवनका अनुभव, भोग्नुपरेको विभेद र राजनीतिक घटनाक्रमबारे उकेराको नियमित कोलम ‘हिजोका कुरा’मा आफ्ना अनुभव यसरी साटेका छन्ः
स्कुल जाँदा पानी छोइयो भनेर गाग्रो नै फुटाउँथे, गाली त सामान्य भैहाल्यो
मैले पञ्चायत व्यवस्थामा धेरै कुराहरू भोगेको छु। ४६ साल अघिको कुरा गर्दैछु। हाम्रोमा तल्लो स्कुल र माथिल्लो स्कुल भन्ने थियो। अहिले पनि छँदै छ। तल्लो स्कुल श्री प्राविमा कक्षा तीन पास गरेपछि चार कक्षा पढ्न आधा घण्टा हिँडेर माथिल्लो स्कुल जानुपर्थ्यो।
एक दिन हतार-हतार गरेर स्कुल जाँदै थिए। एक जना सुब्बा थरका मान्छेले दोबाटोमा मलाई भेट्नुभयो। ‘थुक्क, यसलाई भेटेर मेरो साइतै बिग्रिने भो’ भनेर मलाई गाली गर्नुभयो। मैले कसैलाई केही गरेको पनि होइन। न कसैको केही खाइदिएको थिए। मलाई देखेर उहाँले साइत बिग्रियो भनेर गाली गर्दा कस्तो नमीठो लाग्यो।
यस्ता घटनाहरू मसँग धेरै छ। ठूलो जात भन्नेहरू बाटोमा पानी बोकेर आए भने तल्लो साइडबाट हिड्नुपर्ने हुन्थ्यो। उनीहरूले पानी बोकेर ल्याउँदा वा धारामा पानी भर्दै गर्दा छोइयो भने ‘थुँइक्क बज्याले छोइहाल्यो’ भनेर गाली गर्दै गाग्रै फुटाउँथे।
अर्को एक दिन दाहाल थरकी दिदीले पानी बोकेर आउँदै गर्दा झुक्किएर पानी छोइयो। उहाँले पानी छोइयो भनेर माटाको गाग्री नै फुटाउनुभयो। त्यो देखेर मलाई अचम्म लाग्यो। पानी पो मैले छोएको थिएँ त, गाग्रीको कुनै दोष थियो जस्तो त लाग्दैन। उहाँले मेरै आँखा अगाडि मलाई गाली गर्दै कहाँबाट बोकेर ल्याउनु भएको पानी सहितको गाग्रो पछार्दा नमज्जा लाग्यो।
यस्ता घटनाहरू अहिले पनि मेरो मानसपटलमा खेलिरहेको हुन्छ। मलाई लाग्छ- त्यो सबै व्यवस्थाकै कारण होला। खासमा मलाई के लाग्छ भने त्यो प्रवृत्ति पनि पञ्चायती व्यवस्थाको जड हो। उनीहरूले व्यवस्थाकै आडमा कमजोर र तल्लो जाती भनेर पेलेको हो की भन्ने मलाई लाग्छ।
त्यतिबेला प्रधानपञ्चहरूको हाली मुहाली हुन्थ्यो। अलिक उपल्लो जातहरूले तल्लो जातलाई असाध्यै हेप्थे। तर हाम्रोमा प्रधानपञ्च अलिक नरम थिए। मैले थाहा पाउँदा हाम्रोमा हंसबहादुर राई प्रधानपञ्च हुनुहुन्थ्यो। उहाँ बाहेक अरुले आफूलाई ठूलाबडा भन्थे। गरिब र तल्लो जात भनिएकाहरूलाई अति हेप्थे।
गितार बोकेर हिँड्दा पनि पुलिसको हप्कीदप्की
म वि.सं. २०२६ सालमा जाँते गाउँ पञ्चायत-२ नम्बरमा जन्मिएको हो। सन्तानलाई पढ्न सजिलो होस् भनेर बुवा वडा नम्बर ९ मा सर्नुभयो। अहिलेजस्तो दुई वर्ष पुग्नेबित्तिकै भर्ना गर्ने चलनै थिएन त्यतिबेला। म छ वर्षको भएपछि मात्र बुवाले त्यति बेलाको जाँते प्राविमा भर्ना गरिदिनुभयो। स्कुल पढ्नका लागि पनि किताब कापी प्रशस्त नपाउने, दुःखै थियो हौ।
गाउँमा ८ कक्षासम्मको पढाइ सकेर म मंगलबारे पढ्न जान थालेँ। लेटाङ बजारमा आएर गाडी चढेर कानेपोखरी हुँदै पूर्व लाग्नुपर्थ्यो। त्यो घना जंगलको बाटो हिड्न नि डरमर्दो थियो। त्यो समयमै लेटाङमा पुलिस चौकी थियो। त्यतिबेला दाजुहरूले बोकेको गितार मैले लिन्थे बजाउनलाई।
मैले मंगलबारे पढ्नका लागि भनेर चामलका बोरा, साग सब्जीहरू र हातमा गितार बोकेर लेटाङको बसपार्कमा गाडी कुरेर बसिरहेको थिए। त्यो ठाउँ पुलिस चौकीबाट देखिन्थ्यो। एउटा फुली भएको पुलिसले मलाई देखेपछि सिपाहीलाई पठाएर केरकार गरे। चौकीमै लगेर हप्कीदप्की गर्दै सोधे, ‘यो गितार कहाँ लिएर हिँडेको?’
मैले ‘मंगलबारे बस्छु, उतै पढ्छु’ भनेँ। सानो-सानो मान्छे, त्यहि माथि पुलिसको हप्की खानु परेपछि मेरो होस उडेको थियो। त्यतिबेला पुलिसलाई सर’ नभनेर ‘दाइ’ भनेछु। फेरि थर्काइ त हाल्यो। सिपाहीले मलाई ‘दाइ होइन सर भन्’ भन्यो। ह्वस भन्नैपर्यो।
त्यो बेला जनवादी गीत गाउनेलाई बामे भन्थेँ। त्यही गाउन हिँडेको होला भन्ठानेर पुलिसले मेरो गितार खोसेर केरकार गरेको रहेछ। पछि मात्र थाहा पाएँ। पछि दश बिन्ती चढाएपछि बल्ल खोसेको गितार दियो। त्यतिबेला ठूलै लडाइँ जितेको महसुस भयो।
त्यो बेला पुलिसको पनि उल्कै दमन थियो। एउटा पुलिस पस्यो भने पूरै गाउँलाई थर्काएर जान्थ्यो। यो त्यस्तै २०४० साल हाराहारीको कुरा हो। मान्छेहरू अहिले पनि पहिलाकै व्यवस्था ठिक थियो भन्छन्, तर हामी भोग्नेलाई थाहा छ नि, त्यो समय कस्तो थियो भनेर। जनतालाई स्वतन्त्रताको अधिकार, मानव अधिकार दिनै खोज्दैनथे।
बहुदल र निर्दलको त्यो संघर्षले गितार सिकायो
मैले थाहा पाउँदा २०३५/३६ सालमा गाउँमा बहुदल र निर्दलको खुब चुनावी प्रचार गरिएको थियो। मेरो दाजु डिल्ली विश्वकर्मा त्यो बेलामा बहुदल खेमाको हुनुहुन्थ्यो। उहाँ जनवादका गीतहरू गाउनुहुन्थ्यो। त्यो समयमा आन्दोलनको ठूलो शक्ति भनेकै गीत-संगीत थियो। त्यो गीत संगीतको छापले नै मलाई अगाडि बढाएको हो। त्यसरी चुनाव हुँदा निर्दलकै विजयी भयो। यो ३६ सालको कुरा हो।
दाइहरूले नै गीत गाएपछिको त्यो छापले नै होला मलाई पनि संगीतमा रहर जगायो जस्तो लाग्छ। दाजुहरूले गाउँमा आमसभा गर्दा खेरि खुबै जनवादी गीतहरू गाउनुहुन्थ्यो। दिनभरी कहाँ के हुँदैछ भनेर पुलिसहरूलाई थाहै हुँदैनथ्यो। त्यतिबेला कोही जनवादी कार्यक्रममा गीत गाउने, कोही बाँसुरी बजाउने, कोही गीत गाउने गर्थे। मलाई अहिले पनि याद छ, त्यो बेलाको गीत-
‘पञ्चे सरकार के सारो फटाहा
अत्याचारले भइसक्यो बौलाहा’
भनेर सुकुम्बासीलाई आगो लगाइ खेद्छ भन्ने खालका शब्दहरू थिए। यो समयमा गितारहरू बजाएको देखेको थिए। त्यही समयमा मैले पनि गितार छोएको हो। जुन अहिले मेरो गितार बनाउने पेशै भयो।
फागुन २२, २०८१ बिहीबार १२:५३:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।