१४ वर्षको उमेरमै विवाह गरेकी रशु क्षेत्रीको प्रसव पीडा र खुसी : डाक्टरको कुरा सुन्दा झन्डै सन्तान नै गुमाउन परेको!

१४ वर्षको उमेरमै विवाह गरेकी रशु क्षेत्रीको प्रसव पीडा र खुसी : डाक्टरको कुरा सुन्दा झन्डै सन्तान नै गुमाउन परेको!

बागलुङमा जन्मिएकी रशु क्षेत्रीले सानैमा बिहे गरिन्। बाबा भारतमा काम गर्न बाहिरिएपछि घरपरिवार सबै आमाले नै सम्हालुपर्यो। तीन सन्तान हुर्काउन उनको आमालाई हम्मेहम्मे परेपछि उनले धेरै पढ्नै पाइनन्।

आमालाई सघाउने र घरको काम सबै गर्नुपर्ने भएपछि उनी घरधन्दामै पोख्त भइन्। पढाउन नसक्ने भनेर घरमा कुरा हुन थाल्यो। पहिलो पटक रजश्वला भएपछि त उनको बिहे गर्नु नै घरको प्राथमिकता जस्तो भइसकेको थियो। भयो पनि त्यस्तै।

भर्खरै फेसबुक चलाउने लहर लागेको बेला उनले आफ्नै छिमेकीसँग कुरा गर्न थालिन्। कुरा हुन थालेको पनि धेरै भएको थिएन। १४ वर्षकै उमेरमा उनले उही छिमेकीसँग प्रेम विवाह गरिन्, त्यो पनि अन्तर्जातीय।

आर्थिक अवस्था कमजोर भएको कारण घरमा अन्तर्जातीय विवाहलाई लिएर धेरै समस्या नभएको उनी बताउँछिन्। अहिले उनी दुई सन्तानकी आमा पनि हुन्। यसबीचमा उनले चितवनकै मालपोत कार्यालयमा सेवाग्राहीहरूको ‘डकुमेन्टेसन’ गरिदिने काम पनि गरिन्।

वैदेशिक रोजगारको लागि स-परिवार अमेरिका जाने तयारी गर्दागर्दै उनको दोश्रो गर्भ रह्यो। दोश्रो सन्तानलाई पनि अमेरकामै जन्म दिने उनीहरूको तयारी रहँदा पनि स्वास्थ्यको कारणले ‘गर्भपतन गर्न पर्ने’ भनेर डाक्टरले भनिसकेपछि बाहिर जान सकेनन्। त्यसपछि आफैँ सतर्क भएर उनीहरूले हस्पिटल फेरे।

सकुशल दोश्रो सन्तानलाई उनले जन्म दिएको दुई महिना मात्र हुन लाग्यो। उनै रशुले उकेराको नियमित स्तम्भ ‘प्रसव पीडा र खुसी’मा आफू आमा बन्दा अनुभव यसरी सुनाइन्:

०००

विदेश जाने भन्दा-भन्दै बाबु पेटमा आइदियो। हामीले त बाबुलाई पनि उतै जन्म दिने भन्ने सम्म सोचेका थियौँ। तर, काठमाडौं आएर प्रक्रिया मिलाउने क्रममा डाक्टरले ‘पाठेघरको मुख सानो छ, बच्चालाई उहाँले जन्म दिन सक्नुहुन्न’ भनेर गर्भपतन नै गर्न सुझाव दिनुभयो। हामी परीक्षणका लागि जाँदा गर्भ रहेको १४ हप्ता मात्र भएको रहेछ। डाक्टरले त्यस्तो भनेपछि हामी निकै अत्तालियौँ।

पहिलो सन्तान मैले ‘टिन एज’मै जन्माएकी थिएँ। त्यसबेला उमेर सानो भएर केही गाह्रो होला कि भन्ने बाहेक केही डर भएको थिएन। तर, दोश्रो बाबुको समयमा त निकै डर भयो। दुवै सन्तान बीच ११ वर्षको उमेर अन्तर छ। तनावले दुब्लाएर ३५/३६ केजीको मात्र भएकी थिएँ म।

पहिलो पटक गर्भवती भएको भन्दा अलि बढी वान्ता भएको चैँ अनुभव गरेँ। तर त्यसबाहेक कमजोरी हुने, अप्ठ्यारो हुने केही भएन। यदि मेरो गर्भ खेर जाने स्थिति भएको भए त मलाई शारीरिक रूपमा पनि कमजोरी वा गाह्रो हुन्थ्यो होला नि भन्ने भयो।

‘भएको के हो? किन यस्तो हुन्छ?’ भनेर जानकारी लिन खोज्दा समेत डाक्टरले सिधै ‘अगाडि नै बच्चा जन्माइसकेको मान्छेलाई पनि यो सब भनिराख्न पर्छ र!’ भनेर हप्काउनुभयो। ‘तपाईंहरू आफैँ जान्ने हुनुहुँदो रहेछ’ समेत भनेपछि म र श्रीमान् अक्क न बक्क भयौँ।

गर्भवतीको अवधिभर निकै रिस उठ्ने, रुन मन लाग्ने, अनेकौं भावनाहरू आइरहने समयमा डाक्टरको कुराले झन् तनावमा परेँ म। ‘गाउँमा जस्तो केही काम गर्नुपर्दैन। मलाई गाह्रो पनि भएको छैन। अरु केही विकल्प होला नि! सिधै गर्भपतन त किन गर्नु?’ भनेर पनि सोधेको हो।

तर, उहाँले गर्भपतन बाहेक अर्को विकल्प छैन भन्दै केही भएमा ‘हामी जिम्मेवार हुँदैनौँ’ समेत भन्न भ्याए। डाक्टरसँग कुरा गर्यो कि ‘गाली खान परेको’ जस्तो लाग्थ्यो मलाई त! अनि त्यहि बेला नै ‘भोलि बिहान खाली पेटमा आउने। भर्ना हुने। अनि लेभरमा जाने’ भनेर लेखेरै दियो।

अगाडि नै एक सन्तान छ। अब अर्को सन्तानलाई त्यत्तिकै कसरी खेर फालौँ भन्ने भयो। घरमा आएर मेरो श्रीमान् र मैले लामो समय कुरा गरेपछि इन्टरनेटमा हेर्यौं। डाक्टरले भने अनुसार त्यसबेला मेरो पाठेघरको मुखको आकार जम्मा दुई दशमालव ९ थियो।

गुगलमा हेर्दा गर्भपतन नै गर्न नपर्ने, पछि त्यो बढ्न सक्ने भनेर थाहा पायौँ। त्यहि पनि डाक्टरले त्यत्तिकै त भन्दैन होला भनेर श्रीमानले आफ्नो साथी डाक्टरहरूसँग पनि कुरा गर्नु भयो। उहाँहरूले पनि गर्भपतन नै गर्न नपर्ने भनेर आत्तिन पर्दैन भन्दै सान्त्वना दिनुभयो। अनि हामी त्यो दिन हस्पिटलनै गएनौँ।

नयाँ हस्पिटलमा ‘नर्मल नै छ। यो भन्दा कम भयो भने चैँ निगरानीमा बस्नुपर्छ। तर, गर्भ खेर फाल्न पर्ने सम्भावना कम नै छ’ भन्नुभयो। त्यति भनेपछि त मरो मन नै हलुङ्गो भइहाल्यो नि! अनि मात्र सामान्य दिनचर्यामा फर्किन सकेँ। मेरो वान्ता भइराखेको पनि कम भयो। तौल पनि बढ्दै गयो। नौ महिनासम्म पुग्दा ६० केजी भन्दा बढी भएकी थिएँ।

डाक्टरले दिनुभएको समय अगावै मलाई व्यथा लाग्यो। व्यथा लागे पनि तत्काल अस्पताल गएनौँ। पहिलादेखि नै अस्पताल धेरै जाने ठाउँ होइन जस्तो लाग्छ। पहिलो सन्तान पनि घरमै जनमाएको थिएँ।

दोश्रोमा पनि सकेसम्म अस्पताल नजाने पक्षमै थियौं। तर, अगाडि धेरै कुरा भएको कारण जानैपर्यो। अस्पताल जानेबित्तिकै पनि जन्मने होइन, त्यहाँ पनि व्यथा सहनैपर्छ भनेर घरमै सहेर बसेँ।

घरमा भए तातोपानी, झोलिलो खानेकुरा खान पाइयो। श्रीमान पनि नजिकै हुने भयो। अस्पतालमा श्रीमानलाई सँगै बस्न दिनुहुन्न। फेरि छिन-छिनमा ट्वाइलेट जानुपर्ने हुन्छ। त्यहाँ त बेडबाट तल झर्न समेत दिँदैन भन्ने थाहा थियो। अनि व्यथा लाग्न थालेको अर्को दिन बिहान मात्र गएको। बल्ल दुई घर खुलेको रहेछ। त्यहाँ जाने बित्तिकै सुई रोपेर स्लाइन पानी दिइहाल्यो।

अगाडी त सालनालले बेरेको छ बच्चालाई पनि भन्नु भएको थियो। अप्रेशन गर्नपर्छ होला भनेर फेरि निकै डर लाग्यो। त्यसबेला मेरो प्रेसर पनि ह्वात्तै बढेछ। तर त्यहाँको डाक्टरहरूले डराइदिएका मात्र रहेछन्। अप्रेशन पनि गर्नुपरेन। केही समयपछि मैले नर्मल नै बाबुलाई जन्म दिएँ।

बाबुलाई जन्म दिएपछि बल्ल तनावमुक्त भएँ। भोलिपल्टै डिस्चार्ज पनि भइहालेँ। त्यहि तनावले गर्दा दूध पनि आएको थिएन। तीन दिनपछि मात्र मैले बाबुलाई स्तनपान गराउन पाएँ।

यो अवधिभर श्रीमान् मात्र साथमा हुनुहुन्थ्यो। मैले मेरो आमा र बहिनीलाई खुब सम्झेँ। उहाँहरू मेरो जेठो छोरा हेरेर बस्नुपर्यो। आउन सक्नुभएन। धन्न श्रीमानले सब सम्हाल्नु भयो। नत्र त मलाई धेरै गाह्रो हुन्थ्यो होला। अहिले सानो बाबु दुई महिनाको हुन लाग्यो। डाक्टरको कुरा सुनेर झन्डै उसलाई हामीले गुमाउन परेको जस्तो लाग्छ बेला-बेला। अनि ती डाक्टर सम्झेर निकै रिस पनि उठ्छ।

ठूलो बाबु चितवनस्थित मामाघरमा छ। उसको स्कूल सार्न नमिल्ने भएर त्यतै छोड्न पर्यो। उसको धेरै याद आउँछ नि! जे भए पनि हजुरआमाको काखमा छ भन्ने लाग्छ। तर, कहिलेकहीँ फेरि आफ्नो आमा भएको जस्तो भइरहेको छैन कि जस्तो लाग्छ। अहिले ऊ छ कक्षामा पढ्दै छ। धेरै नै बुझ्ने पनि छ।

मैले सानै उमेरमा जन्म दिएको सन्तान हो ऊ। सानो बाबुको समयमा धेरै मानसिक तनाव भोग्न परे पनि गाह्रो चैँ मलाई ठूलो बाबुको समयमा भएको थियो। उसलाई त अझ मैले घरमै जन्म दिएको हुँ। उसको पालोमा डाक्टरकोमा पनि धेरै गइनँ। एकै पटक ऊ जन्मिएपछि खोप लगाउन चैँ स्वास्थ्यचौकी गएकी थिएँ। बाबु र म स्वस्थ नै थियौँ।

गाउँमा जे पाइन्छ त्यहि नै खाएको हो जेठोको पालामा। जन्मिँदा पनि ठूलो थियो। आफू सानो भए पनि भाइबहिनी हुर्काएको अनुभव काम लागेको थियो। यस्तो हुन्छ, यस्तो गर्नुपर्छ भनेर त मैले आमाको अनि गाउँघरमा अरुले गरेको देखेर पनि जानिसकेको रहेछु।

बाबुलाई जन्म दिएपछि त जिउ हलुङ्गो भएको कारण ठमठम हिडम् जस्तो पो भएको थियो। सुत्केरी स्याहार पनि राम्रो भयो। आफैँ नुहाईधुहाइ गरेर कपडा चेन्ज गरेर बसेको। बाबुलाई देख्ने बित्तिकै निकै माया लागेको थियो। ठूलो नाक थियो उसको। अहिले पनि सम्झना आउँछ। ठूलो बाबु तीन/चार वर्ष भएपछि मैले काम गरेको थिएँ।

काम, घर र बच्चा सम्हाल्न चैँ मलाई हम्मे-हम्मे नै भएको थियो। पहिलो सन्तान र दोश्रो सन्तान जन्माउने बेलामा खुसी बरोबर भए पनि उत्सुकता चैँ त्यति नहुने रहेछ। पहिलो सन्तान देख्दा अर्कै खालको उत्सुकता हुने रहेछ।

अब बाबुको अन्नप्रासनपछि हामी फेरि अमेरिका जाने प्रक्रियालाई अगाडि बढाउने सोचेका छौँ। दुवै बाबुसहित हामी परिवार नै जाने अब। ढिलाचाडो अबको बच्चाले विदेश नै रोज्ने हो। त्यही भएर हामीले नै सहज गरिदिने योजना बनायौँ।

उनीहरूलाई राम्रो शिक्षा दिन सकेर उतै ‘सेटेल’ गर्दिन पाए ढुक्क हुन्छ। आमा बन्न त्यति सजिलो कुरा होइन रहेछ। सानै उमेरमा आमा भएको र अहिले दुईटा सन्तानको आमा हुन पाउँदाको रौनक अर्कै छ। जागिर हुँदा चैँ अलि समय दिन सकिनँ। बाबुलाई जस्तो लाग्थ्यो। तर अहिले सब ठिक छ। मैले आफ्नो मातृत्व अनुभव गाह्रो भए पनि रमाइलो माने।

फागुन १९, २०८१ सोमबार ११:०८:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।