फणीन्द्रको फ्लोर क्रसपछि गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

फणीन्द्रको फ्लोर क्रसपछि गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

पोखरा : माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित नेपाल समाजवादी पार्टीका सांसदले पक्षमा मतदान गरेसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन्।

सोमबारको प्रदेश सभा बैठकमा भएको मतदानमा माओवादी केन्द्रको चिह्नबाट चुनाव जितेका फणीन्द्र देवकोटाले फ्लोर क्रस गरेर पाण्डेलाई विश्वासको मत दिएपछि उनको पक्षमा ३१ मत परेको हो।

लगत्तै सभामुख कृष्णप्रसाद धितालले पाण्डेले मुख्यमन्त्रीमा विश्वासको मत प्राप्त भएको घोषणा गरे। कांग्रेसको २७ मतसँगै राप्रपाको दुई स्वतन्त्र दाबी गर्दै आएका एकीकृत समाजवादीका राजीव गुरुङ र देवकोटाले पाण्डेको पक्षमा मत दिएका थिए।

एमालेको २२ र माओवादी ६ सहित २८ सांसदले विश्वासको प्रस्तावको विपक्षमा मत हाले। राजीव स्वतन्त्र सांसदको हैसियतमा निर्वाचित भएर पछि एकीकृत समाजवादीमा प्रवेश गरेका थिए। 

राजनीतिक दल सम्बन्धी कानुन अनुसार जुन दलको चुनाव चिन्हबाट सांसद निर्वाचित भएको हो उ त्यही दलको सांसद गनिने व्यवस्था छ। यसको आधारमा देवकोटा नेसपाका नेता भए पनि उनी माओवादी केन्द्रको चिन्हबाट निर्वाचित भएकाले माओवादीले चाहेमा फ्लोरक्रस गरेकोमा कारबाही गर्नसक्छ।

जेठ २८, २०८१ सोमबार १७:२३:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।