कपाल जोगाउन मन भए तातोपानीबाट बच्नु

कपाल जोगाउन मन भए तातोपानीबाट बच्नु

अत्यधिक कपाल झर्नुको मुख्य कारण बाहिरी वातावरण र खानपान लगायतका कारण हुन्छन्। मौसम परिवर्तन हुँदा टाउको छालाको नरमपनामा असर गर्दा छाला र कपाल सुख्खा हुन जान्छ, फलस्वरूप कपाल बिग्रन्छ।

कपालमा हाँगा आउने र कपाल धेरै मात्रामा झर्ने गर्छ। अर्को कारण मौसम परिवर्तनमा धेरैजसो कपालमा चायाँ हुन्छ। जसले गर्दा टाउको चिलाउने हुँदा कपाल धेरै मात्रामा झर्ने गर्छ। के कारणले कपाल झरेको हो भने पत्ता लगाउन त्यही अनुसार उपचार गर्नुपर्छ। मौसम परिवर्तन हुँदा कपाल झर्ने कम गर्न चार वटा उपाय अपनाउन सकिन्छ। 

तेल मालिस
कपाल धेरै सुख्खा भयो भने स्क्याल्प र मसाज सबैभन्दा राम्रो उपाय हो। यसले छालामा रक्तसञ्चार बढाउन मद्दत गर्छ। तेल मानिसले कपालको फोलिक्सलाई भित्रबाटै बलियो बनाउन मद्दत गर्छ।

तेल मालिसको लागि जैतुनको तेल, बदामको तेल, नरिवलको तेललाई हल्का तातो पारेर कपालको जरा जरामा मालिस गर्नुपर्छ। तेल तातो बनाउँदा आगोमा धेरै राखेर तताउनु हुँदैन। तेल कचौरामा राखेर तातोपानीमाथि कचौरा राखेर तताउनु पर्छ।

हल्का तातो तेलले मालिस गर्दा कपालको जरामा रक्तसञ्चार राम्रो हुने हुँदा सधैँ कपालको कर्याटिकलको लागि राम्रो पोषण दिने हुँदा नियमित रूपमा तेलले मालिस गर्नु आवश्यकता हुन्छ।

आजभोलि तनावपूर्ण जीवन, दैनिक जीवनशैली असन्तुलन भोजन, मौसमको परिवर्तनको कारणले गर्दा पनि कपाल सामान्य भन्दा अलि बढी नै झर्ने गर्छ। दैनिक ५०–१०० कपाल झर्नु साधारण मानिन्छ तर १०० भन्दा बढी कपाल झरेमा कपाल सम्बन्धी विशेषज्ञसँग देखाउनु पर्छ।

स्वस्थ आहार र स्वस्थ जीवन
हामीले खाने दैनिक आहार आवश्यक खनिज र कपाललाई चाहिने अन्य पोषक तत्त्वहरूको कमीसँगै अस्वस्थ आहारले कपाल धेरै झर्ने गर्छ। अस्वस्थ आहारले पोषणको कमीले गर्दा नयाँ कपाल उम्रन समस्या हुन्छ।

त्यसकारण स्वास्थ्यकर खानेकुरा जसमा प्रोटिन, जिङ्क खनिज, बायोटिन, केरोटिन आदिको मात्रा भएको खानेकुरामा प्राथमिकता दिनुपर्छ। विशेषगरी जाडो मौसममा पानी कम पिउनाले पनि हाम्रो शरीर डिहाइड्रेसन हुन जान्छ।

जसले गर्दा कपाल धेरै नै सुख्खा भई कपाल कमजोरहुँदा धेरै झर्ने समस्या हुन्छ। यसका लागि झोलिलो खानाको मात्रा बढाउनु पर्छ। 

कपालको प्रकार अनुसार सही प्रडक्टको छनोट 
हामीले दिनहुँ प्रयोग गर्ने कपाल सम्बन्धी प्रडक्ट जस्तो तेल, स्याम्पु , कन्डिसनर, ट्रिटमेन्ट आदि हुन्छन्। जाडो मौसम र गर्मी मौसममा प्रयोग हुने कपाल सम्बन्धी सामग्रीका लागि आफ्नो कपालको प्रकृति के हो भने जान्न जरुरी हुन्छ। सुख्खा, सामान्य, चिल्लो आदी कपालको प्रकृति हुन्छ।

जाडो मौसममा धेरै जसोको कपालमा चायाँ पर्ने गर्छ। यदि हामीले एन्टि ड्यान्ड्रफ स्याम्पु प्रयोग गरिरहेको छौँ भने लामो समयसम्म प्रयोग गर्नु हुँदैन। यदि लामो प्रयोग गरेमा कपाललाई हानी गर्छ। त्यसकारण मौसम परिवर्तनसँगै कपालको प्रकृतिमा पनि परिवर्तन हुने भएकाले कपालको प्रकृति अनुसार प्रयोग गर्ने सामाग्री समेत परिवर्तन गर्नुपर्छ।

तातोपानीबाट नुहाउन बच्नुहोस्
प्रायः जसो मौसममा कपाल नुहाउन तातोपानीको प्रयोग गर्दा विशेष ध्यान दिनुपर्छ। तातोपानी धेरै प्रयोग गर्दा कपाल सुक्खा बनाउँछ। यसबाट जोगिन धेरै तातोपानी प्रयोग नगरी मनतातो पानी प्रयोग गर्नुपर्छ। विशेष गरी महिलाको कपालमा तातो उपकरणहरू धेरै प्रयोग हुनसक्छ। यसबाट जोगिनुपर्छ।

कपालमा विभिन्न खालको कलरको प्रयोग गर्दा पनि सुक्खापन बढाउँछ। कर्ली बनाउन या अन्य प्रयोजनका लागि तातो उपकरण प्रयोग गर्दा हिट प्रोटेक्सन सामाग्रीको प्रयोग गरेर मात्र प्रयोग गर्नुपर्छ। सकेसम्म यस्ता हिट स्टाइलिङ टुल्सको प्रयोग कम प्रयोग गर्नुपर्छ।

कपाल केराटिन, प्रोटिन  र हेलिकल प्रोटिनले बनेको हुन्छ। जसरी छालाले हाम्रो शरीरको सुरक्षा गर्छ त्यसैगरी कपालले पनि हाम्रो छालाको सुरक्षा गरिरहेको हुन्छ। कपालले चिसो वा तातोबारे टाउकोलाई जोगाएर एउटा निश्चित तापक्रममा राखिरहन सहयोग गर्छ।

हाम्रो शरीरको कपाल सबैभन्दा छिटो बढ्ने तन्तु हो। हाम्रो शरीरको छालामा भएको कपालले छाला र शरीरलाई सुरक्षा दिने काम गर्छ। कपाल वा शरीरको रौँले चिसो र तातो दुवैसँग सन्तुलन मिलाउने काम गर्छ। चिसो मौसममा यसले शरीरलाई न्यानो राख्ने काम गर्छ। गर्मी मौसम शरीरलाई बाह्य तापक्रमबाट जोगाउन काम गर्छ।

यस्तै मौसमको परिवर्तन सँगै नुहाउँदा सामान्यतया अलि अलि कपाल झर्नु सामान्य नै हो। मौसम परिवर्तन हुँदा छालामा पनि परिवर्तन हुन्छ। त्यसले कपालमा पनि परिवर्तन गर्छ नै।

महत शौन्दर्यविज्ञ तथा फेसिनेटेड ब्युटी ट्रेनिङ सेन्टरकी प्रमुख हुन् उनले हेल्थ एन्ड ब्युटी नाम पुस्तक समेत लेखेकी छिन्।

जेठ ७, २०८१ सोमबार ०९:५४:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।