रविको चुनौती स्वीकार्दै गगन : 'सहकारी ठगी पुष्टि नभए राजनीति छोडिदिन्छु, समिति नबने कांग्रेस सडकमा आउँछ'

रविको चुनौती स्वीकार्दै गगन : 'सहकारी ठगी पुष्टि नभए राजनीति छोडिदिन्छु, समिति नबने कांग्रेस सडकमा आउँछ'

काठमाडौं : नेपाली कांग्रेस महामन्त्री गगन थापाले सहकारी अनियमिततामा गृहमन्त्री रवि लामिछानेको संलग्नता पुष्टि नभए आफू राजनीति छाड्न तयार भएको बताएका छन्।

शुक्रबारको प्रतिनिधिसभा बैठकपछि गृहमन्त्री लामिछानेले आफूले ऋण लिएको प्रमाणित गर्न महामन्त्री थापालाई चुनौती दिएका थिए। ऋण लिएको प्रमाणित गरे आफूले राजनीति छाड्ने र प्रमाणित नभए राजनीति छाड्न तयार हो भनेर लामिछानेले थापालाई प्रश्न गरेका थिए।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस महामन्त्री थापाले पनि छानबिन गर्न संसदीय छानबिन समिति बनाए जुनसुकै चुनौती स्वीकार गर्ने बताए।  

‘संसदीय समितिबाट प्रमाणित गरे भइहाल्यो नि। गगन थापालाई मात्र किन कांग्रेसलाई लज्जित गराइहाल्नुस्,’ उनले भने, ‘पुष्टि भयो भने तपाईंले छोडे पनि हुन्छ। कहिले महान्यायाधिवक्ता, कहिले प्रहरी प्रमुखलाई बोल्न लगाउनै पर्दैन। संसदीय छानबिन समितिको नेतृत्व जसले गरे पनि हुन्छ। त्यहीँबाट पुष्टि गरे भइहाल्छ।’

उनले आफ्नाबारेमा पनि आरोप लागेको उल्लेख गर्दै छानबिन गर्न समिति बनाइदिए हुने बताए। गृहमन्त्री लामिछानेले राज्यका संयन्त्रहरू  प्रयोग गरेर प्रमाण लुकाइसकेको उनको दाबी छ। 

'केपी ओलीले माया गर्नुभएको छ, प्रधानमन्त्रीले माया गर्नुभएको छ, प्रहरी प्रमुख बोल्नुभएको छ, महान्यायाधिवक्ता लगाउनुभएको छ,' थापाले भने, 'त्यति हुँदा पनि हामीले  संसदीय समिति बनाउँ भन्दा भागेको भाग्यै किन? सरकारको तर्फबाट महान्यायाधिवक्ताले तहकिकात भएको ठाउँमा गएर बोल्न पाउँछ? अहिलेको महान्यायाधिवक्तालाई मुद्दा हालिदियो भने लाग्छ भनेर पूर्व महान्यायाधिवक्ताले भन्नुभएको छ। यस्तो काम सरकारले गर्न मिल्छ?'

अब संसदीय समिति नबनेसम्म संसद् नचल्ने थापाले बताए।
 
पेलेर जान खोजे यो विषय संसदमा मात्र सीमित नहुने भन्दै कांग्रेस महामन्त्री थापाले भने, 'संसद्बाट अब सडकमा आउँछ। पुष्टि भएन भने मैले राजनीति छोडिदिन्छु। चुनौती मैले स्वीकार गरिसकेँ। नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएका बेलाको अनुसन्धान रिपोर्ट किन लुकाउनुभएको? त्यतिमात्रै बताइदिए हुन्छ। बुटवल वा पोखरामा भइरहेको अनुसन्धान किन रोकिएको?' 

२८ बैशाख, २०८१, २०:५१:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।