'गगनजी, फारम भरेर सहकारीबाट ॠण लिएको प्रमाणित गर्नुस्, राजनीति छोडिदिन्छु, तपाईं तयार हो?'

'गगनजी, फारम भरेर सहकारीबाट ॠण लिएको प्रमाणित गर्नुस्, राजनीति छोडिदिन्छु, तपाईं तयार हो?'

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि लगाएको आरोप प्रमाणित गर्न नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई चुनौती दिएका छन्। 

शुक्रबार सामाजिक संजालमार्फत गृहमन्त्री लामिछानेले आफूले फाराम भरेर सहकारीबाट ॠण मागेको/लिएको प्रमाणित गर्न प्रतिपक्ष दल कांग्रेस र महामन्त्री थापालाई चुनौती दिएका हुन्। थापाको नामै लिएर लामिछानेले उक्त आरोप प्रमाणित गरे आफूले राजनीति नै छोडिदिने भन्दै 'आरोप प्रमाणित नगरे तपाईं राजनीति छोड्न तयार हो ?' भन्दै प्रश्न गरे। 

लामिछानेले लेखेका छन् , 'मैले खुद आफैले फारम भरेर उक्त सहकारीबाट ॠण मागेको/लिएको प्रमाणित गरिदिनुस्, म राजनीति छोडिदिन्छु। प्रमाणित नगरे तपाईं राजनीति छोड्न तयार हो?' 

उनले आफू संसदीय छानबिन समितिसँग नडराएको बरू कांग्रेस उल्टै सहकारी समस्यासँग गम्भीर नभएको आरोप लगाएका छन्। 

'किर्ते कागज र काइते तर्क दिएर गोलमटोल जवाफ दिन पाइँदैन। म संसदीय छानबिनसँग र तपाइँहरुको देश डुबाउने राजनीति सँग डराएको छैन, तर मलाई मात्र एकपटक बोल्न दिन तपाईँहरू चाहिँ  किन डराएको? डर र रबि लामिछाने एकै ठाउँमा बस्दैनन् थापाजी। एक पटक बोल्न त दिनुस्, संसदीय छानबिन समिति मागको दोकान तत्काल बन्द हुन्छ। तपाईँहरुलाई सहकारी पीडितको मुद्दासँग कुनै सरोकार छैन, तपाईँहरुलाई केवल मलाई बदनाम गराउनु छ', उनले लेखेका छन्।  

संसदीय छानबिन समिति भन्दा पनि संसदमा बोल्न पाउनुपर्ने उनको माग छ। 
 
रास्वपाका सभापति समेत रहेका लामिछानेले आफूले कसैलाई ठगि नगरेको जिकिर गरे। 

२८ बैशाख, २०८१, २०:१९:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।