प्रधानमन्त्रीले फोन उठाएर र संसद्मा बोलेर नतिजा आउँदैन : बुर्लाकोटी

प्रधानमन्त्रीले फोन उठाएर र संसद्मा बोलेर नतिजा आउँदैन : बुर्लाकोटी

पर्वत : राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जनताको निराशालाई आशामा बदल्न काम नै गरेर देखाउनुपर्ने भएकाले प्रधानमन्त्री संसद्मा आउन नभ्याएको दाबी गरेका छन्।

पर्वत सदरमुकाम कुश्माबजारमा शुक्रबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले काम गर्ने बेलामा फोन उठाएर र संसद्मा बोलेर मात्रै नतिजा दिन नसकिने भएकाले प्रधानमन्त्री काममा केन्द्रित भएको स्पष्ट पारे।

बुर्लाकोटीले राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाली जनतालाई कुनै पनि हालतमा निराश हुन नदिने प्रतिबद्धता व्यक्त गरे। नागरिकले चाहेजस्तो शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासनका क्षेत्रमा सरकारले प्रभावकारी रूपमा काम गरिरहेको दाबी गर्दै उनले सरकारको परिणाम हेर्न कम्तीमा छ महिना पर्खिन आग्रह गरे।

देशमा व्याप्त बेतिथि र विसङ्गतिको जालो तोड्न नेपाली जनताले पार्टीलाई करिब दुई तिहाइको बहुमत दिएर सरकारमा पठाएको उल्लेख गर्दै बुर्लाकोटीले विपक्षी दलहरूले जतिसुकै विरोध गरे पनि सरकार ती चुनौती चिर्न सफल हुने बताए। उनले अहिलेको सरकार जनअपेक्षा अनुसार नतिजामुखी काम गर्न दृढ रहेको समेत उल्लेख गरे।

जेठ ८, २०८३ शुक्रबार २२:०६:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।