स्वीस सरकारले नेपाललाई १ अर्ब ३२ करोड सहयोग गर्ने

स्वीस सरकारले नेपाललाई १ अर्ब ३२ करोड सहयोग गर्ने

काठमाडौं : स्वीस सरकारले नेपालमा पर्यटन प्रवर्द्धनका लागि लागि ९.०१ मिलियन स्विस फ्र्यांक (१ अर्ब ३२ करोड रूपैयाँ) आर्थिक सहयोग गर्ने भएको छ।

अर्थमन्त्रालयमा बिहीबार आयोजित एक कार्यक्रममा अर्थ सह-सचिव श्रीकृष्ण नेपाल र नेपालका लागि स्विस राजदूत डा. डेनियल मेउलीले पदयात्रामा आधारित पर्यटन परियोजनामा सहयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन्। 

यसै वर्षदेखि सुरू हुन लागेको चार वर्षे परियोजनाले कोशी प्रदेशका २९ स्थानीय तहका करिब १ लाख स्थानीयवासीलाई प्रत्यक्ष लाभ पुर्याउने लक्ष्य लिएको छ। यस परियोजनाले स्थानीय कला, संस्कृतिको संरक्षण, स्थानीय उत्पादन प्रवर्द्धन, रोजगारीका अवसरहरू सिर्जना गर्न र दिगो पर्यटन अभ्यासहरूलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा राजदूत मेउलीले आयोजनाले दिगो पर्यटन विकास र स्थानीय अर्थतन्त्रलाई प्रवर्द्धन गर्न कोसेढुंगाको रुपमा काम गर्ने विश्वास व्यक्त गरिन्। 

उनले आयोजनाको कार्यान्वयनले वातावरणमैत्री सामाजिक–आर्थिक प्रगतिमा उल्लेख्य योगदान पुग्ने बताइन्। 

अर्थ सह-सचिव नेपालले सन् २०२८ सम्म चल्ने यस आयोजनाले १६ वटा पदमार्ग निर्माणका लागि कोसेढुंगा साबित हुने बताए।  

२७ बैशाख, २०८१, १९:००:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।