भन्सार छली गरी भारतीय दुग्धजन्य पदार्थ निर्वाध भित्रिंदै, नेपाली उत्पादनको व्यापार चौपट

भन्सार छली गरी भारतीय दुग्धजन्य पदार्थ निर्वाध भित्रिंदै, नेपाली उत्पादनको व्यापार चौपट

काठमाडौं :  भन्सार छली गरी भारतीय बजारबाट छ्यापछ्यापी रुपमा दूध र दुग्धजन्य पदार्थ भित्रनेक्रम नरोकिएपछि स्वदेशी उत्पादन प्रभावित बनेको छ। दूध संकलन, प्रशोधन, भण्डारण, प्याकेजिङ र गुणस्तर कायम राख्न अपनाइने विभिन्न प्रविधिहरूका कारण आफूहरूको लागत बढी पर्ने व्यवसायीको भनाइ छ।

भारतबाट निर्वाध भित्रिने र बजारमा खुला रुपमा पाइने दुग्धजन्य पदार्थका लागि भने त्यस्तो खर्च नहुने भएकाले तुलनात्मक
रुपमा सस्तो पाइने गरेको उनीहरू बताउँछन्। त्यही भएर स्वदेशी उत्पादनभन्दा आयातीत पदार्थमा उपभोक्ता आकर्षित हुने गरेको पाइन्छ।

एकातिर उचित प्राविधिक रेखदेखबिना प्रशोधन नगरिएका पदार्थ गुणस्तरहीन पदार्थ प्रयोग गर्नुपर्दा उपभोक्ताको स्वास्थ्य जोखिममा हुने देखिएको छ भने अर्कातिर गुणस्तरयुक्त भएर पनि स्वदेशी उत्पादनले राम्रो बजार नपाइरहेका अवस्था छ।

भारतीय सामग्रीका कारण कोशी प्रदेशमा एक अर्ब रूपैयाँभन्दा बढीको नेपालमा उत्पादित दुग्धजन्य पदार्थ बिक्री हुन नसकेको व्यवसायीहरूको भनाइ छ। ती पदार्थ विभिन्न डेरी उद्योगका गोदाममा थन्किएको छ। कोशी प्रदेशमा रहेका दर्जनभन्दा बढी डेरीहरूमा नौनी घिउ, पाउडर दूध, छुर्पी, चिज जस्ता पदार्थहरू बिक्री नभएर थन्किएको हो।

भारतबाट नेपालमा भित्रिने दुग्धजन्य पदार्थ भन्सार छली गरिएको र कर समेत तिर्नु नपर्ने भएका कारण त्यससँग स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न नसक्ने भएकाले डेरी उद्योगहरू संकटमा परेका हुन्।

सुनसरीको तरहरास्थित कामधेनु दुग्ध विकास सहकारी संस्था लिमिटेडबाट उत्पादित दुग्धजन्य पदार्थहरू नौनी घिउ, पाउडर दूध र चिज गरी करिब १२ करोड रुपैयाँ बराबर सामग्री बिक्री हुन नसकेको अध्यक्ष यादव ढकालले बताए।

ढकालले भारतबाट आउने दुग्धजन्य पदार्थहरूसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसकेपछि डेरी उद्योगहरू धराशायी बन्ने अवस्था आएको बताए। यहाँ उत्पादन भएको दुग्धजन्य पदार्थहरूको लागत मूल्य नै अत्यधिक भएपछि बिक्री मूल्य स्वाभाविक रुपमा केही बढी हुने गरेको अध्यक्ष ढकालको भनाइ छ।

गत फागुनमा नेपाल सरकारले दूधको मूल्यमा प्रति लिटर १२ रुपैयाँ बढाएर कृषकले ६५ रुपैयाँ पाउने व्यवस्था गरेको थियो। सरकारले मूल्य बृद्धि गरेपछि डेरी उद्योगहरूले पनि मूल्य प्रति लिटर एक सय रुपैयाँ पुर्याएका थिए।

रितिका डेरी मेचीनगरका सञ्चालक योगेन्द चिमरियाले डेरी उद्योगहरूमा देखा परेको अघोषित मिल्क होलीडेका कारण दैनिक ३० हजार लिटर कृषकहरूबाट लिने गरेकोमा हाल प्रतिदिन २२ हजार लिटर मात्र दूध संकलन गर्ने गरिएको बताए। यहाँका ठूला बिस्कुट उद्योगलगायत दुग्धजन्य पदार्थहरू  खपत गर्ने संस्थाहरू समेत भारतीय दूधमै भर परेका कारण स्थानीय व्यवसायी समस्यामा परेको उनको भनाइ छ।

कोशी प्रदेशलाई पूर्ण रुपमा दूधबाट आत्मनिर्भर प्रदेशका रुपमा मानिन्छ। जीवन विकास डेरी प्रोडक्ट्स प्रालि विराटनगरका सञ्चालक विजयकुमार मण्डलले डेरीहरूले प्याकेजिङ गर्दा दूधको मूल्य उच्च हुने गरेका कारण बजारमा जाने मूल्य केही बढी हुने गरेको बताए। यहाँ जनस्तरबाट सञ्चालित डेरीहरूले मात्रै प्रतिदिन एक लाख लिटरभन्दा बढी दूध संकलन गर्दै आएका छन्। त्यसबाहेक अरु स-साना डेरीहरूले दैनिक ३५ देखि ४० हजार लिटर दूध संकलन गर्ने गरेका छन्।

कोशी प्रदेशमा दैनिक ५ लाख २५ हजार १५५ लिटर दूध उत्पादन हुने अनुमान छ। यो प्रदेशमा दूधको प्रतिव्यक्ति उपलब्धता वार्षिक ९२ लिटर छ भने आवश्यकता ७१ लिटरमात्रै हो। अघिल्लो आर्थिक वर्षको तथ्याङ्कअनुसार कोशी प्रदेशमा दूध दिने गाईको संख्या ५ लाख १० हजार ३२ छ भने भैँसीको संख्या २ लाख ८७ हजार ९६८ छ।

स्वदेशी डेरी उद्योगहरूलाई सहयोग गर्न संघीय, प्रदेश सरकार र स्थानीय तहले पहल गर्नुपर्नेमा व्यवसायीहरूको जोड छ। भारतीय गुणस्तरहीन सामग्री भित्रनबाट रोक्न प्रहरी प्रशासन र अरु सम्बद्ध निकायहरूले निगरानी गर्नु महत्वपूर्ण हुने देखिएको छ। 

२७ बैशाख, २०८१, १४:३१:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।