लेखकलाई प्रश्न : 'कांग्रेसले रविलाई प्रधानमन्त्रीमा अफर गरेको हो?'

लेखकलाई प्रश्न : 'कांग्रेसले रविलाई प्रधानमन्त्रीमा अफर गरेको हो?'

काठमाडौं : नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अफर नगरिएको बताएका छन्। 

बुधबार पत्रकारसँगको कुराकानीमा प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’बाहेक कसैलाई पनि प्रधानमन्त्रीको पत्र नदिएको दाबी गरेका हुन्। 

'पुष्पकमल दाहाल ‘प्रचण्ड’जीलाई प्रधानमन्त्री एसेप्ट गरेकै हो। उहाँलाई चिठी भन्नुहुन्छ कि के भन्नुहुन्छ लेखेर दिएकै हो,' उनले भने, 'त्यसपछि हामीले अर्कोलाई अहिलेसम्म दिइसकेका छैनौँ। आफैँ लिने भन्ने पनि अहिलेसम्म कुरा भइसकेको छैन।' 

त्यस्तै, उनले एमाले र कांग्रेस मिलेर सरकार बनाउने विषयमा पनि औपचारिक छलफल नभएको बताए। 

'एमालेसँग सरकार बनाउने कुरामा अहिलेसम्म कुनै छलफल भएको छैन। तर अहिले आम रूपमा ठूला दलहरू मिलेर सरकार बनाए हुन्थ्यो भन्ने धारणा आउन थालेको छ', लेखकले भने, 'साना साना दलहरू लिएर सरकार बनाउँदा सरकार अस्थिर भयो भन्ने धारणा जनमानसमा छ, एमाले, कांग्रेसमा पनि छ। तर अहिलेसम्म कांग्रेस एमालेको सरकार बनाउने विषयमा कुनै छलफल भएको छैन।' 

२६ बैशाख, २०८१, १४:३४:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।