सहकारी प्रकरणलाई लिएर नवनियुक्त सांसद् नेम्वाङ भन्छन्- ‘संसद् राम्रोसँग चल्न दिनुपर्छ’

सहकारी प्रकरणलाई लिएर नवनियुक्त सांसद् नेम्वाङ भन्छन्- ‘संसद् राम्रोसँग चल्न दिनुपर्छ’

काठमाडौं : एमालेका नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले बुवाले देखाएको इमान र निष्ठाको राजनीतिक बाटोमा हिँडेर सबैसँग सहकार्य गर्दै इलामको समस्या समाधान गर्न विशेष जोड दिने बताएका छन्।

पद तथा गोपनीयताको शपथ ग्रहणपछि सञ्चारकमीहरूमाझ कुरा गर्दै समन्वयकारी भूमिका खेलेर त्यसलाई कसरी पूर्णता दिन सकिन्छ भनेर कानून कार्यान्वयन गर्न एकताबद्ध लाग्नुपर्ने बताए।

उनले भने, ‘बुवाले देखाउनुभएको इमानको बाटोमा निष्ठापूर्वक ति सबै कामलाई पूर्णता दिने गरेर म अगाडि बढ्छु।’

आफूले इलामको विकासमा प्राथमिकता दिएर सघीय संसदमा कृषि, शिक्षा, पर्यटन लगायतका क्षेत्रमा ऐन निर्माण वा संशोधन गर्नु आवश्यक भए त्यसमा पहल गर्नेमा उनले जोड दिए।

‘इलामको समस्या समाधानका लागि संसदमा मैले के गर्नुपर्छ भन्नेमा मेरो विशेष ध्यान हुन्छ। साथै इलामको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनसँग जोडिएका एन कानून निर्माणदेखि परिमार्जन सम्ममा ध्यान दिएर अगाडि बढ्नुपर्छ’, सांसद नेम्वाङले भने।

सहकारी रकम हिनामिना प्रकरणमा कांग्रेसले राखेको संसदीय समिति गठनको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले भने, ‘हरेक कुराको हल संवादबाटै हुन्छ। त्यसैले संवाद गर्ने सौहार्दपूर्ण वातावरण बनाएर संसदलाई राम्रोसँग चल्न दिनुपर्छ भन्ने लाग्छ।’

बुधबार सिंहदरबारस्थित कृषि समितिको सभाहलमा सभामुख देवराज घिमिरेलेले उनलाई शपथ दिलाएर सांसदको प्रतिक चिह्न प्रदान गरेका थिए।

सो अवसरमा सचिवालयका कर्मचारीहरूले सांसद नेम्वाङलाई नेपालको संविधान/ऐन/नियमका सामग्री प्रदान गरे।

कार्यक्रममा उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, रक्षामन्त्री हरिप्रसाद उप्रेती, विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायत उपस्थित जनाएका थिए।

नेम्वाङ गएको वैशाख १५ गते भएको उपनिर्वाचनमा इलाम-२ बाट निर्वाचित भएका सांसद हुन्।

२६ बैशाख, २०८१, १३:५१:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।