चौथो अंग : मल्टिमिडिया टक-शो मै सीमित भए, विदेशी मिडियाले यहीँबाट राम्रो भिडियो स्टोरी बनाउँदा हामी किन गर्दैनौं?
२०७७ सालमा कोरोना महामारी ह्वात्तै बढ्यो। अस्पताल बिरामीले भरिन थाल्यो अनि आर्यघाट शवले। कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको शव आफन्तीले जलाउन पाएका थिएनन्। नेपाली सेनाले कोरोना संक्रमितको शव अन्त्येष्टी गर्थ्यो। शव कसरी अन्त्येष्टी गरिन्छ भन्नेबारे आम मान्छेलाई थाहा हुनुपर्छ भन्ने मलाई लाग्यो। सेनासँग अनुरोध गरेँ।
धेरै नै अनुरोधपछि शव व्यवस्थापनमा खटिएका नेपाली सेनाका प्यूठ रूपनारायण श्रेष्ठलाई फलो गरेँ। २०७७ साल भदौ २७ गते विहानदेखि साँझसम्म उनलाई पछ्याएँ। नारायणहिटी दरबार संग्रहालयमा सेनाको क्याम्प थियो। शव व्यवस्थापन टोली अलग्गै बस्थ्यो।
त्यो टोलीले गंगालाल अस्पताल, मेघा अस्पताल र पाटन अस्पतालबाट शव ल्याउँदै अन्त्येष्टी गर्थ्यो। सुरक्षाकर्मीहरू न्यूनतम् सुविधामा यो काम गरिरहेका थिए। उनीहरूसँग पर्याप्त मात्रामा पीपीई सेटसमेत थिएन।
एउटै पीपीई लगाएर दिनभरी काम गर्दा उनीहरू साँझसम्म गर्मीले यति पाक्थे की कुरै नगरौँ। व्यक्तिगत रूपमा उनीहरूलाई गाह्रो त थियो नै, त्यसमाथि संक्रमणबाट मृत्यु भएकाहरूको आफन्तलाई पनि सम्झाउँथे उनीहरू।
पत्रकारको काम बाहिर नआएको कुरा खोतल्नु हो। जति बेला पनि कामको लागि तयारी अवस्थामा रहनु, जस्तो सुकै चुनौती भोग्न पनि तयार हुनु नै पत्रकार हुनु हो। आजको इभेन्ट के छ भनेर सोध्दै हिँड्ने होइन पत्रकारले। कतिपय काम त आफैँले के गर्ने?, कसरी गर्ने? भनेर सोचेर पनि गर्नुपर्छ।
जतिबेलै कामको लागि तयार हुनुपर्छ
२०६९ सालमा दाङको एक रेडियोमा टेक्निसियनबाट मैले मिडिया क्षेत्रको काम थालेँ। काठमाडौं आएपछि पनि स्टार एफएममा काम गरेँ। त्यसपछि केही अनलाइनमा काम गरेँ/गरिरहेकै छु। अनलाइनमा काम गर्दा भिडियोदेखि फोटो स्टोरीसम्मको बारेमा अझ बढी सिक्न पाएँ।
फोटो पत्रकारले इभेन्टको मात्रै ख्याच्च फोटो खिच्ने होइन, फोटो स्टोरीमा बढि लाग्नुपर्छ। फोटो स्टोरी गर्ने भनेपछि के विषयमा खिच्न खोजेको हो, कसरी काम गर्ने हो, कस्तो पात्र हो भन्नेबारेमा शुरूमै स्पष्ट हुनुपर्छ।
रमाजानमा रोजा बस्ने महिलाहरूको स्टोरी गर्न मन लाग्यो। काठमाडौं बस्ने स्रना बानु शाहसँग दिनभरी बस्न मन गरेँ। उहाँले श्रीमान्सँग सल्लाह गरेपछि रमाजानमा रोजा बस्नेको स्टोरी गरेँ। मस्जिदमा पुरुषहरू गएर नमाज पढ्छन्, महिलाहरू भने घरमै। त्यसैले पनि मैले स्टोरी बनाउन खोजेको थिएँ। उहाँको बिहान उठेदेखि राती नसुतुन्जेल सम्मको स्टोरी गरेँ।
भन्न खोजेको के भने, फरक खाले स्टोरी सोच्नुपर्छ। सधैँ एउटै खाले स्टोरी गर्नुभन्दा फरक-फरक गर्नु राम्रो हुन्छ। फोटो पत्रकारलाई स्टोरी आइडिया कसैले थपक्क ल्याएर राखिदिने होइन, सधैँ असाइन गर्ने कुरा पनि होइन। यो त आफैँ सोच्ने कुरा हो। जति आफ्नो दिमाग खियाइयो, उति राम्रो। कोरोनाका बेला अन्यले घरमा बसेर काम गर्दा फोटो पत्रकार फिल्डमा उत्रिन पर्यो। नत्र देखाउने कुरा हुँदैन, भूकम्पका बेला त्यस्तै।
नेपाली सेनाको कार्यक्रम भइरहेको थियो। मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटनामा मृत्यु भयो भन्ने खबर आयो। नेपाली सेनाले ४/५ जना पत्रकार लैजाने कुरा भयो।
को-को जाने भनेर सोध्दा मैले पनि हात उठाएँ। म लगायत अन्य फोटो पत्रकारलाई सेनाले ताप्लेजुङ लिएर गयो। अकस्मात् जानुपरेको थियो। कुनै तयारी थिएन।
भन्न खोजेको के भने, जुन बेला जे सुकै काम पनि पर्नसक्छ। फोटो पत्रकार जतिबेला जे पनि पर्नसक्छ भनेर आफूलाई चाहिने ब्याकअप सहित तयारी अवस्थामा बस्नुपर्ने रहेछ। हामी कति तयारी अवस्थामा बस्छौँ भन्ने कुराले कामप्रतिको सिरियसनेस देखिन्छ।
मल्टिमिडियामा टक शोमा सीमित
अहिले धेरै मिडियामा मल्टिमिडियाको समूह छ। तर, मल्टिमिडियालाई हामीले राम्रोसँग बुझ्न सकिरहेका छैनौँ। युट्युबमा अनेकथरी व्यक्तिगत भिडियोले भरिँदा हामी मूलधारका मिडियाले समाचारका कन्टेन्टले भर्न सकेनौँ।
युट्युबका आएका विभिन्न कन्टेन्टले गर्दा अहिले मिडिया भन्ने बितिक्कै अर्काको घर बिगार्ने भनेर चित्रित हुन थालेको छ। पत्रकारलाई अनेक उपमा लगाउन थालिसकियो।
फेरि अर्को कुरा, मूलधारको मिडियाले मल्टिमिडियालाई टक शोमा सीमित गराउन खोज्दैछन्, यो कुरा गलत हो। मल्टिमिडियामा फोटो प्ले गरे पनि हुन्छ, डेटा प्ले गरे पनि हुन्छ। हामी भने अन्तर्वार्तामा मात्र सीमित भयौँ।
अर्को कुरा हामीले स्टोरी गर्नलाई फराकिलो सोच पनि बनाउन नसकेका हौँ। विदेशी मिडियाले पाठेघर खसेका महिलाको राम्रो भिडियो स्टोरी गर्न सक्छ भने हामीले किन सकेका छैनौँ?
उमेरै नपुगी बच्चा पाएका, बिरामी हुँदा एकपटक पनि स्वास्थ्य संस्थाको मुख नदेखेकाहरूको विषयमा हामीले स्टोरी नै गर्न सकेका छैनौँ। विदेशी मिडियाको जति स्रोत त नहोला, तर स्टोरी एङ्गलिङ गर्न सकिन्थ्यो होला नि त!
हामीले फरक गर्न नसक्नुमा फोटो/भिडियो पत्रकार र रिपोर्टरबीचको समन्वयको अभाव पनि हो। रिपोर्टरहरू कुन विषयमा आफूले लेख्न खोजेको हो नभन्ने, फोटोपत्रकार पनि कुरा गर्न नरुचाउने। दुईबीचको समन्वय भएको देखिँदैन।
समाचार कक्षमा त व्यापक छलफल हुनुपर्ने हो नि! तर त्यस्तो देखिँदैन। छलफलविना सतही काम गर्न सकिए पनि गहिरिएर समाचार र भिडयोहरू उत्पादन गर्न सकिँदैन। जति छलफल भयो, त्यति धेरै एङ्गलहरू आउँछन्। हामीले समाचारमा छलफल गर्दैनौँ। कुरा त गर्छौं, तर विषयवस्तु बाहिरका।
ग्रुपिजम खतरनाक
नेपाली पत्रकारितामा ग्रुपिजम अलि बढी नै हावी छ। त्यसमाथि केही फोटो पत्रकारको पनि ग्रुपिजम छ।
सुरूमा फोटो पत्रकारिता गर्नेलाई प्रोत्साहनभन्दा बढी बुलिङ गर्ने, ‘यति पनि नआउने’ भनेर होच्याउने अवस्था छ। अझ महिला छ भने त चारित्रिक रूपमा आक्षेप लगाउनेसम्मका काम गर्छन्। त्यस्ता व्यक्तिका कारण फोटो पत्रकारिता बदनाम भइरहेको छ।
फोटो पत्रकारितालाई बदनाम गराउनभन्दा फोटो क्याप्सन लेख्न सिक्दा हुन्छ केही फोटो पत्रकारले। महिला हुन् या पुरुष नेतृत्वमा पुग्न क्षमता हुन जरुरी छ। आफूसँग नभएको क्षमता तिखार्ने अनि नेतृत्व लिने। हामीले क्षमता तिखार्ने न हो, ग्रुपिजम गर्दै नेता हुने होइन।
पत्रकार महासंघ होस् या विटगत पत्रकारका झुण्ड हुन्, सीप तिखार्न बन्ने नै होइनन्। उचाल्न र पर्छान बन्ने हुन् यस्ता संस्था। संस्थाको उद्देश्य राम्रै होला, तर कामले देखिएको छ त? समाचार रोक्न बिट पत्रकारको संस्था बन्ने त होइन होला।
ग्रुपिजम छाड्ने, फरक-फरक फोटो स्टोरी एंगल ल्याउने, मल्टिमिडियामा आफूलाई पोख्त बनाउँदै लैजाने, मिडियाले पनि स्टोरीमा लगानी गर्ने हो भने हाम्रो पत्रकारिता निकै राम्रो हुन्थ्यो। पत्रकारितामा आएको दिनदेखि ‘कामै छैन यो फिल्ड त!’ भनेर दिक्क बनाउनेहरूको कुरा सुन्नु नै हुन्न। काम गर्नेलाई जहाँ पनि अवसर हुन्छ, अल्छी जहाँ गए पनि काम गर्दैन।
(रेडियोमा टेक्निसियन हुँदै अहिले फोटोपत्रकारिता सक्रिय शाह देशसञ्चारमा आबद्ध छिन्। उकेराको चौथो अंग कोलमका लागि ‘मल्टिमिडियाको उपयोग शिर्षक’मा केन्द्रीत भएर प्रजु पन्तले गरेको कुराकानीमा आधारित।)
चौथो अंगका पुराना श्रृंखला
वैशाख २५, २०८१ मंगलबार १४:५२:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।