कैलास सिरोहियाले दायर गरेको रिट न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासमा

कैलास सिरोहियाले दायर गरेको रिट न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासमा

काठमाडौं : कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलासप्रसाद सिरोहियाले गृह मन्त्रालय र जिल्ला प्रहरी कार्यालयविरुद्ध दायर गरेको रिटको सुनुवाइ टेकप्रसाद ढुङ्गानाको इजलासमा हुने भएको छ।

सिरोहियाले दायर गरेको प्रतिषेधको रिट ढुङ्गानाको इजलासको छैटौं नम्बरमा परेको छ।आइतबार दायर गरेको रिट सर्वोच्च अदालतले सोमबार दर्ता गरेको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाले सिरोहियाको नागरिकताको सम्बन्धमा परेको जाहेरी दर्ता गरेर अनुसन्धान गरिरहेको छ। रिटमा गैरकानूनी धरपकड हुनसक्ने भन्दै सो रोक्न माग गरिएको छ।

प्रतिषेध भनेको न्यायिक वा अर्धन्यायिक निकायले अधिकार क्षेत्रभन्दा बढी अधिकार प्रयोग गरी वा कानून नाघेर कुनै काम कारबाही गर्न लागेमा त्यस्तो नगर्नु भनी माथिल्लो न्यायिक निकायले दिने आदेश हो।

यसले सार्वजनिक पद धारण गर्ने अधिकारी वा निकायले कारणवश गैरकानूनी निर्णय गर्न लागेमा त्यस्तो गर्नबाट रोक्न सक्छ। आदेश स्थायी प्रकारको हुन्छ।

धनुषामा प्रहरीले जाहेरी दर्ता गरे पनि पक्राउ आदेश लिने वा पक्राउ गर्ने प्रक्रिया शुरू गरेको छैन। तर, उनी पहिल्यै अदालत गएका छन्।

सिरोहियाको नागरिकतामाथि प्रश्न उठाउँदै धनुषामा दर्ता भएको जाहेरीका आधारमा अगाडि बढेको अनुसन्धानमा एकै नम्बरका दुई व्यक्तिको नाममा नागरिकता जारी भएको, नागरिकता लिन आवश्यक उमेरै नपुगी नागरिकता लिएको लगायतका कैफियतहरू फेला परेका थिए।

सम्बन्धित समाचार:-

२५ बैशाख, २०८१, ११:२३:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।