नेपाल-भारत सीमानाका ८ दिन बन्द हुने

नेपाल-भारत सीमानाका ८ दिन बन्द हुने

काठमाडौं : भारतमा हुन गइरहेको लोकसभा निर्वाचनका कारण नेपाल र भारतको सीमानाका ८ दिन बन्द हुने भएको छ।
 
भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनको मतदान अवधिमा नेपाल–भारत सीमानाका ८ दिन बन्द गरिने स्थानीय प्रशासनले जनाएको छ। विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ।

जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार निर्वाचनको ७२ घण्टा पहिले सीमानाका बन्द गर्नुपर्ने भएकाले पहिलो चरणको निर्वाचनका लागि शनिबार मध्यरातिदेखि २५ वैशाखसम्म सीमानाका बन्द रहने  छ।

दोस्रो चरणको निर्वाचनमा ४ जेठ मध्यरातिदेखि ७ जेठ मध्यरातसम्म सीमानाका बन्द हुने छ।
 
करिब दुई महिनाअघि विहारको मधुवनीमा सम्पन्न नेपाल र भारतका सुरक्षा अधिकारीहरूको बैठकको निर्णयानुसार भारतसँग सीमा जोडिएका सिरहाको ठाढी, बरियारपट्टी र माडरनाका बन्द गरिने सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवले बताए।

२३ बैशाख, २०८१, १२:१५:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।