कांग्रेसको संसदीय राजनीति दादागिरी शैलीको भयो : एमाले

कांग्रेसको संसदीय राजनीति दादागिरी शैलीको भयो : एमाले

काठमाडौं : एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सत्ताको वरिपरि मात्र घुमिरहने कांग्रेसका प्रवृत्तिका कारणले संसदमा गतिरोध आएको बताएका छन्। 

शनिबार काठमाडौंमा आयोजित युवा विचार गोष्ठी कार्यक्रममा उनले गुलियो चास्नीमा घुमिरहने झिँगा जस्तै सत्ताको वरिपरि कांग्रेस घुमिरहेको भन्दै त्यही कारणले आज संसद अगाडि बढ्न नसकेको बताए। 

उनले भने, ‘समग्रमा भन्नुपर्दा एउटै कारण गुलियो चास्नीमा फनफनी घुमिरहने झिँगा जस्तै सत्ताको वरिपरि मात्र घुमिरहने कांग्रेसका प्रवृत्तिका कारणले गर्दा संसदमा गतिरोध आयो र आज संसद अगाडि बढ्न सकेन। सारमा कुरा यही नै हो। कांग्रेसमा राजनीतिक पूर्वाग्रह छ, मुलुकको समस्यालाई सम्मान गर्ने दिशातर्फ छैन। नीति तथा कार्यक्रम देशको महत्वपूर्ण विषयलाई छलफल गर्न नदिनेगरी अगाडि बढेको छ।’

उनले देशलाई अस्थिरतातर्फ लाने प्रयत्नको फेरि पनि प्रायोजित षडयन्त्रमा नेपाली कांग्रेस लागेको प्रष्ट भएको बताए। कांग्रेस राजनीतिलाई इमानबाट निर्देशित होइन, संसदीय दादागिरीमा लान चाहन्छ भन्ने कुरा प्रष्ट भएको उनको भनाइ छ। 

उनले भने, ‘कांग्रेसका एक नेता जसले संसदमा अध्यक्ष(केपी ओली)माथि अशिष्ट व्यवहार प्रदर्शन गरे। त्यसैले कांग्रेस राजनीतिलाई इमानबाट निर्देशित होइन संसदीय मूल्य र मान्यताको जगबाट संसद चल्न होइन, दादागिरीमा लान चाहन्छ भन्ने कुरा पुष्टि हुन्छ।’ 

संसद्मा जसरी उदण्ड प्रस्तुतिहरू प्रतिपक्षले देखाएको छ यसले संसदीय प्रणालीमाथि प्रश्नचिन्ह खडा हुने अवस्था निर्माण भएको उनको भनाइ छ। 

उनले भने, ‘लोकतन्त्रको मसिहा ठान्ने, संसदीय राजनीतिको निकै लामो अनुभव छ भनेर दाबी राख्ने नेपाली कांग्रेसको लगातार संसद भित्रको अवरोधले गतिरोध आएको सबैलाई थाहा नै छ। नेपाली कांग्रेसको अरु कुनै उद्देश्य यसमा छैन। देशभरका सहकारीहरूमा आएको समस्याको समाधान गर्न एमाले पनि चाहन्छ। तर एक दुई वटामात्र सहकारीका छानबिन गर्ने उद्देश्य राखेर जसरी प्रमुख प्रतिपक्षका साथीहरुले उदण्ड प्रस्तुतिहरू उहाँहरूबाट भइरहेको छ, यसले संसदीय प्रणालीमाथि प्रश्न चिन्ह खडा हुने अवस्था निर्माण भएको छ।’ 

जेठ ५, २०८१ शनिबार १७:२३:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।