उत्तम संजेलको बदमासी ११ : ललितपुरको समता ‘अयोग्य’ ठहर, विद्यालय सञ्चालनको अनुमति नदिने पालिकाको निर्णय

उत्तम संजेलको बदमासी ११ : ललितपुरको समता ‘अयोग्य’ ठहर, विद्यालय सञ्चालनको अनुमति नदिने पालिकाको निर्णय

काठमाडौं : ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकाले उत्तम संजेल सञ्चालक रहेको निजी विद्यालय ‘समता शिक्षा निकेतन’लाई कारबाही गरेको छ।

लामो समयदेखि नगरपालिकामा अवैधानिक रूपमा सञ्चालन भइरहेको समतालाई पालिकाको शिक्षा शाखाले स्थानान्तरणका लागि अनुमति दिन नसकिने भन्दै कारबाहीको गरेको हो।

ललितपुर महानगरपालिकाको वडा नम्बर १७ मा सञ्चालन भइरहेको समता जग्गा भाडादेखि लिएर कुनै पनि किसिमको कर र एउटा क्षेत्र बाट अर्को क्षेत्रमा जाँदा गर्न पर्ने सामान्य प्रक्रिया समेत पूरा नगरी सञ्चालन भइरहेको थियो।

समताको नाममा संजेलले गरेको बदमासी खोजीको क्रममा उकेराले यस नगरपालिकाको वडा नम्बर ४ मा सञ्चालित समता अवैध भएको तथ्य फेला पारेर समाचार प्रकाशित गरेको थियो।

लगत्तै नगरपालिकाले नगर शिक्षा समितिको बैठक राखेर अनुगमन समेत गर्यो। जसमा ‘अनुमति बेगर सञ्चालन भइरहेको पाइएको’ भनेर समतालाई तीन दिनभित्र जवाफ सहितको स्पष्टिकरण समेत सोधिएको थियो।

तर, समताले दुई महिनासम्म पनि कुनै स्पष्टिकरण पेश नगरेपछि शिक्षा समितको बैठकले समतालाई सञ्चालनको अनुमति नदिने निर्णय गरेको हो।

यसअघि समताले ललितपुर महानगरपालिकाको कुनै प्रकिया पूरा नगरी महालक्ष्मी नगरपालिकामा स्थानान्तरणको माग गरेको थियो।

गत चैत २० मा बसेको नगर शिक्षा समितिले ‘त्यस विद्यालयको अवस्थिति, विद्यालयको आवश्यक भौतिक पूर्वाधार तथा शैक्षिक मापदण्ड पूरा गरेको नदेखिएको साथै यस नगरपालिकाको नीति नियम बमोजिम नपाइएकोले समितिको निर्णय अनुसार विद्यालयलाई सो स्थानमा स्थानान्तरण गर्न अनुमति दिन नसकिने’ भन्दै पत्र काटेको छ।

१७ लाख रूपैयाँ कहिले तिर्ने ?
शिक्षा शाखा निर्देशक चिरञ्जिवी पौडेलले अहिलेको लागि समतालाई स्थानान्तरणको अनुमति अयोग्य ठहर्याउँदै अनुमति नदिनु नै कारबाही भएको बताए।

उनले भने, ‘नगरसमितिको बैठकले अनुमति नदिने भनेर कारण सहित निर्णय गरेकै छ। अब स्कुलको संरचना के हुन्छ भनेर त नगरपालिकाले फेरि केहि नयाँ निर्णय गर्ला।’

यहाँ वडा अध्यक्ष अमृत खत्रीले भने संरचना भत्काउने पनि कुरा भइरहेको र निर्देशन आएसँगै त्यो पनि छिट्टै हुने उकेरालाई बताए। समताले अहिले महालक्ष्मीस्थानको वचुहाइटमा स्थानीय विराजविक्रम सिलवालसँग २० वर्षका लागि चार रोपनी जग्गा भाडामा लिएर टहरा बनाएको छ। यद्यपि त्यो पनि अवैधानिक भएको भन्दै नगरपालिकाले भत्काउने तयारी गरिरहेको छ।

यता शिक्षा समितिको प्रमुख समेत रहेका हरि गोविन्द श्रेष्ठले पनि अब विद्यालय सञ्चालनको लागि अनुमति नदिएपछि त्यस भवनको बारेमा के गर्ने भनेर छलफल भइरहेको बताए।

ललितपुर महानगरपालिका वडामा मात्र व्यवसाय कर, वातावरण कर, बहाल कर, नवीकरणदेखि लिएर जरिवाना समेत गरेर समताले करिब १० लाख बराबर कर वडामा तिर्न बाँकी छ भने सात लाख रुपैयाँको त जग्गा भाडा नै तिर्नुपर्ने छ। यसरि हेर्दा ललितपुर महानगरमा समताले १७ लाख रुपैयाँ तिर्न बाँकी देखिन्छ।

नाम उल्लेख नगर्ने शर्तमा यहाँका जग्गाधनीले उकेरासँग कुरा गर्न राजी भए। जग्गा भाडामा दिएर पछुताइरहेका उनी अझै पनि बारम्बार संजेल सहित यहाँको प्रिन्सिपल र मह जोडी (मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य) लाई सम्पर्क गर्ने प्रयत्न गरिरहन्छन्। तर, न संजेल उनको सम्पर्कमा आएका छन्, न मह जोडी नै।

‘कतिले महका स्कुल पनि भन्छन्, तर त्यो जस हामी लिन चाहँदैनौ’
समताको हरेक कार्यक्रममा देखिने मह जोडी यस विद्यालयको उद्घाटन गर्न समेत पुगेका थिए। जग्गा धनीले संजेललाई भरोसा नगर्दा मह जोडीनै जग्गा भाडामा माग्न जाने गरेको उकेराले यसअघि नै पनि खुलाइसक्यो। समताको बदमासी बारे उकेराले समाचार प्रकाशित गरिरहँदा उनीहरूसँग सम्पर्क गर्न खोजे पनि जवाफ नदिने भनेर पन्छिरहेका छन्।

तर, भर्खरै प्रदर्शनीमा आएको ‘महाजात्रा’ चलचित्रको प्रमोशनमा भने हरिवंश आचार्यले यस विषयमा केहि कुरा खुलाए। वैशाख दुई गते रजतपट अनलाइन टिभीले सार्वजनिक गरेको ‘रविको पक्षमा उभिए हरिवंश, महको विधानमा धर्मसंकट नै छैन’ शिर्षकको अन्तर्वार्तामा आचार्यले ‘समता महको स्कुल हो भन्ने गर्छन्, तर हामी यो जस लिन चाहँदैनौं’ भनेका छन्।

अन्तर्वार्ताको धर्मसंकट सेग्मेटमा कार्यक्रम प्रस्तोताले कलाकार राजाराम पौडेलको तस्बिर देखाएपछि उत्तम संजेलको तस्बिर देखाउँछन्। अगाडि हाँसेर कुरा गरिराखेका आचार्य संजेलको तस्बिर देखेपछि एकाएक गम्भीर हुँदै जवाफ दिन्छन्। उनले धेरै कुरा नखोले पनि अब आफूहरू समतासँग नजिक नभएको कुरा भने प्रष्ट पारे।

‘उहाँ (संजेल)ले राम्रो काम गर्नुभएको छ। हजारौं मान्छेलाई शिक्षा दिनुभएको छ। त्यो देखेर हामीले, मदन दाइ र मैले धेरै वर्ष सहयोग गर्यौं। एकदमै धेरै ठाउँमा उहाँले समताको विस्तार पनि गर्नुभयो। कतिले महका स्कुल पनि भन्छन्  तर त्यो जस हामी लिन चाहँदैनौं,' आचार्यले भनेका छन्, ‘त्यो पहिलादेखि नै उहाँले नै सञ्चालन गर्नुभएको, उहाँकै स्कुल हो। हामीले सपोर्ट मात्र गरेका हौँ। तर अब तपाईंले गर्नपर्छ, हामीलाई चाहिँदैन भनेपछि उहाँले एक्लै गरिरहनुभएको छ।’

समता सँग दुरी नभए पनि अब पहिलाको जस्तो नजिक नभएको उनको भनाइ रहेको छ।

कार्यक्रम प्रस्तोताले ‘अमेरिका यात्रापछि यो घटना भएको हो?’ भनेर गरेको प्रश्नको जवाफमा आचार्य भन्छन्, ‘त्यस्तो विधि पनि होइन। तर, त्यहाँ झन्डै तीन करोड जति आर्थिक संकलन भएको छ। त्यो एउटा अक्षय कोष बनाएर समता स्कुल बनाउने भन्ने समझदारी भएको थियो। अमेरिकामा आयोजना गर्ने आयोजक पक्षको पनि अलिकति मिस्टेक छ। उहाँ (संजेल)को पनि मिस्टेक छ। मिडियामा पनि कुरा आएको हो। त्यहि भएर थाहा पाउनु भयो होला। उहाँको काम निरन्तर होस्। राम्रो होस्। तर हामी सधैँ सँगसँगै चाहिँ हिँड्न सक्दैनौं। त्यो कुरा अहिले अगाडि आएको हो।’

‘समता ग्लोबल सिनेट’को आव्हानमा सन् २०२२ नोभेम्बर ५ देखि २२ सम्म अमेरिकाको विभिन्न राज्यमा समताको लागि ‘फण्ड अर्गनाइज’ गर्ने भनेर कार्यक्रम सञ्चालन भएको थियो। जसमा तीन लाख बराबरको अमेरिकी डलर संकलन भएको थियो। पछि पैसामा लफडा भएपछि समता र समता ग्लोबल सिनेट पूर्ण रूपमा एक-अर्कालाई गालीबेइज्जती गर्दै छुट्टिसकेको छ। त्यहि बेलादेखि मह जोडी र समताको सम्बन्धमा पनि चिसो आएको हो।

महालक्ष्मी नगरपालिकामा नयाँ भवन बनाउनको लागि समेत समता ग्लोबल सिनेटले समतालाई सात लाख पचास हजार रकम उपलब्ध गराएको थियो। उक्त रकम लिन संजेलसँगै मदन कृष्ण श्रेष्ठ पनि पुगेका थिए।

समताको नाममा उत्तम सञ्जेलले गरेको बदमासीबारे उकेराले लगातार समाचार प्रकाशित गर्दै आएको छ। व्यक्तिगत जग्गा दान लिएर अलपत्र पार्ने, विद्यालय खोलेर अलपत्र पारेर सम्पर्कहीन हुने, घर भाडा नतिर्ने, शिक्षक र कर्मचारीलाई पारिश्रमिक नदिने, स्थानीय सरकारलाई अटेर गर्ने लगायतका बदमासी खुलेका छन्।

समताबारे सञ्जेलसँग कुरा गर्न उकेराले पटक-पटक प्रयास गरे पनि उनी सम्पर्कमा आएका छैनन्। यसका पीडितहरू  भने स्थानीय सरकारदेखि अदालतसम्म पुगिरहेका छन्।

समताको आवरणमा सञ्जेलको बदमासी

१७ बैशाख, २०८१, ०९:००:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।