बझाङ प्रदेशसभा-१ मा कांग्रेसलाई अग्रता

बझाङ प्रदेशसभा-१ मा कांग्रेसलाई अग्रता

बझाङ : बझाङ प्रदेशसभा-१ मा भएको उप-निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले अग्रता बनाएका छन्।

सुरुवाती परिणाममा एमालेका दमनबहादुर भण्डारीले फराकिलो अन्तर बनाए पनि सोमबार बिहानसम्मको परिणाममा कांग्रेसका सिंह अगाडि लागेका हुन्।

कांग्रेस उम्मेदवार सिंहले ८ हजार २२७ मत पाउँदा एमालेका भण्डारीले ७ हजार ९७४ मत पाएका छन्। उनीहरूबीच २५३ मतान्तर छ।

त्यस्तै, माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ३३, एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १७२, राप्रपाका किशोरकुमार खड्काले २०२, जनता समाजवादी पार्टीका रामबहादुर जाग्रीले ३९, जनमत पार्टीकी शुशिलादेवी विष्टले २१, नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाहीले १५ मत पाएका छन्।

छ वटा पालिका रहेको यो क्षेत्रको उपनिर्वाचनमा ३० हजार ३२८ मत खसेको छ। अहिलेसम्म २० हजारभन्दा बढी मत गणना भइसकेको छ। यसपटक यहाँ ११ दलका उम्मेदवार थिए।

२०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि यहाँ उप-निर्वाचन भएको हो।

कांग्रेस उम्मेदवार सिंह उनकै छोरा हुन्। गत निर्वाचनमा यहाँ कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार रहेका सिंह १७ हजार १ सय १२ मत प्राप्त गरी विजयी भएका थिए भने प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ७६ मत पाएका थिए।

१७ बैशाख, २०८१, ०७:५२:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।