प्रचण्ड सरकारका २ नीति तथा कार्यक्रम : कांग्रेससँग हुँदा 'जनयुद्ध', एमालेसँग मिलेपछि 'सशस्त्र द्वन्द्व'

प्रचण्ड सरकारका २ नीति तथा कार्यक्रम : कांग्रेससँग हुँदा 'जनयुद्ध', एमालेसँग मिलेपछि 'सशस्त्र द्वन्द्व'

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्यो। आज राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका तर्फबाट प्रस्तुत गरिएको नीति तथा कार्यक्रम संघीय संसदका दुवै सदनमा वाचन गरेका हुन्। 

त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति पौडेललाई नीति तथा कार्यक्रम हस्तान्तरण गरेका थिए। 

त्यसपछि राष्ट्रपति पौडेलले वाचन गरेको नीति तथा कार्यक्रममा 'जनयुद्ध' शब्द हटाइएको पाइएको छ। 

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले भने, 'यस अवसरमा सर्वप्रथम नेपाल राष्ट्रको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना एवं मुलुकको सर्वाङ्गीण विकास र समृद्धि, अग्रगमनको लागि विभिन्न समयमा भएका राजनीतिक क्रान्ति, सशस्त्र संघर्ष एवं आन्दोलनमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने ज्ञात अज्ञात सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।'

तेस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्ड माओवादी केन्द्रका अध्यक्ष समेत हुन्। ०५२ देखि ०६२/६३ सम्म माओवादीले गरेको सशस्त्र द्वन्द्वलाई उसले 'जनयुद्ध' भन्ने गरेको छ। आजसम्म पनि माओवादीजनले फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउँदै आएका छन्। 

प्रधानमन्त्री प्रचण्डको यो दोस्रो नीति तथा कार्यक्रम हो। अघिल्लोपटकको नीति तथा कार्यक्रममा माओवादीले भन्ने गरेको 'जनयुद्ध' शब्द प्रयोग गरिएको थियो। जुन नीति तथा कार्यक्रम राष्ट्रपति पौडेलले नै यसअघि पनि प्रस्तुत गरेका थिए।  

तर, त्यसबेला प्रधानमन्त्री प्रचण्ड कांग्रेससँगको सत्ता सहकार्यमा थिए। प्रचण्डको साथमा अघिल्लो वर्ष नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सत्तारूढ गठबन्धनमा कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, एकीकृत समाजवादी लगायतका दलहरू थिए।

गत वर्ष चालु आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गदै राष्ट्रपति पौडेलले भनेका थिए, 'यस अवसरमा म नेपालमा नागरिक सर्वोच्चता र लोकतन्त्रको स्थापना तथा मुलुकको समृद्धि र अग्रगमनका लागि इतिहासको विभिन्न कालखण्डमा भएका राजनीतिक क्रान्ति, जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलन लगायतका बलिदानीपूर्ण संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने ज्ञात–अज्ञात सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।'

तर, यसपटक भने प्रधानमन्त्री प्रचण्डले 'जनयुद्ध' शब्द चाहेर पनि राख्न नसक्नुको पछाडि अहिले उनको साथमा रहेका गठबन्धन दलहरू नै हुन्। उनीसँग प्रमुख सत्ता घटकको रुपमा रहेको एमाले र यसको नेतृत्व अध्यक्ष केपी शर्मा ओलीले पटकपटक 'जनयुद्ध' शब्दप्रति विरोध गर्दै आएका छन्। 

प्रचण्डले कांग्रेससँगको गठबन्धन छोडेर एमालेसँग मिलेपछि नै 'जनयुद्ध शब्द' हटेको हो।  

जेठ १, २०८१ मंगलबार २१:४७:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।