एमएलएस लिगमा मेस्सीको दुई गोलले मियामीको जित

एमएलएस लिगमा मेस्सीको दुई गोलले मियामीको जित

एजेन्सी : इन्टर मियामीले मेजर लिग सकर (एमएलएस)मा नास्भिलविरुद्ध ३–१ को जित निकालेको छ।

आइतबार बिहान घरेलु मैदान चेज रंगशालामा मियामीलाई जित दिलाउन कप्तान लियोनल मेस्सीले २ र अर्को १ गोल सर्जियो बुस्केटले गरे। नास्भिलले मियामीका फ्रान्को नेग्रीबाट आत्मघाती गोल उपहार पाएको थियो।

खेलको दोस्रो मिनेटमा नै नेग्रीको आत्मघाती गोलमा नास्भिलले अग्रता बनाएको थियो। तर, ११ औँ मिनेटमा मेस्सीले गोल गर्दै घरेलु टिमलाई बराबरीमा ल्याए। 

३९ औँ मिनेटमा बुस्केटले गोल गरेपछि मियामीले पहिलो हाफमा २–१ को अग्रता बनाएको थियो।

खेलको निर्धारित समय सकिन नौ मिनेटअघि प्राप्त पेनाल्टीलाई मेस्सीले नै सदुपयोग गरेपछि मियामीले ३–१ को जित पक्का गरेको हो ।

जितसँगै १० खेलबाट १८ अंक जोडेको मियामी इस्टर्न कन्फेरेन्सको शीर्ष स्थानमा छ। आठ खेलबाट सात अंकको नास्भिल तालिकाको १४ औँ स्थानमा छ। 

९ बैशाख, २०८१, १०:०१:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।