सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिन तयार कांग्रेस र रेशम चौधरी पक्ष

सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिन तयार कांग्रेस र रेशम चौधरी पक्ष

काठमाडौं : नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन तयार देखिएको छ। 

बुधबार साँझ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच कांग्रेस नेता डा.नारायण खड्का निवासमा भएको भेटवार्तापछि मुख्यमन्त्रीमा कांग्रेसले एकीकृत समाजवादीलाई सघाउन तयार रहेको कांग्रेस निकट स्रोतले जनाएको छ।

देउवा र नेपालबीच पौने एक घण्टा प्रदेश सरकार निर्माणका विषयमा छलफल भएको थियो। जसमा नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी पक्षले पनि साथ दिने बुझिएको छ। 

सुदूरपश्चिम लगायत अन्य प्रदेश सरकारका विषयमा देउवाले बिहीबार बिहान आफ्नो निवास बुढानीलकण्ठमा शीर्ष नेता एवं कानुनविदहरुसँग छलफल गरेका थिए। 

सत्ता गठबन्धनमा खटपट भइरहेका बेला प्रमुख प्रतिपक्षी दलका सभापति देउवा र सत्ता साझेदार दल एकीकृत समाजवादीका अध्यक्ष नेपालबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। देउवा र नेपालबीच सुदूरपश्चिम प्रदेश सरकार निर्माण साथै वैकल्पिक गठबन्धन बनाउने विषयमा छलफल भइरहेको हो। 

सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले सरकार गठनका लागि दोस्रोपटक आह्वान गरेको समय आज बिहीबार साँझ ५ बजे सकिँदैछ। 

६ बैशाख, २०८१, १५:२३:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।