कर्णालीमा ४ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ, मागेको मन्त्रालय नपाउँदा १ मन्त्री अनुपस्थित

कर्णालीमा ४ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ, मागेको मन्त्रालय नपाउँदा १ मन्त्री अनुपस्थित

सुर्खेत : कर्णाली प्रदेशका नवनियुक्त चार जना मन्त्री र एक जना राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनीहरुलाई प्रदेश प्रमुख तिलक परियारले मंगलबार शपथ खुवाएका हुन्।

शपथ लिनेमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा शेरबहादुर बुढा, आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, सामाजिक विकास मन्त्री वीरबहादुर शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्ग रावत रहेका छन्। 

यस्तै, राज्यमन्त्री गोमता विकले पनि शपथ लिएकी छन्। कृषि मन्त्रीमा नियुक्त भएका विनोद कुमार शाह भने शपथ ग्रहणमा उपस्थित भएनन्। उनले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री नदिएको भन्दै सपथ ग्रहण वहिस्कार गरेकाे खुलेकाे छ।

आन्तरिक मामिला तथा कानून मन्त्री भने मुख्यमन्त्री कँडेल आफैले राखेका छन्। आठ मन्त्रालय रहेको कर्णालीमा सत्ता साझेदार दल माओवादीले चार र एमालेले मुख्यमन्त्रीसहित चार मन्त्रालय लिने गरी सहमति भएको थियाे।

गत मंगलबार रनसिंह परिवारले सपथ लिएका थिए। उनलाई जलस्रोत मन्त्रालयको जिम्मेवारी दिइएको छ। 

१८ बैशाख, २०८१, १७:४३:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।