आईपीएलमा कोलकातामाथि राजस्थानको रोमाञ्चक जित, नवौं विकेटका लागि ३६ रनको साझेदारी तर अवेशले एक बल पनि खेलेनन्

आईपीएलमा कोलकातामाथि राजस्थानको रोमाञ्चक जित, नवौं विकेटका लागि ३६ रनको साझेदारी तर अवेशले एक बल पनि खेलेनन्

काठमाडौं : इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्समाथि दुई विकेटको रोमाञ्चक जित दर्ता गरेको छ।

अन्तिम ओभरको अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानको जोस बटलरले नटआउट शतकीय पारि खेल्दै २२४ रनको विशाल लक्ष्य पूरा गराउन महत्वपूर्ण भूमिका खेले।

सुरूमा राजस्थानका कप्तान सञ्जु सैमसनले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरे पनि सुनिल नारायणको कीर्तिमानी शतकका अगाडि उनको यो निर्णय गलत सावित भएको थियो।

कोलकाताका ओपनर सुनिल नारायणले ५६ बलमा १०९ रन बनाएर निर्धारित ओभरमा ६ विकेट गुमाएर २२३ रनको विशाल योगफल स्कोरवोर्डमा खडा गरेको थियो।

२२४ रनको लक्ष्यको जवाफमा राजस्थानले अन्तिम बलमा खेल जित्यो। जोस बटलरले १०७ अविजित रनको तुफानी पारी खेल्दै आफ्नो टोलीलाई ऐतिहासिक जित दिलाए।

कोलकाताका ओपनर सुनिल नारायण र फिल साल्टले इनिङ्स सुरुवात गरेका थिए । अवेश खानको उत्कृष्ट क्याचका कारण साल्ट १० रनमा मात्रै पभेलियन फर्किए।

दोस्रो विकेटका लागि सुनिल नारायणलाई अंगकृष रघुवंशीले साथ दिए। उनीहरूले मिलेर ८४ रनको साझेदारी गरे जसमा अंगकृषले १८ बलमा ३० रन बनाए।

मिडल अर्डरमा श्रेयस अय्यरले ११ रनको छोटो पारी खेले भने आन्द्रे रसेलले १३ रनको छोटो पारी खेले तर अर्को छेउमा उभिएका सुनिल नारायणले ४९ बलमा शतक पूरा गरे।

सुनिल नारायणले ५६ बलको सामना गर्दै १३ चौका र ६ छक्का सहित १०९ रन बनाए। सुनिल नारायण आईपीएल इतिहासमा कोलकाताका लागि शतक बनाउने तेस्रो ब्याट्सम्यान बनेका छन्।

यसअघि ब्रेन्डन म्याकुलम र भेंकटेश अय्यरले शतक बनाएका थिए। कोलकाताका लागि रिंकु सिंहले अन्तिम ओभरमा केही आक्रामक पारि खेल्दै टोलीलाई २२३ रनको ठूलो स्कोरमा पुर्याए। रिंकु सिंहले ९ बलमा २० रन बनाए। राजस्थानका लागि आवेश खान र कुलदीप सेनले सर्वाधिक २-२ विकेट लिए।

२२४ रनको लक्ष्य पछ्याउन आएका ओपनर यशस्वी जैसवालले ९ बलमा १९ रन बनाए। सञ्जु सामसन १२ रन बनाएर आउट भएपछि रियान पराग र जोस बटलरले तेस्रो विकेटका लागि ५० रनको साझेदारी गरे।

रियान परागले १४ बलमा ४ चौका र २ छक्का सहित ३४ रन बनाए। मिडल अर्डरमा ध्रुव जुरेल २ रन, रविचन्द्रन आश्विन ८ रन र शिमरान हेटमायर शून्य रन बनाएर पभेलियन फर्किएका थिए। अन्त्यमा रोभम्यान पावेलले जोस बटलरलाई साथ दिँदै १३ बलमा २६ रन बनाए।

जोस बटलरले अन्तिम ओभरमा एक्लै ब्याटिङ गर्दै ९ चौका र ६ छक्का प्रहार गर्दै १०७ रनको पारी खेले। बटलर र आवेश खानले नवौं विकेटका लागि ३८ रनको साझेदारी गरे, जसमा आवेश खानले एक बल पनि खेलेनन् र सबै रन जोस बटलरको ब्याटबाट बनेका थियो।

जोस बटलरले यो सिजनको दोस्रो शतक प्रहार गरे। यो आईपीएल इतिहासमा कुनै पनि टोलीले संयुक्त रूपमा सबैभन्दा ठूलो रन पछ्याएको थियो। यसअघि पनि राजस्थान रोयल्सले सन् २०२० मा पञ्जाब किंग्सविरुद्ध २२४ रनको लक्ष्य पछ्याएको थियो।

५ बैशाख, २०८१, ०८:०२:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।