सुर्खेत गोलीकाण्ड : पक्राउ परेका चारै जना पुर्पक्षका लागि कारागार चलान, मुख्य योजनाकार अझै फरार

सुर्खेत गोलीकाण्ड : पक्राउ परेका चारै जना पुर्पक्षका लागि कारागार चलान, मुख्य योजनाकार अझै फरार

सुर्खेत : नेपाली कांग्रेस निकट तरूण दल सुर्खेतका सदस्य एवं निर्माण व्यवसायी वीरेन्द्रनगर–१ का ३९ वर्षीय विनोद गिरीमाथि गोली प्रहार गर्ने सुटरसहित चार जना कारागार चलान भएका छन्।

सोमबार जिल्ला अदालत सुर्खेतका न्यायधीश मनोजकुमार श्रेष्ठको इजलासको थुनछेक बहसपछि पुर्पक्षको लागि थुनामा आदेश दिएको हो।

पूर्पक्षका लागि कारागार चलान हुनेमा भारतको उत्तर प्रदेशको बिजनौर दादानगरगञ्जका १९ वर्षीय रोहित राजपूत, कैलालीको गौरीगंगा नगरपालिका-२ का १८ वर्षीय इन्द्र विक सोही ठाउँका १८ वर्षीय भरत भुल र सुर्खेतको वीरेन्द्रनगर-४ का ३७ वर्षीय राजन गिरी छन्।

रोहित भारतीय सुटर हुन्, विक मोटरसाइकल चालक, भूल योजनाका सहयोगी र गिरी उनीहरुलाई सुर्खेतमा बसाएर व्यवस्थापन गर्ने व्यक्ति हुन्।

०८० फागुन १२ गते साँझ वीरेन्द्रनगर-३ गैरीगाउँमा भे ५ प ६०६१ नम्बर मोटर साइकलमा आएको भारतीयसहितको टिमले गिरी सवार बाग्मती प्रदेश ०१-०२९ च ७२६४ नम्बरको कारमा गोली प्रहार गरिएको थियो।

सोही घटनामा संलग्न भएको आरोपमा १२ गते राति नै प्रहरीले तीन जना र १३ गते अर्का एक जनालाई पक्राउ गरेको थियो।

तर, मुख्य आरोपितलाई प्रहरीले अझै पक्राउ गर्न नसकेको भन्दै पीडित परिवार र आफन्तले अदालतमा प्लेकार्डसहित प्रदर्शन गरेका हुन्।

‘निर्दाेष नफसोस् दोषी नउम्कियोस्’, ‘गोली हानी ज्यानै लिने संगठित अपराधीहरूको जालोसम्म कहिले पुग्छ प्रहरी?’ र ‘पीडितले सुरक्षित महसुस हुन अझै कति कुर्नुपर्ने?’ जस्ता प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन्।

हत्याको मुख्य योजनाकार अझै फरार रहेको भन्दै तत्काल फक्राउ गर्नुपर्ने पीडित विनोद गिरीले बताए। उनले मुख्य योजनाकार फरार हुँदा फेरि घटना हुन सक्ने भन्दै प्रहरी प्रशासनले यस विषयमा ध्यान दिनुपर्ने बताए।

घटना घटेको दुई महिना पुग्न लाग्दासमेत प्रहरीले मुख्य योजनाकार भनिएका व्यक्तिलाई फक्राउ गर्न नसक्नु पीडितका लागि दुःखद भएको उनको भनाइ छ। प्रहरीले संगठित अपराध, ज्यान मार्ने उद्योग र हातहतियार खरखजानाको मुद्दा अदालतमा दर्ता गरेको थियो।

मुख्य योजनाकार फरार रहेका कारण विभिन्न संयन्त्र मार्फत खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी रुपेश खड्काले जानकारी दिए।

गिरी सवार कारलाई लक्षित गरेर गोली प्रहार गरेको थियो। गोली सिसामा लागेपछि पीडितलाई चोटपटक नलागेपनि गाडीमा भने क्षति भएको थियो।

४ बैशाख, २०८१, ११:५५:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।